‘नेता पत्रकारलाई भ्याईनभ्याई’

राजनितिक पार्टीको सपथ खाँदै निश्पक्ष र व्यवसायिक पत्रकारिता गर्छु भन्न सुहाउदैन र निश्पक्ष हुन पनि सक्दैनन् ।

ज्ञानकाजी तामाङ
यतिखेर नेपाली पत्रकारिता क्षेत्रको नेता पत्रकारहरुलाई भ्याई नभ्याई छ । बिहान उठेदेखि बेलुका अबेर रातिसम्म पनि क–कसलाई आफ्नो गुटमा सामेल गर्ने, कसरी सामेल गर्ने भनेर फकाउनका लागि खुरापाति दिमाग प्रयोग गरेर रणनीति बनाई रहेको छ । लाखांै खर्च गरेर पाँचतारे होटलमा चियापान कार्यक्रम भनेर भेला आयोजना गरिरहेका छन् । यो व्यस्तता र तडक भडक न त नेपाली पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने न त कुनै श्रमजीवि पत्रकारहरुको समस्या निर्मूल पार्न केवल श्रमजीवि पत्रकारहरुको हकहितको नाममा स्थापित नेपाल पत्रकार महासँघको आउदै गरेको चुनावको लागि गरिएको नेता पत्रकारहरुको गतिविधी हो ।

नेता पत्रकारहरु यसरी चुनावी नारा घन्काई रहँदा सञ्चार माध्यममा वास्तविक श्रमजीवि गरिरहेका पत्रकारहरु भने यो महिना पनि तलब नपाउने पो हो कि ? तलब नदिए कसरी कोठा भाडा तिर्ने ?, कसरी दैनिक व्यवहार चलाउने ? कसरी सहुलाई खुसि बनाउने ?, कस्तो खालको समचार बनाउँदा साहु खुसि बन्लान् ?, मरिमरि दुःख गरेर बनाएको कन्टेन साहुले प्रसारणको बेला रोक्ने पो हो कि ?, समाचार बनाएर कतैबाट धम्कि आउने पो हो की ?, मिडिया त खोल्यो अब तलब कसरी टिकाउने जस्ता समस्याहरु सँग लडिरहेको छन् । उनिहरुलाई न त चुनावले छोएको छ न त छुने चाहान नै देखिन्छ । कारण हो संकटको बेलामा महासंघले सहयोग नगर्नु ।

कोरोना भाईरसका कारण असामान्य परिस्थितिको कारणले थुप्रै असल पत्रकारहरु यो पेसाबाट पलायन हुन पुगेका छन् । सञ्चालकले लामो समयसम्मा तलव नदिने, दिएपनि आधा भन्दा कम कटौति गरेर दिने, जसले सामान्य पकेट खर्च समेत धान्न नसेकेपछि पलायन हुनुको विकल्प खोजिमा छन् । पत्रकारहरुको यो समस्याको लागि न त महासंघले श्रमजीवि पत्रकारहरुलाई कुने राहतको कार्यक्रम ल्याउने काम गरे न त सरकारलाई पहल गर्ने काम नै गरे । पत्रकारहरु पेसागत सुरक्षा र श्रमजिवि अधिकारको कुरा गरेर चुनावको बेला कहिल्यै थाक्दैनन् तर जब कुनै पत्रकारले लामो समय देखि तलव नपाएको कुरा सुनाउछन्, जव कुनै संञ्चार गृहले सिन्डिकेड लगाएर मरिमरि तयार पारेको समचार प्रसारण गर्ने बेलामा रोक्यो भनेर सुनाउछन वा कुनै सञ्चार गृहले श्रमजीवि पत्रकारलाई विनाकारण कामबाट निकालिएको गुनासा सुनाउँछन त्यतिबेला महासंघका नेता त्यो त तिम्रो व्यक्तिगत समस्या हो भनेर पन्छिने गरेको देखिन्छ । उहि नेता पत्रकारहरु भने कुनै पार्टि वा नेता विषेशको समाचार बढाइचढाई प्रसारण गरेर आफुले पत्रकारिता जगतमा कायपलट गरेको महसुस गर्छन् र ति नै नेतालाई आग्रह गरेर नियुक्ति र पुरुस्कार पाउन आफुलाई योग्य ठान्छन् ।

कुनै पत्रकारलाई कुशल सम्पादक वा रिर्पाेटर बन्न जति गाह्रो छ नेताको सिँढी चडेर दवावमा नियुक्ति र पुरस्कार पाउन त्याति कठिन छैन । सायद त्यसैले होलान् धेरैजसो पत्रकार कुनै न कुनै नेता वा पार्टिमा आवद्ध हुन चाहन्छन् । नेपालमा हरेक नेताको सल्लाहकार पत्रकार राखेको परिपाटी छ । हामीले पढ्ने बेलामा पत्रकारको भुमिका समाजमा चौकिदारको जस्तै हुनुपर्छ भन्थे तर अहिले नेताको चौकिदार गर्छन् र तीनिहरु नै पुरस्कृत हुन्छन् ।

पत्रकारको रुपमा आफुलाई सक्षम र अगाडी बढाउनको लागि गरिने मेहनत भन्दा राजनीतिक दलको नेता र कुनै राजनीतिक दलको चाकडी गर्नुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ । यतिखेर अधिकांश पत्रकारहरु गोजीमा पार्टी सदस्यता र अर्काे हातमा प्रेस कार्ड बोकेर, राजनितिक दल तथा नेताबाट चयन भएका नेता पत्रकार महासंघको निर्वाचनमा होमिएका छन् । समाचारको हरेक हरफहरुमा राजनीतिक दलको गुट र उपगुटको परिभाषा दिएर गुटगत प्रकिृया ठिक छैन भन्ने निष्कर्षमा पुगेका पत्रकारहरु समेत यतिखेर करिब १ दर्जन भन्दा बढि गुट बनाएर चुनावमा लागिरहेका छन् ।

केहि थान पत्रकार साथिहरु महासघंको नेतृत्वमा राम्रो नेतृत्व पु¥याउनु पर्छ भनेर लागि परेका छन् । तर उनिहरुको योजना कार्यान्वान हुने वाला छैन । कारण हो राजनीतिक प्रभाव र गुटगत गतिविधि । बिगतको तुलनामा यसपटक दलिय सिन्डिेकट विरुद्धको आवाज केही बढी चर्चामा छ तर यो आवाजले चुनाबी नतिजामै के कति असर गर्लान त्यो हेर्न बाकिँ छ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चुन्ने यो अवसर यसका लागि उपयुतm हुन सक्छ । महासघंको चुनाव चैत २५ गते नयाँ नेतृत्वको लागि हुँदै छ ।

पेसागत मर्यादा यसरी भद्रगोल भईरहदाँ महासघंको नेतृत्व लिने होडमा लागेका नेता पत्रकारहरुको मुद्धा के हुन ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्र, सुचनाको हक, श्रमजीवी अधिकारहरुको सुनिश्चितता, व्यावसायिक पत्रकारिता, लोकतन्त्र आदि केहि सानातिना मुद्धा बाहेक नेतृत्वका आकांक्षीसँग पत्रकारिता उत्थानको कुनचाँहि नविन सोच छ ? यि बिगत लामो समयदेखि सुन्दै आईरहेको बासी कुरा बाहेक नयाँ के भनिरहेका छन त् ? यतिबेला छलफलको बिषय बन्नुपर्छ । यी सबै समस्याहरुलाई पार लगाउन सक्ने कुशल व्यक्तित्व भएका व्यक्ति नेतृत्वमा पुग्नु आवश्य भईसकेको छ ।

नेपाली पत्रकारिता क्षेत्रको वर्तमान समस्याहरु
नेपाली सञ्चार क्षेत्रमा व्यवसायिक सञ्चार क्षेत्रको बजार संकुचित हुदै जानु, श्रमजीवी पत्रकारहरुको दैनिकी समेत धान्न नसक्ने खालको वेतन हुनु, आपारदर्शी लगानीको ओईरो लागेर मिडियाको संख्या बढ्नु तर मिडिया कन्टेन्टको गुणस्तर र विश्वासनियता चाहिँ घट्दै जानु, प्रोपागाण्डा बढ्नु मुख्य चुनौतिहरु हुन । यस्तो खालको समस्यालाई समाधान गर्नको लागि महासंघले न त बिगतमा कुनै योजना ल्याएको देखिन्छ न त अहिलेको नेतृत्वमा आउन चाहने नेता पत्रकारहरुले नै कुनै योजनाको बारेमा मुख खोलेको देखिन्छन् । देखिन्छन त खालि राजनितिक पार्टीहरुकै सिको गर्दै, नेतृत्व हत्याउने दाउ र स्वार्थ समुहबीचको गठबन्धन । बेलाबखत जस्तै यो पाली पनि पत्रकारितामा दलिय सिन्डिकेट विरुद्धको आवाज उठेको छ यसलाई बृहत रुपमा अध्ययन र अनुसन्धान गरि थप विमर्ष गर्दै नितिको रुपमा पारित गर्न सक्नुपर्छ ।

नेपाली मिडियाको सबैभन्दा ठुलो कमजोरी भनेको प्रोपोगान्डा र पत्रकारिता बिच फरक छुट्याउन नसक्नु हो । राजनितिक दल र पार्टीको प्रोपोगान्डा पनि पत्रकारितामै गणन हुन्छ जवकि यि दुई बिचमा आकाश पातलको फरक छन् । यि फरकलाई साँध सिमान बनाउन अब ढिला गर्नू हुन्न । आम नगारिकमा पनि मिडिया लिट्ट्रेसि बुझाउन जरुरत छ । कुन समाचार हो र कुन प्रोपगान्ड हो छुट्याउन आवश्यक छ । पत्रकार महासंघलाई कस्ता सञ्चारकर्मीको संस्था बनाउने ? नेतृत्वका आकांक्षीसामु अर्काे अवसर पनि छ । के ती सबै पत्रकार हुन, जो नेपाल पत्रकार महासंघको सदश्य छन् ? के ति सबै पत्रकार हुन, जसले सुचना विभागबाट प्रेस कार्ड प्रप्त गरेका छन् ? के ती पत्रकार होईनन्, जो संग प्रेस कार्ड त छैनन् तर नियमित सञ्चारकर्म गरिरहेकाछन्? यतिबेला महासंघलाई यी गम्भीर प्रश्नमाथि घोत्लिन सक्ने नेतृत्वको खाँचो छ ।

राजनितिक पार्टीको सपथ खाँदै निश्पक्ष र व्यवसायिक पत्रकारिता गर्छु भन्न सुहाउदैन र निश्पक्ष हुन पनि सक्दैनन् । पत्रकारले कुनै दलमा आबद्ध हुनुहुदैन भन्ने पनि होईन तर तिनले छाति पिटेर फलानो पार्टीको वकालत गर्छु, पत्रकारिता हैन भन्न सक्नुपर्छ । व्यवसायिक पत्रकारिता र मर्याादाको कुरा गर्ने अनि पार्टी र नेता विषेशको पिछा लाग्ने कार्य पत्रकारिता हुन सक्दैन । त्यो निश्चित समुहको आग्रह र स्वार्थको लागि गरिने प्रोपोगान्डा मात्रै हुन्छ । यहि फरक छुट्याउनु आवश्यक छ ।

गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा, आपारदर्शिता, विधि मिच्ने पवृत्ति आदि कारणले राजनीति दुषित हुदै गएको छ । ठीक त्यस्तै चरित्र पत्रकारहरुमा पनि छ । बिट रिपोर्टर देखि वरिष्ठ पत्रकार सम्मले पाईला पाइलमा आ–आफ्नै खाले सिन्डिकेट चलाईरहेकोे छन् । दलिय प्रभाव र आबद्धता रहेको पत्रकारको त कुरै छोडांै, व्यवसायिक भनिएका कतिपय नाम चलेका मिडियाहरु पनि सिन्डिकेट मुक्त छैनन् । यो विषयमा पनि हरेक पत्रकारहरुले सोच्ने बेला आएको छ ।
शुद्धीकरण पत्रकारिताले खोजेको छ, त्यसप्रति हामी किन गम्भीर छैनौ ? महासंघको चुनाव आफु लाई व्यावसायिक पत्रकार भन्नेहरुको लागि परिक्षाको घडि भएर आएको छ । यति धेरै देखाएपछि प्रश्न उठ्न सक्छ , के शुद्धीकरणको खाँचो पत्रकारिता र राजनीतिमा मात्रै छ त? अरु व्यावसाय समस्या र दोषरहित छन ? विल्कुल हैन समस्या समाजको हरेक तह र तप्कमा छ र समाजको हरेक क्षेत्र शुद्धीकरणको पर्खाईमा छन । तर पत्रकारिता अरु क्षेत्रको तुलनामा केहि बढि दयित्व र संवेदनशील छ ।
हामी कसैको नाम बोकेर हैन व्यबसायिक नाम र कर्म बोकेर हिड्न सक्नुपर्छ । अन्तमा पत्रकारितामा शुद्धीकरण आवश्यक छ र यसको थलानी मुख्यता दुई कुरामा ध्यान दिनै पर्छ । पहिलो हो पत्रकारितामा दलिय प्रोपगान्डाले स्थान पाउनु हुदैन र दोस्रो पत्रकार अनेकखाले परिचायबाट मुक्त हुनुपर्छ र व्यवसायिक परिचाय र महत्व बनाउनु पर्छ । यी कुरामा परिवर्तन ल्याउन सकेन भने आगामी पुस्तामा पनि पत्रकारिताको मर्यादा र प्रतिष्ठमा आँच आउने गर्दछ । आगामी निर्वाचनबाट वर्तमान कमि कमजोरिलाई शुद्धीकरण गर्नसक्ने खालको नेतृत्व छनोट गर्न सकुन शुभकामना ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.