रसिलो सुन्तला किसानका अमिलो व्यथा

मङ्सिर १०, लमजुङ। बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्ष अघिदेखि चार सय रोपनी जमिनमा सुन्तलाखेती गर्दै आउनुभएको थियो।

उहाँको बारीमा पाँच सय बोटका सुन्तलाले बर्सेनि रु। तीन लाखदेखि रु। पाँच लाखसम्म आम्दानी हुने गर्दथ्यो । केही वर्षदेखि सुन्तलाका बोट मर्दै जाने क्रममा यतिबेला रोगले सबै सखाप भइसकेको छ । किसान पाण्डेले भन्नुभयो, “अहिले त परिवारले खाने सुन्तला पनि छैन ।” सुन्तला सखाप भएपछि धान र मकैखेती गर्न थालेको उहाँको भनाइ थियो । पाण्डेले भन्नुभयो, “त्यति बेला सुन्तला बिक्री गरेर परिवारको खर्च टार्न सहज भएको थियो अचानक रोग लागेर मर्दै जाँदा बगैँचा नै सखाप भयो । पहिला आफैँले बिक्री गरिन्थ्यो तर अहिले आफैँले अरुसँग किनेर सुन्तला खानुपरेको गुनासो उहाँले गर्नुभयो ।”

त्यस्तै सोही गाउँकै भगवती पन्तको सुन्तलाबारी पनि अहिले सखाप भएको छ । उहाँले भन्नुभयो, “करिब ५० वर्ष अघि स्याउत गाउँमै पहिलो सुन्तलाखेती हामीले गरेका थियौं । तेह्र रोपनी जग्गामा छ सय वटा सुन्तलाका बोट लगाएका थियौँ, फल राम्रौ दिन्थ्यो । बर्सेनी रु। छ÷सात लाख आम्दानी गर्दै बालबच्चा पढाउन र घरखर्च चलाएर पनि बचत हुन्थ्यो ।”

पहिलो त्यतिका बोटबाट त्यत्रो रकम आम्दानी हुन्थ्यो अहिले त ५०÷६० वटा बोट छन् त्यही पनि मसिना मसिना दाना फलेको छ, यसवर्ष ७०÷८० हजारसम्म आइहाल्छ कि पन्तले भन्नुभयो । कति दुःख गरेर लगाइएको सुन्तलाखेती नासिँदा दुःख लागेको छ । सुन्तला नभए पनि कागती हुन्छ कि भनेर तीन वर्षअघि बीस हजार तिरेर एकसय वटा कागतीको बिरुवा सारेकामा गतवर्ष सबै बिरुवा मरेको उहाँले सुनाउनुभयो ।

रमेशराज पन्तको पनि उस्तै समस्या छ । विगतमा धेरै वर्षसम्म सुन्तलाबाटै वार्षिक रु चार÷पाँच लाखसम्म आम्दानी गर्नुभएको थियो । विसं २०३६÷३६ मा एक हजार पाँच सय वटा बिरुवाबाट सुन्तलाखेती गर्दै विसं २०४० देखि उत्पादन गर्दै बर्सेनी रु। पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो ।

“विसं २०६० सम्म लगाइएको सुन्तलाले गाउँ नै ढाक्ने गर्थ्यो, फागुन महिनासम्म पनि सुन्तला टिपेर भ्याउन गाह्रो हुन्थ्यो तर अहिले ३०÷४० वटा बोट धेरै स्याहारसुसार र मलजल गरेर बचाएर राखेको छु, यसवर्ष करिब रु। एक डेढ लाखसम्म कमाइ हुने अपेक्षा छ,” रमेशले भन्नुभयो, “विगतमा प्रतिगोटा २५ पैसामा समेत बिक्री गर्नुपर्दा त्यतिबेला गाउँसम्म आउने सहज बाटो थिएन, भाउ थिएन, आफैँले झारेर धुवानी गर्नुपर्थ्यो, अहिले सुन्तलाको माग छ, बाटो सहज छ तर सुन्तला बगैँचा छैन ।

लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत यस गाउँमा केही वर्षदेखि बोट मात्रै हुँदा किसान चिन्तामा छन् । उनीहरुको मात्रै नभइ गाउँमा रहेका ८० घरपरिवारले नै लामो समयदेखि सुन्तला लगाउँदै आए पनि बोटमा रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको र केहीको मात्रै अलिअलि बाँकी छन् । विगतमा आफूहरुले रु। तीन करोडसम्म लिने गरे पनि यतिबेला रु। पाँच÷दस लाख पनि पाउन मुस्किल हुने स्थानीयवासीको भनाइ थियो ।

बीस वर्षको बीचमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्नेजस्ता समस्या किसानले झेल्दै आए पनि समाधान गर्न नसक्दा गाउँभरिका सुन्तलाबारी नै सखाप भइसकेको उनीहरुले बताए । यहाँका किसानले उतिबेला ठीक यही समयमा सुन्तला बगैँचा हेर्दै खाँदै किसान आ–आफूले लगाएको बारीको सुन्तला यो साल त यति लाखमा बेच्छु र त्यो पैसाले यो काम गर्छु भन्दै योजनासहित खुसी भएर बसेका हुन्थे तर विगतकेही वर्षदेखि सुन्तलाले फल दिन नसक्दा अवस्था फेरिएको छ । साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँबाहेक तार्कुको गहते, करापुटारको बेतिनी, भोर्लेटारका लामासोती, उदिपुरको धिमिरे, भोटेओडारलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंँचा मासिँदै गएको छ । जिल्लामा उत्पादित सुन्तला कम हुँदा बाहिरी जिल्लामा उत्पादित सुन्तलाले बजार ओगेटेको छ ।

यतिबेला सुन्तला प्रतिकिलो रु। एकसय ४० देखि रु। एकसय ५० मा बिक्री हुँदै आएको छ । कत्ले, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन ९उत्पादनमा ह्रास हुने रोग०, ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा एक हजार दुई सय हेक्टर क्षेत्रफलभन्दा बढीमा सुन्तला खेती हुने गरे पनि केही वर्षदेखि करिब एक सय ५० हेक्टर जमिनमा मात्र सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.