भदौ ६, काठमाडौं । नेपाल स्रष्टा समाजले भदौ ३० गते राजधानीमा एक कार्यक्रम आयोजना गरेर साहित्यकार कवि एवम् समालोचक रमेश शुभेच्छुलाई सम्मान गर्ने भएको छ । शुभेच्छुलाई प्रसिद्ध कँडेल स्मृतिको नामबाट सो सम्मान प्रदान गर्न लागिएको स्व. प्रसिद्धका पिता चेतननाथ कँडेलले जानकारी दिनुभयो ।
स्नातक तहको अध्ययनको शिलशिलामा अमेरिकामा प्रसिद्ध गत वर्ष अल्पयुगमा निधन भएको र उनको सम्झनामा युवा स्रष्टा सम्मान समकालीन पुस्ताका प्रखर युवा कवि शुभेच्छुलाई प्रदान गर्ने निर्णय गरेको उनका पिताले बताउनुभयो । शुभेच्छुका कविता, काव्य, महाकाव्य, समालोचना, बालसाहित्य, सम्पादन र पाठ्यपुस्तक गरी चार दर्जनअधिक कृतिहरु प्रकाशित छन् । साहित्य सिर्जना समीक्षा, सङ्गठन, साहित्यिक पत्रकारिता आदिमा सक्रिय शुभेच्छुलाई यो सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी आयोजकले बताएको छ । यसैगरी सुभद्रा–विश्वराज स्रष्टा सम्मान यस वर्ष शास्त्रीय शैलीमा साहित्य रचना गर्ने तथा पर्याप्त मात्रामा साहित्य साधना भए तापनि अपेक्षित रूपमा ओझेलमा परेका साहित्यकार स्व. नारायणदत्त शास्त्रीलाई मरणोपरान्त प्रदान गरिने छ । दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान लामो समयसम्म साहित्य र सञ्चारका क्षेत्रमा सक्रिय रहनुभएकी सिर्जना शर्मालाई प्रदान गरिने छ । प्रत्येक वर्ष प्रदान गरिने यी तीनवटै सम्मानहरू सम्मानपत्रसहित नगद रू। ११,१११÷– (एघार हजार एक सय एघार) राशिका छन् ।
सुभद्रा–विश्वराज स्रष्टा सम्मान गत वर्षबाट प्रदान गर्न सुरु गरिएको हो भने दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान र प्रसिद्ध कँडेल स्मृति युवा स्रष्टा सम्मान यस वर्षबाट प्रदान गर्न लागिएको हो । सोही समारोहमा केही कृतिहरूको लोकार्पणसमेत गरिने समाजले बताएको छ । नेपाल स्रष्टा समाजले स्थापना गरेका योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान गत साउन सात गते क्रमशः नीलम कार्की निहारिका र ज्ञानमणि नेपाललाई प्रदान गरिएको थियो । नेपाल स्रष्टा समाजले आफ्नो स्थापनाको दशौँ वर्ष यसै वर्ष सम्पन्न गरेको छ ।