साउन २५, काठमाडौं । वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको निधन भएको छ । फेरिएको मृर्गौलाले काम नगरेपछि लामो समय देखि डायलसिस गर्दै आएका दाहाल बुधबार बिहान घरमै लडेपछि गम्भीर बिरामी भएका थिए ।
बुधबार नियमित डाइलसिसका लागि ट्याक्सी चढेर राष्ट्रिय मृर्गौलारोग उपचार केन्द्रमा पुगेका दाहाललाई त्यहाँ समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको इमर्जेन्सिमा भर्ना गरिएको थियो । न्यूरो अस्पतालको आइसियुमा राखेर दुई दिन उपचार गरिएपछि शुक्रबार उनलाई सुमेरु अस्पताल रिफर गरिएको थियो। शुक्रबार साँझ दाहालको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको उनका ज्वाइँ दिलिप भट्टराईले जानकारी दिए ।
सञ्चारकर्मी दाहाल नेपाली रेडियो उद्घोषणमा प्रिय मानिन्थे । रेडियो नेपाल र एचबिसी एफएममा लामो समय बिताएका दाहाल पछिल्ला दिनमा रेडियो अन्नपूर्णमा कार्यरत थिए । ६५ वर्षीय दाहाल साहित्य र यस सँग सम्बन्धित कार्यक्रमका लागि सबैका प्रिय व्यक्ति थिए ।
प्रसिद्ध रेडियोकर्मी दाहाल लामो समय देखि मृगौलाको रोगबाट पीडित थिए । वि.सं. २०१० मा खोटाङमा जन्मिएका दाहालले रेडियो नेपालमा चलाएको साहित्यिक कार्यक्रम ‘साहित्य संसार’ श्रोता माझ लोकप्रिय कार्यक्रमको रुपमा रहेको थियो ।