राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरण ल्याउनु कलाकारको भूमिकाः मन्त्री शर्मा

पुस २, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताका पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने बताउनुभएको छ । बिहीबार जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै जनकलाकारहरूको कार्यभार राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरण ल्याउनु रहेको बताउनुभएको हो ।

‘जनसांस्कृतिक महासंघसँग दुई वटा कार्यभार छन्’, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री शर्माले भन्नुभयो, ‘एउटा राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताका पक्षमा नयाँ जागरण पैदा गर्ने, त्यस्तै श्रम संस्कृति, आत्मनिर्भरताको संस्कृति स्थापना गर्ने रहेको छ । अर्को सामाजिक सांस्कृतिक रूपान्तरण गर्ने ।’ राजनीतिक परिवर्तनहरू भए पनि सामाजिक, सांस्कृतिक परिवर्तनमा धेरै समय लाग्ने बताउनुहुँदै उहाँले यसको परिवर्तनका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको हो । उहाँले समाजमा विद्यमान रहेका विभेद तथा विसङ्गति अनि भ्रष्टाचारविरुद्ध लड्न सके मात्र समाजवादको पथ पहिल्याउन सकिने बताउनुहुँदै सामुदायिक पुँजी निर्माण गरेर समाजवादको ‘भ्रुण’ निर्माण गर्नुपर्ने बताउनुभयो । त्यसका लागि महासंघले आफ्नो जागरण मार्फत् नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने औँल्याउनुभयो ।

‘समाजवादको जग हाल्नका लागि नारा मात्र भनेर हुँदैन’, उहाँले भन्नुभयो, ‘व्यक्तिगत प्रतिस्पर्धालाई नरोकी उत्पादनका साधन समुदायमा स्थापित हुने गरी समुदायको पुँजी निर्माण गरेर समाजवादको भ्रुण निर्माण गर्ने अभियानको नेतृत्व गर्नुपर्छ ।’ जनकलाकारहरूले सिर्जना गरेका सृजनाले नै दश वर्षे जनयुद्धलाई अगाडि बढाउन सहज गराएको स्मरण गर्नुहुँदै मन्त्री शर्माले कलाकारहरूलाई पुनः नयाँ जिम्मेवारी आएको बताउनुभयो । उहाँले जनकलाकारलाई श्रम संस्कृति, उत्पादन संस्कृति, रुपान्तरणको संस्कृति, सदाचारको संस्कृति एवम् सामूहिकताको संस्कृति स्थापित गर्न जागरण ल्याउने कार्यभार भएको बताउनुभएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.