डा. रमेश शुभेच्छु नेपाली साहित्य, शिक्षा र साहित्यिक सञ्चार क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावरिधि गरेका छन् । उनी जीवनयापनका लागि प्राध्यापन पेसा अवलम्बन गर्नका साथै नियमित साहित्य सिर्जनामा लागिरहेका छन् । यस हप्तादेखि उनका संस्मरणहरुलाई प्रारम्भखबरको आफ्नो कथा स्तम्भमा प्रस्तुत गरिने छ । पहिलो चरणमा उनको स्कुल जीवनसँग सम्बन्धित सामग्रीहरू हप्तैपिच्छे प्रकाशन गरिने छ । हामीलाई विश्वास छ शुभेच्छुको संस्मरणले नयाँ पुस्ताको शैक्षिक यात्रामा सघाउ पुर्याउने छ । समकालीनलाई रमाइलो स्मृति गराउने छ । आम पाठकलाई अभिप्रेरक भूमिका निर्वाह गर्ने छ । – सम्पादक
बाल्यकालको सम्झना भन्दा मिठो के होला र ?
बाल्यकालीन दैनिकी घरमा बित्छ । त्यो भन्दा फरक अनुभव भएर होला स्कुलको दैनिकीका प्रारम्भिक दिन बढी स्मरणयोग्य हुन्छन् । स्कुल शब्द स्वयम् बाल्यकालसँग मिसिएर आउँछ । जहाँ पुगे पनि, जे गरे पनि नबिर्सने ठाउँ रहेछ स्कुल । सानामा कुनै दिन नजान पाए हुन्थ्यो लाग्थ्यो तर त्यो लगाई पनि स्मरणीय छ । आज मिठो अनुभूति बन्दो रहेछ ।
जहाँ पुगे पनि जन्म घर बिर्सन सकिँदैन । जति पढे पनि क ख पढेको स्कुल बिर्सिइँदैन । सम्झँदा जन्मघर नजिकै स्कुल हुन्छ । मस्तिष्कमा स्कुल र जन्मघर सराबरी ठाउँ बनाएर बस्छन् । तिनले आजको व्यस्तताबाट बाल्यकालमै फर्काउँछन् । उतिकै ताजा सम्झना दिलाउँछन् । आज पनि बाल्यकाल बोलाएर ल्याइदिन्छन् । सानो ठिटो बनाउँछन् । फुर्ती र निर्लोभी बनाउँछन् । निश्छल र निश्पाप बनाउँछन् ।
आज निदाउँदा देखिने सपना आजका हुँदैनन् । तिनमा बाल्यकालका अभिनयका रिल घुम्छन् । सपनाभरि तिनै ठाउँ हुन्छन् । तिनै साथी हुन्छन् । तिनै अभिभावक हुन्छन् । तिनै शिक्षक हुन्छन् । आज निदाउँदा आज भोगेको जीवन देख्न निदाइँदैन । सपनाको संसारमा आफूले प्रारम्भिक शिक्षा लिएको स्कुल हुन्छ । जन्मे हुर्केको घर हुन्छ । ताते सिकेको बाटो हुन्छ । त्यही परिवेशका आफन्त र पराई हुन्छन् । त्यही परिवेश सल्बलाइरहन्छ । त्यहाँका स्मृतिले छोइरहन्छन् । तिनै अनुभवले घेरिरहन्छन् । उहीँ पुगूँ । उसरी नै झुम्राको बल उफारुँ । उसरी नै साथीहरूसँग कुदूँ । सँगसँगै ऊफ्रूँ । यस्तै लागिरहन्छ ।
जुन कोणबाट सम्झिए पनि उस्तै । विस्मृतिशून्य स्मृति । झन् प्रौढ हुँदै गयो झन् ताजा स्मृति । पहिलो स्कुल अनुभव धेरै गहिरो । धेरै स्मरणीय । दुःख भएर पनि रमाइलो । भोक भोकै हिँडेको समय पनि तृप्त । सायद सबैलाई त्यस्तै हुँदो हो ।
जति ठुला ठुला स्कुल देखे पनि । जति राम्रा स्कुलमा पढाउन पुगे पनि । प्यारो भन्नु त्यही स्कुल । आफ्नो भन्नु त्यही पहिलो स्कुल । क ख सिकेको स्कुल । परीक्षा लेखेर पास भएको स्कुल ।
जहाँ पुगेर जुन स्कुलको बोर्ड देखे पनि, प्रष्ट देखिने चित्र उही स्कुलको चित्र । प्रष्ट देखिने आकृति उही स्कुलको आकृति । त्यही टिन लागाएको सोतो कमेरोले पोतेको लामो घर । तिनै काठका झ्याल ढोका । त्यही हप्तामा एक पटक लिप्नु पर्ने कक्षा कोठा । त्यही साथीहरू सबै स्कुल गएका दिन नअटेर उभिएको पल । बेन्चमा बलिया बाङ्गा बसेपछि झ्यालमा बसेर पढ्नु परेको अनुभूति । तिनै कक्षामा देखिने सर बस्ने कुर्सी र टेबलका आकृति । भित्तामा झुन्ड्याएका काला बोर्ड । सरले लिएर आउने सेता चक । यी सबै आँखै अगाडि उभिन्छन् । तिनै साथी सँगसँगै आउछन् । कोही सताइरहेका हुन्छन् । कोही खुसी दिइरहेका हुन्छन् ।
आज साथीहरु सम्झँदा अरुको सम्झना अलि पछाडि आउँछ । पहिला त्यसै स्कुलसँग जोडिएका साथी आउँछन् ।
साथी छिमेकमा पनि थिए । छिमेकमा साथी नभई दाजुभाइ थिए । काका फुपू थिए । साथी थिएनन् । साथी शब्द स्कुलमै सिकियो । स्कुलमै चिनियो ।
शिक्षकहरू सम्झँदा अरुको सम्झना पछाडि आउँछ । सबै शिक्षक त्यसै स्कुलसँग जोडिएर आउँछन् । शिक्षक को हो ? शिक्षक कस्तो हुन्छ ? त्यही स्कुलमा ठोकिएर मात्र बोध हुन्छन् । घरमा पढाउने त हजुरबा र बा मत्रै थिए । काकाबा मात्रै थिए । सर त स्कुलमा मात्र भेटिए । ती महत्वपूर्ण थिए । सुकिलामुकिला थिए । राम्रा थिए । स्कुलसँग जोडिएका सबै पात्र भिन्न छन् । स्कुल जानुपूर्व भेटिए भन्दा फरक । ती अविष्मरणीय छन् । डरलाग्दा पनि छन् । प्रिय पनि छन् । तिनै डरलाग्दाहरु सम्झनामा रहँदा रहेछन् । तिनै प्रियहरु सम्झनलायक हुँदा हरेछन् । प्यारा र हार्दिक बनेर मस्तिष्कमा भरिँँदा रहेछन् । जीवन उर्जा बन्दा रहेछन् ।
त्यो स्कुलको वातावरण सम्झँदा लाग्छ आज बिर्सिदिऊँ । उतै जाऊँ । घन्टी बज्नासाथ आँगनमा निस्किएर खेल्न कुदूँ । अहिले नै दौडिएर पुगौँ । स्कुका आँगनका भित्तामा झर्ने बाँसका धाराको पानी खाऊँ । भोक लागे पनि पानी खाऊँ । तिर्खा लागे पनि पानी खाऊँ । पढ्न अल्छी लागे पनि ‘ सर पानी खान जाऊँ ?’ भनूँ र पानी खाऊँ । एक छिन बाहिर डुलेर आऊँ । आजको अस्तव्यस्त दैनिकीले छोपेपछि बल्ल होस खुल्छ र अरु काममा लागिन्छ ।
मैले कखरा सिकेको स्कुलको नाम सरस्वती नि.मा.वि । पूरा नाम श्री सरस्वती नि.मा.वि ओराङफुङ । यो अहिलेको हिलिहाङ गाउँ पालिका वडानं ५, पाँचथरमा पर्छ । पहिले मैले पढ्दा त्यो सुभाङ गाउँ विकास मिति वडा नं ८ मा पर्थ्यो । त्यो ठाउँलाई ओराङफुङ भन्थे । ओराङफपुङ अझ पुरानो गाउँको नाम हो । सरस्वती स्कुलमा म पढ्दा नि.मा.विसम्म पढाइ हुन्थ्यो । अहिले मा. वि भइसकेको छ । आशा गरुँ भविष्यमा उच्च मा.वि होला । त्यहाँ क्याम्पस पनि खुल्ला । मैले पढ्दा अनुभव गरेको स्कुल भने कक्षा सातसम्म मत्रै थियो । मैले देखेका जान्ने बुझ्ने दाइदिदी त्यस बेलाको कक्षा सातमा पढ्थे । म सबै भन्दा सानो शिशु कक्षामा पढ्थेँ ।
मेरा रोलमोडल तिनै सात पढ्ने दाइदिदी थिए । मेरा रोलमोडल त्यहाँ पढाउने सरहरु थिए । स्कुलमा पाइला टेकेको दिन । स्कुलका आँगनमा पुग्दाको अनुभव । स्कुलको आकृति देख्दाको बोध । सबै सबै राम्ररी सम्झना छ । मैले पहिलो पाइला पिताजी (बुबा) को हात समाएर टेकेको थिएँ । म र मेरा साना बाहुनदाजु (काशी) सँगसँगै विद्यार्थी बनेर पुगेका थियौँ ।

