साल्पासिलिछोद्वारा निःशुल्क प्राविधिक शिक्षा

असार २८, भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम अघि सारेको छ ।

गाउँपालिकाले कृषि तथा प्राविधिक शिक्षामा जोड दिन प्रत्येक वर्ष छ जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको हो । यो कार्यक्रमअन्तर्गत एक वर्षमा छ जना विद्यार्थीलाई निःशुल्क कृषि तथा अन्य प्राविधिक शिक्षा प्रदान गरिने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । विद्यार्थीहरुलाई सानो उमेरमा कृषि तथा प्रविधिसम्बन्धी प्रयोगात्मक ज्ञान प्रदान गर्ने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष राईले बताउनुभयो । कृषि तथा प्रविधि क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यले ‘अध्यक्ष प्राविधिक शिक्षा सहायता कार्यक्रम’ सञ्चालनको लागि बजेट विनियोजना गरेको उहाँको भनाइ छ । “हामीले विद्यार्थीलाई प्राविधिकसँगै व्यवहारिक ज्ञान दिन आवश्यक छ”, अध्यक्ष कुलुङले भन्नुभयो, “उनीहरुलाई प्राविधिक शिक्षा दिने लक्ष्यले विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने व्यवस्था मिलाएका छौँ । गाउँपालिकाले यहाँ नै प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।”

खास गरेर यो कार्यक्रमअन्तर्गत कृषि र भेटेनेनरी क्षेत्रलाई जोड दिने अध्यक्ष कुलुङको भनाइ छ । उत्पादनको राम्रो सम्भावना भएका क्षेत्रलाई समेटेर कृषकलाई प्रोत्साहनको कार्यक्रमसमेत सञ्चालन भइरहेको अध्यक्ष कुलुङले बताउनुभयो । दक्ष कृषि प्राविधिकको अभावमा किसानलाई कुनै समस्या नहोस् भन्नको लागि गाउँपालिकाले जनशक्ति व्यवस्थापनमा जोड दिएको उहाँको भनाछ । कृषकलाई सहज रुपमा कृषिसम्बन्धी सहायता प्रदान गर्न छवटै वडामा कृषि प्राविधिक राख्ने व्यवस्था मिलाएको अध्यक्ष कुलुङको भनाइ छ । गाउँपालिकाले किसानले उत्पादन गरेका वस्तुलाई खरिद गरेर बजारीकरण, भण्डारण तथा बिक्री वितरण गर्ने लक्ष्यले कृषि कोसेली घर निर्माण गर्न लागेको अध्यक्ष कुलुङले बताउनुभयो । किसानले उत्पादन गरेका कृषिउपजलाई गाउँपालिकाले खरिद गरेर बजारीकरणको जिम्मासमेत लिने अध्यक्ष कुलुङको भनाइ छ ।

गाउँपालिकासँगको सहकार्यमा प्रदेश सरकारको रु ३५ लाख लागतमा यहाँ कोसेली घर निर्माण हुने उहाँको भनाइ छ । “कृषकको कृषि उत्पादनको खरिदसँगै बजारीकरणको जिम्मा गाउँपालिकाले लिने लक्ष्यका साथ काम गरिरहेका छौँ”, अध्यक्ष कुलुङले भन्नुभयो, “कृषकले फलाएका उत्पादनलाई कोसेली घरमा भण्डारण गरेर प्याकेजिङ, लेवलिङ ब्रान्डिङलगायतका काम गरेर बजार पठाउँछौँ । यसले किसानको बजारीकरणको समस्या हल गर्नमा केही टेवा पुग्न भन्ने हाम्रो लक्ष्य हो ।”

कृषिमा थप सहजता थप्दै विद्यार्थीमा कृषिको ज्ञान प्रदान गर्ने लक्ष्यले यहाँका बाह्र वटा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्ले बताउनुभयो । यो कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आधुनिक कृषि प्रणालीको विषयमा ज्ञान प्रदान गरिँदै आएको उहाँको भनाइ छ । “विद्यार्थीमा कृषिको ज्ञान प्रदान गर्नको लागि बाह्र वटा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, प्रशासकीय अधिकृत काफ्ले भन्नुभयो, “यसले विद्यार्थीमा परम्परागत र आधुनिक कृषि प्रविधिको विषयमा जानकारी लिन सहज हुनेछ । मुख्य रुपमा हामीले कृषिको उत्पादन र बजारीकरणमा जोड दिएका छौँ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.