‘मेरो कपुरी क’ – डा. रमेश शुभेच्छु

हामी प्रारम्भ खबरको आफ्नो कथा स्तम्भमा साहित्यकार रमेश शुभेचछुको स्कुल जीवनका संस्मरणलाई प्रस्तुत गर्दै आएका छौँ । यस हप्ता मेरो स्कूल श्रृखला –३ अन्तरगत शुभेच्छुको ‘मेरो कपुरी क’ लेखनको अनुभव समेटिएको छ ।– सम्पा।

मलाई स्कुल अर्को बर्ष मात्र पठाउने सल्लाह भएछ । हजुरबाले र पिताजीले घरमै पढाउने निर्णय गरेछन् । यो सुखद समाचार भने मलाई कसैले पनि सुनाएन । म स्कुल जानु पर्ने आधा खुसी र आधा भयमा थिएँ ।

हजुरबाले पात्रो हेरेर श्रीपञ्चमीको दिन पहिल्याए । पिताजी पनि छोरो पढाउने कुराले उत्साही थिए । हजुरबालाई नातिले पढे लेखेको हेर्नु थियो । राम्रोसँग पढाउनु लेखाउनु थियो । घर मुलीका नाताले त्यो निकै ठुलो कर्तव्य थियो । उनले बसिलाले ताछेर एउटा पाटी तयार पारेका थिए । त्यो पाटीको समाउने बिँड थियो । फराकिलो थियो । बोक्न खोज्दा अलि बाक्लो र गह्रौँ थियो । तर बाले मेरा नातिलाई यतिको कलियो चाहिन्छ भनेका थिए । त्यस दिन बिहानै घरमा खलबल भयो । आमैले तातो पानीले नुहाइदिइन् । नयाँ लुगा फेराइदिइन् । सँगसँगै ढाकी बोकेर फुल टिप्न लगिन् । फुल टिपेर एउटा माला पनि उन्न लगाइन् । उनले डो¥याउँदै देवीथानमा पुर्याइन् । आफै फर्काएर ल्याइन् ।

बाले आफै बत्ती बाल्दा जम्मा भएको ध्वाँसो र गाजल लाएर पाटी मस्याए । पिताजीले एउटा फराकिलो काठको फलेक खोजेर ठिक पारे । माताजीले रातोमाटोको एउटा डल्लो ल्याएर पिँडीमा राखिन् । आमैले त्यो माटाको डल्लो फुटाइन् । लोहोराले बिस्तारै कुटेर धुल्याएर मसिनो बनाइन् । पिताजीले त्यही मसिनो धुलो माटो काठमाथि छरे । सबैका प्रयासमा धुलौटो तयार भयो । पिताजीले बाँसको भाटो खिपेर डट पेन जत्रै ठिग बनाइदिए । मेरा लागि लेख्ने धुलौटो र डिग पनि तयार भयो । खरी र पाटीको पनि व्यवस्था भयो । हजुरबाले त्यस पाटीमा ठुला ठुला अक्षरले क ख ग घ ङ …लेखे । म यी सबै नयाँ नौला कुरा हेरिरहेको थिएँ ।

पिताजीले अस्ति बजारबाट ल्याएको किताब ल्याउन भने । मैले सम्झिइहालेँ मेरो पहिलो किताब । त्यो किताबलाई बजारबाट ल्याएका दिनदेखि हजुरबाले राखिदिएका थिए । बाले आफूले पढ्ने गीताको पुस्तक जस्तै एउटा पहेँलो टालामा बेरेर राखेका थिए । त्यो किताब लिन हजुरबा आफै घरभित्र पसे । भँडारका छेउको पूजा कोठाबाट झिकेर ल्याए । ल्याएपछि बिस्तारै रुमालको गाँठो फुकाए । किताब खोलेर पहिला बाले ढोगे । फेरि पिताजीले ढोगे । हजुरआमा र आमैले पनि पालैपालो ढोगे । पछि मलाई ढोगाए । मैले श्रद्धापूर्वक किताबलाई ढोगिदिएँ । किताब ढोगेरै एउटा मन्त्र पढ्न अह्राए । मैले जानी नजानी पढेँ ः
सरस्वती मयादृष्टा
विणा पुस्तक धारिणी
हंसवाहनसंयुक्ता
विद्यादान करो तुमे ।

दोहो¥याएर भन्न लगाएपछि अलि अलि तोतो भाका झिकेको थिएँ । आमैले अघि उनेको माला गलामा लगाइदिएकी थिइन् । घरमा मेरा लागि अनौठो भइरहेको थियो । म अनजान थिएँ । हजुरबाले पाटीमा लेखेका अक्षर हेर्थेँ । ती पनि चित्र थिए । किताब भित्रका अक्षर पनि अनौठा थिए । ती कपुरी कदेखि गाँठोपारी ज्ञा पनि चित्र नै थिए । अ ..अः पनि चित्र नै थिए । त्यहाँ भएका चित्र पनि चित्र नै थिए । मैले किताब ढोगेपछि ध्यानपूर्वक चित्र हेरेँ । बाले केके केके मन्त्र पढिरहनुभयो ।

 

पिताजीले पाटीमा लेखिएका र किताबका अक्षर देखाएर जुधाए । आफ्ना कोटका गोजीमा बोक्ने गरेको फुल्टिन पनि झिकेर ल्याए । किताब र फुल्टिन, पाटी, खरी, धुलौटो, डिग, एउटा नयाँ कापी सबै सँगै राखे । तिनलाई हजुरबाले पूजा गर्ने देउतालाई जस्तै पूजा गरे । पिताजीले मेरो हातको चोरी औँलो समाए । त्यो मेरो सानो औँलो उनका ठुला हातले समाउँदा काम्दै थियो । उनले औँलो समाएरै भने औँलो अररो नपार् है । फेरि अक्षर बिग्रन्छ । मैले जानेको लुलो पारेँ । फेरि भने अलि लुलो पार् न । के अररो पारेको ? मैले फेरि लुलो पार्ने प्रयास गरेँ । उनले मेरो औँलो समाएर विस्तारै धुलौटामा केही लेखाए । औँलो फनकक घुमाएर लेखाएर लामो स्वरमा भने क..पुरी.. क…

लगत्तै हजुरबाले खरी समाउन लगाए । बाका हातभित्र मेरो खरी समाएको हात हराएको थियो । उनको कुरा पनि उस्तै थियो । हात अररो नपार् । उनले क ख ..लेखेको पाटीका पछाडिपछि खाली थियो । त्यस खाली ठाउँमा मैले समाएको खरी घुमाएर लेखे र भने क…पुरी… क…। त्यो क धुलौटामा पिताजीले लेखाए भन्दा ठुलो थियो । सेतो र राम्रो थियो । त्यो किताबको भन्दा झन् ठुलो थियो । हजुरबाले पाटीमा लेखेभन्दा पनि ठुलो थियो । बाले क लेखाइसकेर भने मेरो नातिले क लेख्यो ।
म दङ्ग परेँ ।

पिताजीले कापी पल्टाएर त्यसका पहिलो पानामा केही लेखे । त्यहाँ के लेखे मलाई के थाहा । उनले भने यो तेरो नाम हो । म मख्ख परेर मेरो नाम हेरेँ । उनले मेरो नाम लेखिदिएर भने यो कापी पनि तेरो । उनले कलम समाउन लगाए । मैले जानीनजानी कलम समाएको थिएँ । उनले कलम समाएको हात समाएर अगाडि जसरी नै मेरो हात घुमाइदिए । उनले कापीमा अर्को क लेख्न सिकाए । त्यो क मैले लेखेको थिइनँ । अगाडि लेखेका क पनि मैले लेखेको थिइनँ मैले खरी मात्र समाएको थिएँ । बाले नै हात घुमाएर लेखेका थिए । उता धुलौटामा पिताजीले लेखाएको क पनि त्यस्तै थियो । ती क मेरा थिएनन् । ती बा र पिताजीका क थिए । किताबको क पनि अर्कैैले लेखेको थियो । ती क जसरी लेखिएका भए पनि मेरा क भनेर चिनाइएको थियो । म मेरा क देखेर दङ्ग थिएँ ।

मैले क लेखेको घटना नौलो थियो । रमाइलो मानेर सबैले हेर्दै थिए । हजुआमा, आमै, माताजी सबै खुसी थए । बहिनी पनि हेर्दै थिईन् । त्यस दिन बहिनीसँग खेल्न नपाएर म अलमलिएको थिएँ । बा र पिताजीका बिचमा थुनिएको थिएँ । त्यसबेला बहिनीलाई पनि पढाए हुने भन्ने लागेको थियो । तर त्यस्तो हुन पाएन । बाका अनुसार मेरो मात्र साइत आएको थियो । म मात्र त्यस बन्धनमा परेको थिएँ । बाले भनेका थिए अब तैँले पढेर बहिनीलाई पढाउनुपर्छ । त्यस दिन लेख्ने भन्दा पनि क ख.. भन्ने काम बढी भयो । हजुरबाले कदेखि ज्ञसम्म भन्न सिकाए । फेरि पिताजीले सिकाए । फेरि हजुरबाले सिकाए । पिताजीले फुर्सद फुर्सदमा बाँसका डिकले क लेखाए । डिको समाउन नाजानेपछि औँलाले क लेख्न सिकाए । बहिनीहरु खेलिरहे । म टुलुटुलु हेरिरहेँ । मैले उनीहरुसँग खेल्न पाइनँ । मेरा जीवनमा नयाँ कुरा थपिए ः धुलौलो र डिग (लेख्ने छेस्को), खरी र पाटी ।  बहिनीहरु खेलिरहेका थिए । आफू बा हजुरबासँग डराई डराई पढ्न बसेको थिएँ । भागेर खेल्न जानु जस्तै । तर माला लाएर राखिएको थियो । त्यस दिन जसरी पनि बस्नुपथ्र्यो ।

बाहरुको गोप्य योजना थियो । मलाई केही कुरा घरमा सिकाउने । अलि ठुलो भएपछि, केही जानेपछि स्कुल पठाउने । मलाई थाहा नदिई अर्को वर्ष स्कुल पठाउने निश्चय गरिएको रहेछ । त्यो एक वर्ष घरमै पढाउने सल्लाह भएछ । त्यस सल्लाहको कार्यान्वयनमा म पढाइन थालेको रहेछु ।
म घरमै पढ्न थालेँ । बाले पाटीमा लेखेका अक्षर पढाए । उनले एएटा अलि लामो कप्टेराले ती अक्षर देखाई देखाई पढाए । फेरि पाटीमा भएका अक्षर छाडेर पहिलो किताबमा भएका अक्षरहरु पढाए ।
कपुरी क,
मोटो ख,
गाईगोडे ग
घर जस्तो घ,
मासगेडी ङ,
चरी चुच्चे छ,
छपारी छ,
डाडु ज
खुटी झारो झ
गोरु सिंगे ञ
ओठ काट्यो ट
कण्ठमिलायो ठ
डाङ्डुङे ड
कुकुर पुछ्रे ढ
तीन धर्के अण
कोदाली त
घोरमुखा थ
दयाली द
काँधलौरी ध
निगुरमुन्टी न
पाटी प
छोरीबोके फ
बाटुलो ब
भकारी भ
राम्रो म
बुढो जे
खाँबे र
हात बाङ्गो ल
तल थोप्ली व
तालबे श
पेटफारो ष
दन्ते स
हलीगोडे ह
क्षपारी क्ष
दुई औँले त्र
गाँठोपारी ज्ञा ।
दिनभरि माथिका अक्षरहरु पढाए । मैले पनि दोहो¥याइ दोहो¥याई पढेँ । वरपर जाँदा पनि, पिसाब फेर्न जाँदा पनि, गीत गाउँदा जस्तै भनिरहेँ । दिनभरि जस्तो क ख गीत गाइयो । क ख नै भनियो । माथिका मध्ये कपुरी क भन्न र लेख्न जान्नु पर्ने बाहरुको सर्त थियो । जानेपछि बल्ल पहिलो दिन मुक्ति पाइने अवस्था थियो । मैले नजानेर धरै थिएन ।

मैले क लेख्ने अभ्यास पनि गरिरहेँ । क देखि ङ, ञ हुँदै ज्ञ सम्म पनि भनिरहेँ । साँझदेखि बेलुकाको भात खाउन्जेल मुक्ति पाइयो । खाना खाएपछि फेरि उही कको कुरा आयो । मैले अन्तिममा क आफ्नै औँलाले आफै लेखेर देखाएँ । त्यस बेला देखिएको मेरा पिताजीका मुहारको खुसी म राम्ररी सम्झन्छु । उनले हाम्रो बच्चुले क लेख्यो भनेर चिच्याए । त्यस बेला माताजीका अनुहारमा छाएको खुसी पनि प्रस्ट देखिन्थ्यो । म अहिले पनि राम्ररी सम्झन्छु । मैले क लेखिसक्दा माताजी र काकीआमा धन्दा गर्दै थिए । धन्दा सकेर मझेरी लोटाउने बेला भएको थियो । अगेनामा ठुलो आगो बलेको थियो ।

मेरो नाति क लेख्ने यभो । बाले ठुलो स्वरमा भनेका थिए । नाति पढ्ने भयो भनेर मख्ख परेका हजुरबाको मुहार निकै उज्यालो भएको थियो । टुकी बत्तीमा धपकक भएको हजुरआमाका अनुहार पनि प्रस्ट सम्झन्छु । बिहानदेखि अरुको ठानिएको क अब आफ्नो भयो । एक पटक मेटेर हेर्दा अर्को चोटि पनि आफ्नै भयो । मेरा जीवनमा अब एउटा क पनि आफ्नो भयो । अब एउटा बाटुलो, लाम्चो र बाङ्गो चित्र एकै ठाउँमा मिलेर क..पु..री.. क.. भयो । त्यो क मेरो भयो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.