प्रारम्भ खबर ।
भदौ १६, काठमाडौँ । प्राकृतिक एवम् पौराणिक धार्मिक पर्यटकीय क्षेत्र कागेश्वरी मेला (भोलि) भदौ १७ गतेदेखि हुने भएको छ । उत्तर–पूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा कागेश्वरी महामेला हुने भएको हो ।
प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमी अर्थात् कागेअष्टमीका दिन बर्षेनी मेला लाग्ने गरेको कागेश्वरी मनोहरा नगरपालिका वडा –१ का अध्यक्ष मकु्न्द गजुरेलले जानकारी दिनुभयो । मेला व्यवस्थापनको लागि सम्पूर्ण तयारी पूरा भएको बताउँदै उपत्यका लगायत देशभरका दर्शनार्थीहरुलाई आउन आग्रह गर्नुभएको छ ।
सो मेलालाई व्यवस्थित बनाउन कागेश्वरी मनोहरा नगरपालिका प्रम्ुख उपेन्द्र कार्कीको संयोजकत्वमा नगर उप प्रमुख शान्ता थापासहित कार्यपालिका सदस्य रहेको १९ सदस्यीय मूल आयोजक समिति निर्माण गरेको वडा अध्यक्ष गजुरेलले जानकारी दिनुभयो । मूल आयोजक समितिका साथै मन्दिर ब्यबस्थापन समितिले पनि महत्वपूण जिम्मेवारीका साथ मेला सफल बनाउने भएको छ ।

आजबाटै सरसफाई कार्यक्रम सुरु गरेको छ । मेलालाई आकर्षक बनाउन स्थानीय खाद्य उत्पादनको प्रर्दशन तथा विविधि साँस्कृतिक कार्यक्रम गरिने आयोजकले बताए । किंवदन्तीअनुसार परापूर्व कालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेको र त्यसै बेलादेखि यस मन्दिरको नाम कागेश्वरी महादेव मन्दिर रहन गएको हो ।
नगरपालिकाको नाम नै कागेश्वरी मनोहरा नगरपालिका भएकाले पनि यस धार्मिक पर्यटकीय स्थललाई नगरपालिकाले विशेष महत्व दिएको छ । यो महामेला ३ दिनसम्म विशेष कार्यक्रम गरी मनाउने महामेला आयोजकले जनाएकोे छ । तीन दिनसम्म चल्ने महामेलामा आन्तरिक तथा बाह्य क्षेत्रबाट १ लाख ५० हजारजति पर्यटक आउने अनुमान गरिएको छ ।

