माघ १९, काठमाडौं । साइबर आक्रमण रोक्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र खोल्ने निर्णय गरेको छ । १० माघको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रको संगठन संरचना पास गरेको छ । साइबर सुरक्षासँग सम्बन्धित निकायको नियमनकारी निकायको रूपमा काम गरी साइबर सुरक्षा केन्द्र स्थापना हुन लागेको हो
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० बमोजिम साइबर स्पेसको सुरक्षा र साइबर सुरक्षाका घटनाहरुको अनुगमन, पूर्वतयारी, रोकथाम, पहिचान र प्रतिकार्य सम्बन्धी काम प्रभावकारी रूपमा सम्पादन गर्न केन्द्र स्थापना गर्न लागिएको बताए ।
उनका अनुसार साइबर सुरक्षा केन्द्रलाई सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका विविध सेवाका प्राविधिक सहसचिवले हेर्नेछन् । तर, केन्द्रको कार्यालयको नेतृत्व विविध सेवाकै उपसचिवले गर्नेछन् ।
स्वीकृत दरबन्दी अनुसार केन्द्रमा सेक्युरिटी अपरेसन हेर्ने २ जना कम्प्युटर अधिकृत हुनेछन् । ४ जना कम्प्युटर इन्जिनियर, ४ जना नेटवर्क एड्मिनिस्ट्रेसन हेर्ने कम्प्युटर अधिकृत, २ जना सेक्युरिटी हेर्ने कम्प्युटर अधिकृत पनि केन्द्रमा रहनेछन् । १ जना लेखा अधिकृत, १ जना कार्यालय सहयोगी र १ जना हलुका सवारी चालकको दरबन्दी पनि केन्द्रका लागि सिर्जना गरिएको छ ।
सरकारले पटक–पटक सरकारी तथा गैरसरकारी संघसंस्थाको प्रणालीमाथि साइबर आक्रमण बढेपछि राष्ट्रिय साइबर सुरक्षा नीति बनाएर साइबर सुरक्षा केन्द्र खोल्ने अवधारणा अघि सारेको थियो । सरकारको डाटा सेन्टरका रुपमा रहेको राष्ट्रिय सूचनाप्रविधि केन्द्रमा नै पटक–पटक भइरहेका आक्रमणका कारण सरकारी सर्भर डाउन भएर सेवाग्राही पटक–पटक पीडित बन्ने गरेका छन् ।
साइबर सुरक्षालाई ध्यानमा राखेर काम नगर्दा सरकारका विभिन्न महत्वपूर्ण र गोप्य तथ्यांक बाहिरिने जोखिम उच्च भएसँगै सरकारले प्रतिरोध गर्ने गरी निकाय नै खडा गर्न लागेको हो । नेपालमा विभिन्न अनलाइन तथा सूचनाप्रविधि सम्बद्ध प्रणाली प्रयोग बढिरहँदा सर्वसाधारणदेखि सार्वजनिक तथा निजी संस्थाहरुसम्म साइबर आक्रमणको जोखिममा छन् । यसमा सुधार गर्ने गरी ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गर्न लागेको हो ।
सञ्चारप्रविधि प्रणालीहरू माथिको साइबर आक्रमणको जोखिम बढ्दै गएको र व्यक्तिगत तथा संस्थागत विवरणहरूको गोपनीयता एवम् तथ्यांक लगायत सूचनाप्रविधि प्रणाली सुरक्षाको विषय जटिल बन्दै गएपछि केन्द्र खोल्न लागिएको सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले जनाएको छ । भरपर्दो, सुरक्षित र उत्थानशील साइबर स्पेस निर्माणका लागि केन्द्रले काम गर्नेछ ।

