– सिङ्ग लामा
रुपा सुनार प्रकरणसँगै अचेल जातीय विभेदको विवाद उत्कर्षमा पुग्दै गर्दा विषयवस्तुको अन्तर्यमा चिन्तन, मनन र खोज हुनु जरुरी छ । भारतवर्षमा मनुस्मृतीमा उल्लेखित वर्ण र जाति व्यवस्थाको युगौंयुगसम्मको निरन्तरता, नेपालमा “समाज सुधार”को आवरणमा जयस्थिती मल्लद्वारा भएको विभेदको राज्यस्तरीय प्रमाणीकरण र मल्ल, शाह, राणा र पञ्चायत हुँदै हालसम्म पनि विद्यमान सामन्ती आर्थिक, समाजिक, साँस्कृतिक र धार्मिक अभ्यासबाट सिर्जित विभेद र त्यसमा पिल्सिएका जाति र वर्गको कथा, व्यथा र कारुणिक यथार्थको चित्रण शब्दमा गर्न मुश्किल छ ।
विभेदको विवादले नेपाली समाज फेरी एकचोटी विभाजित भएर सामाजिक सदभाव खल्बलिन जाने एकथरी प्रबुद्ध वर्गको चिन्ता छ भने उत्पीडित पक्षधरहरु विभेदसहितको सदभावको अन्त्य भएर समतामूलक समाजको निर्माण हुनुपर्नेमा दिक्षित र दृढ देखिन्छन् । कतै आफू ठूला जातीय भएको घमण्ड पनि पोखिएका छन् भने कतै क्रान्ति र प्रतिक्रान्तिको आक्रोश पनि छछल्किएको छ ।
जातीय व्यवस्थाको कुरा गर्दा हामीले चेतनाको चर्चा गर्नैपर्ने हुन्छ । सिङ्गो मानव सभ्यताको इतिहासमा गौतम बुद्ध एकमात्र यस्ता चैतन्यमूर्ती हुन् जस्ले ठोस आधार र उपाय सहित धर्म, ईश्वर वा भगवानको अस्तित्व र धर्मग्रन्थहरुको सत्यता र सान्दर्भिकता एवं जातीय व्यवस्थाको औचित्यको विषयमा प्रश्न उठाए । आफ्नो ज्ञान, ध्यान, तपश्या र साधनाले एक मानव कसरी भगवान वा बुद्ध बन्न सक्छ भन्ने समेत प्रमाणित गरेका उनले अध्यात्म, धर्म र ईश्वरको अस्तित्वलाई चुनौती दिंदै सम्पूर्ण मानव जातिको लागि भगवत्ताको मार्गबाट मोक्ष र बुद्धत्वको बाटो खोल्न सफल भए ।
विचारक एचजी वेल्सको भाषामा उनी “पूर्णतया भगवानतुल्य तर पूर्णतया भगवानशुन्य व्यक्तित्व अर्थात So Godly but so Godless Personality थिए जसको उर्जा, वाणी र ज्ञान त भगवानतुल्य थियो तर कहिल्यै भगवानको चर्चा र महिमा गान गरेनन्, बरु उल्टै तिनको अस्तित्व माथि प्रश्न गरे र गर्न सिकाए । बुद्धको बाटो सन्देह र जिज्ञाशाबाट सुरु हुने खोज, अनुभव र बोधको बाटो हो । यस अर्थमा उनी धर्म र अध्यात्मका पहिला तथा सम्भवतः एक्ला बैज्ञानिक हुन् । उनको समयमा पनि जातीय विभेद, अन्धविश्वास, रुढिवादी सोच र शोषणमा आधारित सामन्ती अर्थव्यवस्था उत्कर्षमा थियो । तसर्थ उनको बुद्ध दर्शनमा त्यस सम्बन्धी ज्ञान पनि संग्रहित छ ।
हाम्रो समाजमा हिन्दु वर्णाश्रम अनुसार सबैभन्दा उच्च जातको रुपमा स्थापित ब्राह्मण भएकोले सबै विभेदको स्रोत र जननी नै ब्राह्मण हो भनेर चित्रित गर्ने र त्यही अनुसार बुझ्ने गरेको पाईन्छ । ब्राह्मणहरुले आफूहरु बढी मेहनेती, अध्ययनशील र जागरुक भएकाले सफल भएको भन्दै अन्य जातीका संस्कार र परम्परामाथि कटाक्ष गर्दै आएको पनि देखिन्छ । अधिकांशले समान वा समतामूलक अवसर प्राप्त भए जुनसुकै जातीका व्यक्तिहरु सफल हुनसक्ने उदाहरण प्रस्तुत गर्दै विभेदको पूर्णतया अन्त गरी समतामूलक समाजको निर्माण हुनुपर्ने धारणा राख्छन् । यस प्रसंगमा महाबोधी गौतम बुद्धको विचार हामी सबैका लागि मार्गदर्शक हुनसक्छ ।
बुद्धका असली वाणीहरु संग्रहित धम्मपदको अन्तिम भाग २६ “ब्राह्मणवग्गो”मा को वा कस्ता मान्छे ब्राह्मण हुन् भन्ने वुद्धवाणीहरु संग्रहित छन् जसमा बुद्धले असली ब्राह्मण को पूर्ण परिभाषा दिएका छन् । के हाम्रो समाजका ब्राह्मणहरु बुद्धले परिभाषित गरे जस्तै छन्? ब्राह्मण हरु कस्तो हुनुपर्छ? के जो कोही ब्राह्मण बन्न सक्छ? कस्ता मनुष्यलाई बुद्धले ब्राह्मण को उपमा दिए? यी सबै प्रश्नहरुको जवाफका लागि धम्मपदका केही श्लोकहरु यहाँ चर्चा गर्न सान्दर्भिक छः
न जटाहि न गोत्तेन, न जच्चा होति ब्राह्मणो
यम्हि सच्चञ्च धम्मो च, सो सुची सो च ब्राह्मणो.
अर्थः न त टुप्पी, दाह्री वा कपाल, न गोत्रले, न जन्मले कोही ब्राह्मण हुन सक्छ ।
जो सँग सत्य र धम्म छ, उ नै पवित्र र ब्राह्मण हो ।
हाम्रो वास्तविकताः धेरै पहिले, सार्वजनिक सवारीमा हालका एकजना बैंकर साथीसँग कतै जाँदै गर्दा एक व्यक्ति पाण्डीत्य भेषमा लामो टुप्पीका साथ बस चढेको स्मरण छ । उनलाई हामीले यति धेरै लामो टुप्पी पाल्नुका कारण र त्यसको शास्त्रीय अर्थ बताउन अनुरोध गर्यौं तर जवाफमा उनले हिन्दु धर्म संकटमा पर्न थालेको भन्दै सबै हिन्दुले मुस्लिमले पाल्ने दाह्री भन्दा लामो टुप्पी पाल्न आवश्यक भएको तर्क मात्र तेस्र्याउँदा हामी अचम्मित भएका थियौं । नेपाली समाजमा जन्म र गोत्र नै मात्र ब्राह्मण हुनुको निर्विकल्प आधार हुने गरेको त छँदैछ ।
किं ते जटाहि दुम्मेध, किं ते अजिनसाटिया
अब्भन्तरं ते गहनं, बाहिरं परिमज्जसि.
अर्थः तिम्रो कपालले के हुन्छ? मृग छाला लगाएर तिमीलाई के फाइदा हुन्छ? भित्र त तिम्रो चित्त गहन मैलाले भरिएको छ, बाहिरबाट शरीर धोएर र माडेर के हुन्छ?
हाम्रो वास्तविकताः यहाँ त जनै लगाउनु, टुप्पी पाल्नु, दिनदिनै नुहाउनु र कर्मकाण्डी पूजापाठ गर्नु नै मात्र ब्राह्मण हुनुको परिचायक भएको यथार्थ छ । अन्य धर्मका ज्ञानी र धर्मगुरुहरुको परिचय पनि यस्तै यस्तै कुराहरुले निर्धारित हुने हो, शैली मात्र फरक देखिन्छ ।
न चाहें ब्राह्मणं ब्रूमि, योनिजं मत्त्तिसम्भवं
भोवादि नाम सो होति, सचे होति सकिञ्चनो
अकिञ्चनं अनादानं, तमहं ब्रूमि ब्राह्मणं.
अर्थः यदि ऊ आसक्तियुक्त छ, भो वादी छ भने ब्राह्मण आमाको कोखबाट जन्मेको भएपनि म उसलाई ब्राह्मण भन्दिन । जो अपरिग्रही र अनासक्त छ, उसलाई म ब्राह्मण भन्छु । हाम्रो वास्तविकताः यहाँ केवल जन्मको जात र कोखको कारणबाट मात्रै ब्राह्मण सिद्ध हुने गरेको छ । अपरिग्रही र अनासक्त हुनुको नाता ब्राह्मण हुनुसँग भएको देखिंदैन ।
अक्कोसं वधबन्धञ्च, अदुट्ठो यो तितिक्खति
खन्तीबलं बलानीकं, तमहं ब्रूमि ब्राह्मणं.
अर्थः जो चित्तलाई प्रदुषित नगरी गाली, वध वा दण्ड र बन्धन वा कारावास सबै सहन्छ, क्षमाबल नै जसको सेना हो, म उसलाई ब्राह्मण भन्छु । हाम्रो वास्तविकताः अचेल शब्दकोषका सबै दुर्वचनहरु प्रयोग गर्ने क्षुद्रताका शिल्पीहरु आफूलाई ब्राह्मण भएको घोषणा गर्छन्, दिनकै धेरै चोटी, खुल्लम खुल्ला, सामाजिक संजालहरुमा । अनि तिनलाई जवाफ फर्काएर र थर्काएर नथाक्ने “मुक्तीकामी”हरु पनि असली ब्राह्मणको छेउछाउसम्म पनि नपुग्ने देखिन्छ ।
वारि पोक्खरपत्तेव, आरग्गेरिव सासपो
यो न लिम्पति कामेसु, तमहं ब्रूमि ब्राह्मणं.
अर्थः जसमा कमलको पातमा अडिने पानीको थोपा र सियोको टुप्पोमा अडिने सस्र्यूँको दाना जत्रो पनि कामभोगको लालसा छैन, म उसलाई ब्राह्मण भन्छु । हाम्रो वास्तविकताः यहाँ त असंख्य बाबा, स्वामी, पण्डित, पादरी, गुरु र तिनका आश्रम, चर्च तथा गुम्बाहरु यौन दुराचारका कारण बदनाम छन्, संसारै भरी । त्यसो भए ब्राह्मण कहाँ छ?
पुब्बेनिवासं यो वेदि, सग्गापायञ्च पस्सति,
अथो जातिक्खयं पत्तो, अभिञ्ञावोसितो मुनि
सब्बवोसितवोसानं, तमहं ब्रूमि ब्राह्मणं.
अर्थः जो पूर्व जन्म जान्दछ, जसले स्वर्ग र नर्कलाई देखिसकेको छ, जसको पूनर्जन्म क्षीण भैसकेको छ, जसको प्रज्ञा पूर्ण भैसकेको छ, जसले सबैथोक पूरा गरिसकेको छ, उसलाई म ब्राह्मण भन्छु । हाम्रो वास्तविकताः धर्ममा त्रिकालदर्शीको परिकल्पना छ तर अचेल असली द्रष्टा भेटिन्नन् । स्वर्ग र नर्कको विविध कल्पना छ तर त्यसको पनि द्रष्टा छैनन्, अनुमान छ । पूनर्जन्म क्षीण हुने र गर्ने यात्रामा त धर्मगुरुहरु नै छैनन् किनकी हरेक धर्ममा पाप र धर्म तथा स्वर्ग र नर्कको डर देखाएर एक प्रकारको शोषण गर्ने परम्परा देखिन्छ । स्वर्ग–नर्क भन्दा पर जन्म–मृत्यु–पूनर्जन्मको कर्मिय चक्रबाट मुक्त चैतन्यको एक स्थिर अवस्था रहन्छ भन्ने पनि जान्दैनन् वा बताउन चाहँदैनन् । अनि, उनीहरुलाई कसरी ब्राह्मण मान्ने?
त्यसैले, महाबोधी बुद्धको परिभाषाबाट हेर्ने र खोज्ने हो भने यहाँ एक जना पनि ब्राह्मण भेट्टाउन मुश्किल छ । ब्राह्मण एक जात, सम्प्रदाय, धर्मावलम्बी वा प्रचारक हुँदै हैन । ब्राह्मण त एउटा चेतना र बोधको नाम हो, मोक्षको नाम हो । यस्ता ब्राह्मण भेटिनु सौभाग्य हो, आफैं बन्नु त झन अहोभाग्य हो । यस्ता ब्राह्मणको ओझ र प्रकाशप्रति कसैले दुराशय र संशय राख्न समेत सक्दैनन् । तर दुर्भाग्य, छैनन् ।
हामीले भन्नै पर्छ, कि त बुद्ध गलत थिए, कि मानव सभ्यताले लिएको बाटो गलत छ । तर बुद्ध गलत हुने कुरै भएन किनकी बुद्ध कुनै व्यक्ती हैन, परम चैतन्य र भगवत्ताको नाम हो । त्यसैले जातीय विभेदको समाधान ब्राह्मण वा ब्राह्मणवादको विरोध गरेर मात्र नआउने निश्चित छ किनकी यहाँ त अधिकांश ब्राह्मणहरु नै असली ब्राह्मण हैनन् । आफूलाई ब्राह्मणको परिचय दिएर त्यसको प्रतिरक्षामा उत्रणुको पनि केहीे तुक देखिंदैन । बरु सबैले बुद्धको अर्थमा असली ब्राह्मण हुने यात्रा तय गर्नु चाहिँ बुद्धिमानी हो की?
(लेखक लामा एक शिक्षाकर्मी हुन् ।)

