गैरकानुनी व्यवसायलाई सरकारले छुट दिँदैन : अर्थमन्त्री

भदौ १४, लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरकानुनी व्यवसायलाई सरकारले छुट नदिने बताएका छन् ।

सरकारले व्यवसायीलाई दुःख नदिने र अमर्यादित व्यवहार नगर्ने पनि उनले स्पष्ट पारे । युवा उद्यमी मञ्च रुपन्देहीले आज रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले उद्योगीका समस्या सुन्न र छलफल गरेर समाधान खोज्न सरकार तयार रहेको स्पष्ट पारे । उनले निजी क्षेत्रलाई निर्णय प्रक्रियामा पनि सहभागी गराउने बताउँदै भने, ‘निजी क्षेत्र माग्ने र सरकार दिने होइन, अब निजी क्षेत्रलाई निर्णय प्रक्रियामा सहभागी गराउँछौँ ।’

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रका विभिन्न सूचकाङ्क सकारात्मक नभएकाले सरकार दबाबमा रहेको बताउँदै त्यसमा सुधार ल्याउनका लागि सरकारले केही योजना अगाडि सारेको बताए । सार्वजनिक ऋण बढेको बताउँदै ३० प्रतिशत राजस्व वृद्धि गर्न सके अर्थतन्त्र सन्तुलनमा आउने बताए । उनले भने, ‘रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ठीक छन् तर आन्तरिक समग्र उत्पादन र माग घटेको छ ।’ उनले उद्योगहरुको उत्पादन औसत ४० प्रतिशत मात्रै रहेको भन्दै अर्थतन्त्रको समग्र परिसूचकले अझै दबाबमै रहेको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.