प्रेस्कृप्सनबिना औषधी बेचे दुई वर्ष कैद र २० हजार जरिवाना

भदौं १, काठमाडौं । भदौ एक गतेदेखि लागु भएको मुलुकी अपराध संहिता ऐन २०७४ ले चिकित्सासम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेर कानुनबमोजिम अधिकार प्राप्त गरी उपचार गर्नको लागि इजाजत प्राप्त गरेको चिकित्सकबाहेक अन्यले चिकित्सा सेवा दिँदा कसैको शरीरको कुनै अङ्गको शल्यक्रिया गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न निषेध गरेको छ ।

यदि बिरामीलाई चिकित्सा सेवा दिँदा, शल्यक्रिया गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान गएमा चिकित्सकलार्ई जन्म कैद हुने र अङ्गभङ्ग भएमा पन्ध्र वर्षसम्म कैद सजाय हुने कानुनमा उल्लेख छ । ऐनको दफा २३० को (२) उपदफा (१) मा लामो अनुभवबाट उपचार सम्बन्धमा जानकारी राख्ने चिकित्सकले उचित होसियारी अपनाई सानोतिनो रोग लागेको बिरामीको अङ्गलाई कुनै खास असर नपर्ने गरीे औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा रोक लगाएको छैन । त्यसैगरी, बिरामीलाई पर्याप्त होसियारी तथा सावधानी नअपनाई वा हेलचेक्य्राइँ गरी उपचार गर्न नहुने उल्लेख छ । उपचारकै क्रममा चिकित्सकको लापरवाहीपूर्ण काम गरेको कारणबाट ज्यान गएमा वा अङ्गभङ्ग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना गरिने काननुमा उल्लेख छ ।

त्यस्तै, एउटा औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न निषेध गरेको छ । यसरी औषधी विक्री विवरण गरेमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना हुनसक्ने कानुनमा उल्लेख छ । ऐनमा भनिएको छ, “औषधि बिक्री गर्न पाउने व्यक्तिले औषधि बिक्री वितरण गर्दा एक किसिमको औषधिलाई तात्विक रुपमा भिन्न अर्को किसिमको औषधि हो भन्ने जानीजानी वा थाहा पाउनुपर्ने मनासिब कारण भई बिक्री वितरण गर्न हुँदैन ।” ऐनको दफा २३४ मा कानुनबमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले उपचार गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस विना कसैलाई गम्भीर असर हुने कुनै लागू औषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न निषेध गरिएको छ । बिना प्रेस्कृप्सन विक्री वितरण गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने बताइएको छ ।

त्यसैगरी, ऐनको दफा २३५ मा कसैलाई जानीजानी हानिकारक हुने कुनै औषधिमा मिसावट गर्न तथा मिसावट भएको औषधि कसैलाई दिन वा कुनै व्यक्तिलाई त्यस्तो औषधि सेवन गर्न वा गराउन लगाउन नहुने कानुनी प्रावधान छ । औषधि सेवन गरेको कारणले ज्यान गएमा त्यो विरामीलाई चिकित्सकले मारेको सरह हुने उल्लेख छ । त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान जाने खतरामा पुगेमा वा पुग्ने सम्भावना भएमा ज्यान मार्ने उद्योग गरे सरह मानिने उल्लेख छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.