माघ १५, विराटनगर । मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्करजरिबानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञानपन पत्र बुझाएका हुन् । अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधन फिर्ता जाने क्रममा मोरङ र सुनसरीमा केही निकायबाट विभिन्न शीर्षकमा शुल्क÷जरिबाना असुल्ने कार्य भइरहेको बताए । उनले औद्योगिक प्रयोजनले विराटनगर नाका मार्फत नेपाल भित्रिनु पर्ने भारतीय सवारी साधनहरु हाल फारवीसगञ्ज–जोगबनी–विराटनगर सडक खण्डको जीर्ण अवस्थाको मीरगञ्ज पुलका कारण भिमनगर–भन्टाबारी नाकाका लागि रि–रुट भई थप १३० किमी गन्तव्य तय गर्न बाध्य रहेको बताए ।
उनले त्यसबाट नेपाली आयातकर्ताले लागत खर्च वृद्धिको मार परेको अवस्थामा नेपाली पक्षबाटसमेत त्यस प्रकारका अनुचित असुली हुँदा स्वदेशी उद्योग÷व्यवसायलाई थप व्ययभार परेको तथा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको प्रतिष्ठामा आँच पुर्याउने काम भइरहेको बताउँदै सो अनुचित असुली कार्यको तत्कालै अन्त्य गर्न सम्बन्धित निकायलाई यथाशिघ्र निर्देशन जारी गरिदिन आग्रह गरेका छन् । रासस

