मुलुकमा वामपन्थी शक्तिबीच ध्रुविकरणका लागि प्रयास भइरहेको छ : अध्यक्ष नेपाल

असार २८, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुविकरणका लागि प्रयास भइरहेको बताएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्ने क्रममा उनले अहिले देशको आर्थिक, राजनीतिक तथा सामाजिक संकटको समाधानका लागि ध्रुवीकरण आवश्यकता रहेको बताए ।

कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा र विश्वास रहेको बताउँदै अध्यक्ष नेपालले सिद्धान्तमा निष्ठावान तथा जनताप्रति समर्पित वाम समूहको एकता अपरिहार्य रहेको धारणा व्यक्त गरे । उनले मुलुकको राजनीतिलाई सही दिशानिर्देश गर्न कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले परिवर्तनलाई संस्थागत गर्न सुशासन, रोजगारी, जनतालाई सेवा प्रवाहको विषय प्राथमिकतमा राख्नुपर्ने उल्लेख गरे । पतञ्जली जग्गा सट्टापट्टा प्रकरण मन्त्रिपरिषद्को नीतिगत निर्णय भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्ष अगाडि तामेलीमा राखेको बताउँदै उनले राजनीतिक षड्यन्त्रका कारण आफूलाई उक्त विषयमा मुद्दा दायर गरिएकामा असन्तुष्टि व्यक्त गरे ।

पार्टीलाई कमजोर तथा राजनीतिक रूपमा असहज बनाउन आयोगले मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरे ।

आफूले जीवनमा एक पैसा पनि घुस नलिएको बताउँदै अध्यक्ष नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताए । आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने उनको भनाइ थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.