पहिलो किताब – डा. रमेश शुभेच्छु

हामी प्रारम्भ खबरको आफ्नो कथा स्तम्भमा साहित्यकार रमेश शुभेचछुको स्कुल जीवनका संस्मरणलाई प्रस्तुत गर्दै आएका छौँ । यस हप्ता मेरो स्कूल श्रृखला –२ अन्तरगत शुभेच्छुको स्कुल जाने चर्चा र पहिलो किताब हातमा पर्दाको अनुभव समेटिएको छ ।– सम्पा.

हिउँद महिनाको कुनै दिन ।

हाम्रा घरमा ठाडो चन्दन लगाएका मानिस आए । उनले लगाएका लुगा सुकिला थिए । उनलाई हजुरबाले गोडामा ढोग गरे । पिताजीले पनि गोडामा ढोगिदिए । आमै र हजुरआमाले माटो छोएर झुकेर ठुली गरे । माताजी र आमाहरुले पनि त्यसै गरे । मलाई पनि गोडामा ढोग्न लागाए ।

उनी हाम्रा माइला भिनाजु । उनी त्यो समयका पढेका पण्डित । उनलाई हाम्रा हजुरबाले आँगनमा पुराण भन्न लगाएका । त्यही पुराणको साङ्गेमा माहिली छोरी बिहे गरेर दिएका । उनको आवाज मसिनो र मिठो थियो । भिनाजुसँग हामी जस्ता केटाकेटीको उति कुरा हुँदैनथियो । उनीसँग बसेर हजुरबा र पिताजीले के के कुरा गरे । कुरा गर्दागर्दै मलाई पढ्न पठाउने कुरा चल्यो । भिनाजुले चस्माभित्रबाट आँखा तन्काएर मेरो उमेर सोधे, बच्चु तिमी कति वर्षका भयौ ।

त्यस बेला हामी जस्ता बालकलाई तिमी भनेर बोलाउने चलन थिएन । सबैले तँ नै भनेर बोलाउँथे । भिनाजु पण्डित भएकाले साना बालकलाई पनि तिमी भनेर सम्बोधन गरेका । म तिमी सम्बोधन पाएर मख्ख थिएँ । भिनाजु पनि मन परेको थियो ।

उनले फेरि सोधे, कति वर्ष पुग्यौ त बाबू ?
छ वर्षको भएँ, मैले भनेँ ।
तिमी पढ्छौ कि पढ्दैनौ ?
म अलमलिएँ ।
उनले फेरि दोहोर्याएर सोधे ।
मैले नजानेरै भनेँ पढ्छु ।

उनी पढेका मान्छे । सम्भवतः त्यस बेला पढाउन पनि थालेका थिए । कति वर्षमा स्कुल पठाउने भन्ने कुरा उनलाई थाहा हुनुपर्छ । म छ वर्षको भइसकेको थिए ।

भिनाजुले स्कुल पठाउने कुरा गर्नु स्वाभाविकै थियो । भिनाजुका कुराले परिवारमा एउटा तरङ्ग ल्यायो ।

माइला भिनाजु फर्किएर गए । उनी त्यस समयका पढेलेखेका मान्छे । उनी हाम्रा आफन्तमध्ये पनि पढेलेखेका मान्छे ।

त्यही हिउँद महिनाको अर्को दिन ।

अर्को एक जना नौला मान्छे घरमा आए । उनी खुट्टा खोच्याउँदै हिँड्थे । उनलाई औँल्याएर बाले नमस्कार गर्न भने । मेरो ढाडमा हात राखेर ’तँलाई स्कुल जान थालेपछि पढाउने सर हुन्’ भनेर चिनाए ।

मैले बुझे जस्तो गरेँ ।

नबुझेर बालाई सोधेँ खुट्टामा ढोग्ने कि ? हात जोड्ने ?

बाले हात जोड्न लगाए । मैले हात जोडेर नमस्कार गरेँ ।

उनी गाउँको स्कुलका सर रहेछन् । मलाई त्यस बेला सर भनेको के हो ? कति पनि थाहा थिएन । सरका बारे पत्तो पनि थिएन । सरले पढाउँछन् भनेको चाहिँ थाहा थियो । पढ्न जाने कुरा पनि थाहा थियो । गुरू हुन्छन् भन्थे । छिमेकी काकाहरु सरहरूकाबारे कुरा गर्थे । त्यस्ता सरका वास्तविक होइन छद्मनामको कुरा गर्थे । ती नाम विद्यार्थीले सरसँग रिस उठेर राखेका खालका अलि नराम्रा थिए । हाम्रा घरमा आउने सरको नाम नारायणप्रसाद सङ्ग्रौला ।

एक दिन माताजीसँग घाँस काट्न गएँ ।

घाँसको भारी पुर्याएर घर फर्कंदै गर्दा कोइरालाका फेदमा भारी बिसाएर बस्यौँ । उनले अलि गम्भीर भएर सोधिन्, नानी तँ अब ठुलो भइस् नि होइन ?
भएँ त । उस्तै परे माताजीकै भारी बोकिदिन्छु । मैले माताजीको ठुलो घाँसको भारी बोक्न खोजेँ ।

भारीको कुरा होइन । कुरो अर्कै छ, माताजीले भनिन् ।

के कुरा ? मैले सोधेँ ।
तल्ला घरका ठुलाकाकासँग स्कुल जान सक्छस् ? माताजीले सोधिन् ।
सकिहाल्छु नि । अब त ठुलो भएँ नि, मैले भनेँ ।
भन्न त भनेँ । तर मै पनि उति प्रस्ट थिइनँ ।
मैले सक्छु त भनिहालेँ । त्यासो भने पनि म अनजान थिएँ । त्यस बेला मलाई गाउँमा स्कुल कहाँ छ ? भन्ने पनि थाहा थिएन ।
स्कुल जाँदा कसरी जाने ?

के लगाएर जाने ? मैले जिज्ञासा राखेँ ।

आमाले अलि गहिरो कुरा गरिन् । बिहान छिटै जानुपर्छ । दिनभरि उतै बसेर पढ्नुपर्छ । छुट्टी भएपछि आउनुपर्छ । दिउँसो साह्रै भोकाउँछस् कि ? अलि बालखै छस् । फेरि तँलाई बढी भोक लाग्ला कि भन्ने लाग्छ म त ।

म अरू कुरा रमाइलो मानेर सुन्दै थिएँ । भोकको कुरा सुनेपछि अलि झस्किएँ । अलि बालखै छस् भन्दा थप झस्किएँ । मनमा हो त नि भने जस्तो लाग्यो । मभित्र बालखै छु भन्ने धारणा बलियो बन्यो ।

मैले सम्झेँ, तल्लाघरका माइला काका र माल्दिदीभन्दा म सानै छु । माथ्लाघरा काँल्दिदी र कान्छीदिदीभन्दा म सानै छु । माथ्लाघरा गीता भन्दा पनि सानै छु । म सानै त छु नि । म भन्दा ठुली भएर गीता त स्कुल गएकी छैन । बाहुनदिदी त गएकी छैनन् । मैले यस्तै के के सम्झिएँ ।

फेरि आफै कुरा कोट्याएर माताजीसँग भनेँ । म बालखै छु नि होइन ? अहिले नै जान सक्छु त ? मैले सानो हुनुको अभिनय गरेँ । मलाई एक्लै दिनभरि स्कुल  पढ्दै गर्दाको आफ्नो विचरा अनुहारको कल्पना भयो ।

सानै छ नि मेरो नानी । हेर्दा पो हलक्क बढेको । मावलकी लोकी दिदीभन्दा पनि सानो ।

त्यस दिन म सानो भएर बाँचेँ । मेरो छ वर्ष पुगेँ भन्ने घमण्ड स्कुल जाने कुरामा कति पनि काम लागेन । म सानो भएँ । त्यस दिन सिकुवामा राखेको ऐनालाई तन्किएर हेर्ने काम पनि गरिनँ । मलाई सानो हुनुमा सञ्च लाग्यो । ठुलो भए दिनभरि भोकै हिँड्नु भन्दा सानो हुन सजिलो थियो ।

माताजीसँग कुरा गरेको केदी दिनपछि । बेलुकाको खाना खाएपछि सबै एकै ठाउँमा बसेका थियौँ ।

त्यहाँ मलाई स्कुल पठाउने भन्ने चर्चा चल्यो । हजुरबाले मायालु पाराले बोलाए, ए बच्चु एता आइज ।
म लुरुक्क परेर बाका छेउमा गएँ ।
बाले कपाल मुसार्दै भने, तँ पढ्छस् ?
म अलमलिएँ ।
फेरि चिउँडो समाएर ठाउको उठाएर हेर्दै भने, यता हेर् त ।

मैले बाका अनुहारमा निर्दोष पाराले हेरेँ । वरिपरि अरु के के गर्दैछन् भनेर आँखा घुमाएँ ।

उनले मलाई बसेकै ठाउँमा काखबाट उभ्याएर भने, मभन्दा पनि अग्लो भएछ । यी हेर त ः मभन्दा एक भित्ता अग्लो छ । बा बसेका थिए । म उभिएको थएँ । बस्नेका छेउमा उभिने बालक अग्लो हुने नै भयो । म बालखबाट ठुलो भए जस्तो पनि लाग्यो ।

बाले फेरि छेउमा बसालेर भने, मेरो नाति गुरुकुल गएर पढ्छ । वृन्दावन गएर पढ्छ । बनारस गएर पढ्छ । पण्डित बनेर आउँछ । पुराण भन्छ । पैसा कमाउँछ । यो गाउँको स्कुल पढ्दैन । कि कसो ?

 

बाका कुरा मेरा लागि अनौठा थिए । उनका वृन्दावन,बनारस, पण्डित, पैसा के के कुराले म अलमलिएँ । ती कुरा माताजीले भनेभन्दा फरक थिए । माथ्लाघरे कान्छा काकाले सुनाएका स्कुल अनुभव भन्दा पनि फरक थिए ।

बिचमा पिताजीले नयाँ प्रस्ताव राखे ।

उनले भने, अहिले गाउँकै स्कुल पढ्छ । पछि ठुलो भएर बनारस जान्छ । अहिले ओराङ्फुङ स्कुल पढ्छ । हो कि होइन बच्चु ?

म यो कुरासँग पनि अलमलिएँ ।  पिताजीको कुराअनुसार घरैबाट पुगिने स्कुल पढ्न पाइने भयो ।

त्यसै बेला माताजीले भनेको भोक लाग्छ पनि सम्झेँ । थकाई लाग्छ पनि सम्झेँ । उनैले भनेको बालखै छस् पनि सम्झेँ । तल्लाघरका ठुलाकाकाले भनेको मास्टरले कुट्छन् पनि सम्झेँ ।

त्यहाँ केही नबोल्नु पनि खतरा थियो । मैले भनेँ, म त बालखै छुइनँ र ? केको बालख । अब वैशाखमा त सात वर्ष लाग्छस् । मङ्सिर गइसक्यो । म केही बोलिनँ ।

हजुरआमाले पठाउने कुरा गरिन् । कुप्रीआमाले पनि पठाउने कुरा गरिन् । सबैले सल्लाह गरे । माताजीले पनि पठाउने कुरा गरिन् । साँल्दिदी र कान्छी दिदीले पनि पठाउने कुरा गरे ।

निकै बेर छलफल भयो ।
टाढा पठाउननहुने कुरा चल्यो ।

सबैले एकै मुख भएर गाउँकै स्कुलमा हालिदिने कुरा गरे । अरुले होमा हो थपे । गाउँमा मभन्दा साना केटाकेटी स्कुल जान थालेको कुरा पनि गरे । त्यस चर्चाले म पनि जानुपर्छ भनेझैँ लाग्यो ।

मलाई स्कुल पठाउने चर्चा चलेका भोलि पर्सिपल्टतिर । नयाँ लुगा लाएर पिताजीसँग चतुरे बजार गएँ ।

चतुरे बजार निकै टाढा थियो । पिताजीले कतिको हिँड्न सक्तो रहेछ भनेर सँगसँगै हिँडाएर विचार गरेको रहेछ । पिताजीलाई हिँडेर स्कुल पुग्दैन कि भन्ने चिन्ता रहेछ ।

बाबुको मन हो । स्कुल पठाउनुअघि हिँड्न सक्छ कि सक्तैन भन्ने चिन्ता रहेछ ।

पिताजीले मलाई बजार घुमाए । सख्खर, मिठाइ, मिस्री बिस्कुट के के के के किन्दिए । एउटा पसलमा गएर पहिलो किताब ओल्टाइपल्टाइ हेरे । त्यस किताबको दाम कति हो भनेर सोधे । तीन रुपैया त्यसको दाम ।

त्यो किताब पल्टाएर हेर्दै भने, छोराले पढ्ला कि भनेर ।

यही किताबबाट हो मेरो छोरालाई पनि पढाएको । श्रीपञ्चमी आउन लाग्यो भनेर लिएर आएको । आज चार पाँच वटा बिके । लिनुहोस् । सस्तो पनि छ । पसलेले यस्तै के के भन्यो ।

पिताजीले मलाई हेरेर सोधे, किताब किनिदिऊँ बच्चु ? पढ्छस् ?

म केही बोलिनँ ।

मलाई लागेको थियो, मलाई मिठाइ र केके खानेकुरा किन्दा किन्दै पिताजीको पैसा सकियो होला ?

पिताजीले फेरि केही नसोधी पल्टाएको किताब बन्द गरे । अरु कुरा नबोली त्यो किताबका लागि पैसा दिए । नयाँ किताब मलाई हातमा समाउन दिए ।

मेरा नाममा किनिएको पहिलो किताब । किताबको नाम पनि पहिलो किताब । मैले त्यो किताब मख्ख परेर हेरेँ । ओल्टाएँ पल्टाएँ र जतनले समाएँ । त्यस किताबमा केही चित्र थिए । चित्र जस्तै अक्षरहरु थिए । किताबको नाम सुनेर थाहा पाएको थिएँ पहिलो किताब भनेर ।

त्यो किताब पाएर म मख्ख थिएँ । मिठाई र चक्लेट पाए जस्तै खुसी थिएँ । त्यो मेरा लागि पिताजीले किनिदिएको विशेष कुरा थियो । पहिलो शैक्षिक उपहार थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.