कार्तिक १६, काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिब एवम् सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले वाम-लोकतान्त्रिक गठबन्धन प्रतिगामी तथा जनविरोधी शक्ति विरुद्धको अभियान रहेको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ८ प्रतिनिधि सभा सदस्यको उम्मेद्वार समेत रहेका मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नं. १३ कालिमाटीमा वाम-लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचारप्रसार समितिको कार्यालय उदघाटनको क्रममा सो कुरा बताएका हुन । गठबन्धनको मुलमर्म जनताको भावनालाई कदर गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति रहेको बताउदै समृद्धिको यात्रामा अगाडी बढ्न आग्रह गरे । मन्त्री श्रेष्ठले प्रतिगामी जनविरोधीहरुले फिजाएको भ्रममा अलमल नपरी मंसिर ४ गतेको निर्वाचनमा अत्यधिक मत प्राप्त गरि विजयी गराउन आम मतदाता एवम् कार्यकर्तालाई अपिल गरे ।

एमाले पार्टीले जनताको अधिकार खोस्ने र प्रतिगामीको मतियार भएको भन्दै संविधानको रक्षाका लागि सबै जना एकजुट हुनुपर्ने बताए । काठमाडौँ क्षेत्र नं. ८ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार प्रदेश (क) मा नेपाली काँग्रेसबाट राजुराज जोशी र प्रदेश (ख) मा नेपाली काँग्रेसकै उम्मेद्वार अमिन पाण्डे रहेका छन् । प्रदेश सभाका उम्मेद्वार पाण्डेले स्थानीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा बहुमत प्राप्त मत रहेको जिकिर गर्दै गठबन्धनको जीत सुनिश्चित रहेको बताए ।

