असार २०, काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक, २०७८ पारित भएको छ । राष्ट्रिय सभा गृहमा आइतबार बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक, प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो ।
महामारीले उद्योग र वाणिज्य क्षेत्र तथा सामान्य जनजीवनमा पारेको प्रभावलाई विश्लेषण गरेर कम्तीमा २० प्रतिशतदेखि बढीमा ९० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ । बैठकका अध्यक्ष एवम् महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘‘महामारीको पीडा भोगिरहेको आर्थिक क्षेत्रको उठ्न सक्ने बनाउन राजस्वका दर यथावत गरेर दायरा बढाउने नीतिअनुरूपमा हामीले निर्णय गरेका छौँ ।” यस अघि असार ३ गते सभामा पेस भएको आ। व। ०७८÷०७९ को बार्षिक नीति तथा कार्यक्रम छलफलपछि असार ६ गते बसेको तेस्रो बैठकले पारित गरेको थियो ।
असार १० गतेको चौथो सभामा आ. व. २०७८÷०७९ का महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ‘काठमाडौं महानगरपालिका आर्थिक विधेयक, २०७८’ प्रस्ताव गरेका थिए । त्यही बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आ. व. ०७८÷०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ बजेट र विनियोजन विधेयक ०७८ पेश गरेकी थिइन् । आ. व. ०७८÷०७९ का लागि आन्तरिक आयतर्फ ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँको लक्ष्य राखिएको छ । आज भएको आर्थिक विधेयकमाथिको छलफलमा नगर सभा सदस्यहरु मचाराजा महर्जन, आनन्द गौत्तम, जीवन डंगोल, कृष्णमणि भट्टराई, नरेशमान महर्जन र आशा श्रेष्ठ रौनियारले धारणा राखेका थिए ।
आजको बैठकमा लेखा समितिका संयोजक ध्रुवप्रसाद त्रिपाठीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । छलफलपछि सभाले प्रतिवेदन पारित गरेको छ । नगर सभाको छैटौँ बैठक असार २५ गते बस्नेछ । त्यस बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

