साउन २९, काठमाडौं । १८ औं संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपालले आज जापानसँग प्रतिस्पर्धा गर्दैछ ।
एसियन गेम्सको उद्घाट्न अघि नै सुरु भएको पुरुष फुटबलमा नेपालले बलियो प्रतिद्वन्द्वी जापानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाल र जापानबीचको खेल स्थानीय समयअनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । जापानलाई रोक्दै नेपाल अंक खोस्ने लक्ष्यमा रहेको छ । तर नेपाललाई त्यति सजिलो भने छैन । किनभने जापानसँग उच्च स्तरको र विश्वकपको अनुभवसमेत बटुलेका खेलाडी छन् । यसअघि भएको खेलमा पनि नेपाल जापानसँग पराजित हुँदै आएको छ । सन् १९८६, १९९२ र २०१४ मा नेपाल र जापानबीच एसियन गेम्समा भेट भएको छ । जुन तीनै खेलमा नेपाल जापानसँग पराजय भइसकेको छ ।
एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको समूह डि मा नेपालसहित जापान, भियतनाम र पाकिस्तानसँग रहेका छन् । दोस्रो खेलमा भियतनामसँग अगष्ट १६ मा खेल्ने नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग अगष्ट १९ मा खेल्दैछ । नेपाली फुटबल टिम थाइल्यान्डमा १० दिनको बैदेशिक भ्रमण सकेर त्यहीबाट इन्डोनेसिया प्रस्थान गरेको थियो ।