रामेछाप । रामेछापमा पहिलोपटक जुनार खेतीको बिमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोनमार्फत बिहीबार जुनार बिमा गरिएको हो ।
परियोजनाले आईएमई जनरल इन्स्योरेन्समार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुरानागाउँका ३ जना कृषकको ६ सय बोट जुनारको बिमा गरी किसानको बगैंचामा पुगेर बिमा लेख हस्तान्त्रण गरेको हो ।
बिमा गर्नुअघि जुनारको पीसीआर जाँच गर्दा स्वस्थ देखिएपछि बिमा गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए । उनले जुनार बगैंचामा रोग लाग्न नदिन टोली बनाएर बिषादी छर्ने व्यवस्था भएको बताए ।
बिमामार्फत आगलागी, चट्याङ, भूकम्प, अधिक वर्षा, बाढी, पहिरो, खडेरी, आँधी बेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक बाह्य दुर्घटना र रोगबाट हुने नोक्सानीको जोखिम बहन गरिने आईएमई जनरल इन्स्योरेन्स रामेछापका प्रमुख विपिन भट्टराईले जानकारी दिए । उनले नोक्सानी भएमा अधिकतम बिमा रकमको सीमामा रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने जनाइएकाे छ ।

