रबिराज रिमाल
साउन २९, काठमाडौं । नेपाल वैज्ञानिक क्रियाकलाप तथा अनुसन्धान केन्द्र, द सेलिब्रेसन—को एड् विद्यालय र विज्ञान शिक्षक समाज, नेपालको सहकार्यमा १०औं राष्ट्रिय वाटर रकेट–२०१८ सम्पन्न भएको छ ।
विद्यार्थीहरुले बनाएको वाटर रकेट उडान कार्यक्रमका प्रमुख अतिथी कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बालबालिकाको शैक्षिक विकासमा वाटर रकेट प्रतियोगीता जस्ता कार्यक्रम प्रेरणादायि रहनेमा जोड दिनुहुँदै व्यवहारिक र प्रयोगात्मक शिक्षाको विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो । विशेष अतिथी तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले शैक्षिक विकासका लागि सरोकारवालाहरुको बीचमा समन्वय गर्दै गोकर्णेश्वर नगरपालिका अगाडि बढ्ने बताउनु हुँदै शैक्षिक विकासलाई प्राथमिकतामा राखेको बताउनु भयो । कार्यक्रमको अध्यक्षता द सेलिब्रशन—को एड् विद्यालयका संस्थापक प्रिन्सिपल महेन्द्र प्रसाद भट्टराईले गर्नु भएको थियो ।
नेपाल वैज्ञानिक क्रियाकलाप तथा अनुसन्धान केन्दका अध्यक्ष कृष्णराज अधिकारीले वाटर रकेट के हो ? कसरी उड्छ ? न्युटनको तेस्रो सिद्धान्त तथा रकेटमा कति चाप दिने र कति पानी हाल्ने ? विषयमा जानकारी दिनु भएको थियो । विज्ञान शिक्षक समाज, नेपालका अध्यक्ष सुरेस भट्टराईले शुभकामना मन्तब्य दिनुभयो । वाटर रकेट प्रतियोगीतामा रजिस्टर भएका ८९ विद्यालयहरु मध्ये ७० वटा देशभरका विद्यालयबाट सहभागि विद्यार्थीहरुले रकेट उडाएका थिए ।
गत शनिबार द सेलिब्रेसन—को एड् विद्यालयको प्रांगणमा आयोजित रकेट उडान कार्यक्रममा सहभागि सत्तरी विद्यालयहरु मध्ये टप १० विद्यालयहरु छानिएको थियो । टप १० विद्यालयहरुमा दशौं स्थानमा पुष्पान्जली र मनकामना मा।वि, नवौं स्थानमा कालिका सेकेण्डरी, आठौं स्थानमा सेन्ट जेभियर जावलाखेल, सातौं स्थानमा नव ज्योति स्कुल, छैटौं स्थानमा प्रभात मा।वि, पाँचौं स्थानमा अक्षरा स्कुल, चौंथो स्थानमा लिटिल स्टार, तेस्रो स्थानमा आदर्श सेकेण्डरी स्कुल, दोस्रो स्थानमा द सेलिब्रेसन को एड् स्कुल र पहिलो स्थानमा व्रेन हर्ट स्कुल पर्न सफल भए ।
प्रतियोगिता पछि सहभागि विद्यार्थीहरु र विज्ञान शिक्षकलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा उत्कृष्ठ विद्यार्थीहरुले नोभेम्बर २ मा सिंगापुरमा हुने वाटर रकेट प्रतियोगितामा सहभागिता हुन पाउने छन् ।