आजका महिलाका नविनतम चुनौतीहरू

समयको रूपान्तरण र आधुनिक प्रविधिको विकाससंगै आजका मानव जातिको जीवनशैली र तौर तरिकाहरुमा सिलसिलेवार रुपमा परिवर्तनहरु आएका छन्। आर्थिक, सामाजिक, राजनितिक र पर्यावरणीय परिवर्तनको प्रत्यक्ष मानव जीवनको समष्टिगत पक्षमा परिरहेको छ। मानिसको चिन्तन शैली र सांस्कृतिक मुल्यमान्यताहरुमा पनि निरन्तर रुपमा परिमार्जनहरु देखा पर्न थालेको छ। यही रुपान्तरणको फलस्वरुप लैंगिक भूमिकाहरुमा पनि ठुलो फेरबदल देखिएको छ।हाम्रा आमा ,हजुरआमाहरको जीवन जिउने तौर तरिका र प्राथामिकताहरु संस्कार शैली र हामीहरुको जीवन जिउने शैलीहरुमा उल्लेखनीय अन्तर देख्न र महसुस गर्न सकिन्छ ।

सर्वप्रथम हामी महिलाको आर्थिक भूमिकाहरुको चर्चा गरौं आज भन्दा तीन दशक आर्थिक रुपमा महिलाको भूमिका प्राय निस्कृय सरह थियो अधिकांश महिलाहरु कृषि तथा पशुपालन जस्तो परम्परागत पेशामा आबद्द थिए । घरधन्दा र चुलो चौकाको चौघेरा नाघेर केहि शिक्षित महिलाहरु रोजगारी र व्यवसायको दायरामा समेटिए पनि त्यो संख्या अत्यन्त न्यून थियो। परिवारको मुख्य आर्थिक उत्तरदायित्व प्राय पुरुषमा नै निहित थियो । त्यसैले परिवारमा छोराको असिम महत्व थियो। छोराको आशामा धेरै अभिभावकहरुले धेरै छोरीहरुलाई जन्म दिने चलन व्यापक थियो। छोरालाई उच्च प्राथामिकता दिएर उत्कृष्ट शिक्षा दिएर सफल मानिस बनाउन लालयित बावुआमाहरु छोरीलाइ सामान्य सरकारी विद्धालयमा पठाउने गर्दथे, अझ कतिपयले त छोरीलाई शिक्षा पूरा गरिदिनुपर्छ भन्ने कुरा नै सोच्दैनथे त्यसैले अधिकांश महिलाहरुको बालबिबाह हुने गर्दथ्यो परिणामस्वरुप मातृशिशु मृत्यदर पनि उच्च थियो।

शिक्षा, चेतना र चिन्तनमा आएको परिवर्तनसंगै लैंगिक भुमिकाहरुमा पनि परिस्कार देखिन थाल्यो विश्वयापी प्रभाव आधुनिक जागरण र राजीनितक सचेतनाका कारण महिलाको शिक्षालाई अभियानकै रुपमा उच्च महत्व दिन थालियो। महिला शिक्षाका लागि छात्रावृति दिने छोरी पढाउने अभिभावकलाई आर्थिक तथा गैरआर्थिक प्रोत्साहनहरु प्रदान गर्ने कार्यक्रमहरु साठीको दशकमा प्रचलित थियो। एवं संघीय शाशन प्रणालिको विकास र बिस्तारले लैंगिक शशक्तीकरणमा प्रभावकारी भुमिका खेलेको सत्यलाइ नकार्न सकिदैन। संविधानसभाबाट निर्मित नेपालको संविधानले लामो समयदेखि उत्पिंडन र उपेक्षामा परेका वर्ग र समुदायको उत्थान र विकासका लागि केहि महत्वपूर्ण व्यवस्थाहरु गरेको छ मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरि महिलाका विशेष अधिकारलाई सुनिश्चितता प्रदान गरेको छ। संविधानको कार्यन्वयनसंगै समतामुलक प्रतिनिधित्व र सकरात्मक विभेदको सिद्धान्तले प्राथामिकता पाउन थालेको देखिन्छ। त्यहिअनुरुप सरकारी सेवाको प्रवेशमा महिलालाइ निश्चित आरक्षणको व्यवस्था गरिनले पनि हाल आएर निजामती लगायत सरकारी सेवामा महिला प्रतिनिधित्वको दरमा वृद्धि भएको देखिन्छ विभिन्न रोजगार ,स्वरोजगार प्रबर्दन कार्यक्रमहरुले महिलाको आर्थिक शशक्तीकरणमा महत्वपूर्ण योगदान गरेको छ।

माथितिर उन्मुख हुंदै गरेको यथार्थको धरातलमा उभिएर मनन गर्नु पर्ने हुन्छ आजका महिलाहरुको बत्तिस लक्षणमा केवल उसको रुप,सौन्दर्य, शुशिलता र संस्कार मात्र गणना हुंदैन बरु उसको शिक्षा,क्षमता,दक्षता,अनुभव,सीप र उसको आर्थिक हैसियतलाई पनि प्रमुख मानिन्छ। विवाह योग्य उमेर पुगेका महिलाहरुलाइ छनोट गर्ने सिलसिलामा उनीहरुको वर्तमानको शिक्षा,दक्षता र भविष्यको संभावनालाई समेत मध्यनजर गरि प्राथामिकता निर्धारण गरिन्छ। परिवारको आर्थिक जिम्मेवारिको भार केवल पुरुषले मात्र बोक्नु पर्दछ भन्ने परम्परागत चिन्तनबाट गुज्रिएको समाज बिस्तारै विमुख हुंदै गइरहेको छ। त्यसर्थ एउटा निश्चित उमेरमा पुगिसकेपछि आजका आधुनिक महिलाहरुले आफुलाई आर्थिक रुपमा आत्मनिर्भर एवं शशक्त बन्नैपर्ने बाध्यात्मक परिवेशतर्फ समाज अग्रसर हुदैछ। यो त समाजको बहुआयामिक पक्षको परिबर्तन र विकासले ल्याएको परिणाम हो। येस्तैमा महिलाका उपर परम्परागत मुल्य,मान्यताहरुको बोझिलो जिम्मेवारी कायमै छ। आजको समयमा एक उत्कृषट र सफल महिला बन्नका लागि परिवारका तमाम घरायसी जिम्मेवारी कुशलतापुर्बक पुरा गरेर अर्थात परिवारका सम्पूर्ण सदस्यहरुलाइ उमेर र नाताअनुसारको उचित शिष्टाचार दायित्व पुरा गरी सन्तुष्ट तुल्याएर कार्यक्षेत्रमा समेत आफुलाई पर्तिस्पर्धी, अब्बल र उत्कृषट बनाइराखनु आजका दिदिबहिनीहरुको प्रमुख चुनौती हो।

भौतिकवाद र कृत्रिमताको रंगिन रुमानीमा घोलिएको आजको जगमग दुनियामा महिलाको अर्को पनि भयावह समस्या रहेको छ। त्यो के हो भने समय अनुसार आफुलाइ सुन्दर, कोमल स्फुर्त र ताजा बनाइराखनु वरिपरिको परिवेशमा आफुलाई दृढ र आत्मविश्वासी रुपले शशक्त भएर उभ्याउनका लागि पनि यो कुरा अपरीहार्य बन्दै गइरहेको छ। त्यसको साथसाथै अर्को विकराल चुनौती पनि झनझन बढ्दै गइरहेको महसुस गर्न सकिन्छ प्रकृतिको बदलिदो स्वरुपसंगै पर्यावरणीय रुपमा देखिएको प्रभावहरुमा आफुलाई समायोजित गर्नु र जीवनको हरेक मोडहरुमा सामन्जस्यता स्थापित गर्नु। यसलाइ थप स्पष्ट  र सरल भाषामा भन्नुपर्दा समाजको आर्थिक, सामाजिक भुमिकाको परिवर्तनका कारणले महिलाको विवाहको उमेरमा परिवर्तन आएको छ । आजभोलि प्रायः महिलाहरुले लगभग तिस बर्षको पेरिफेरिमा विवाह गर्दछन किनभने वृति विकासको शौपान चढेर सपलताको अशातित शिखरमा पुग्नका लागि कम्तीमा त्यहि उमेर नै स्वभाविक मानिन्छ अक्सर केहि महिलाहरुले छिटै विवाह गरेपनि सन्तान जन्माउने  उमेर भने तिसकै हाराहारीमा रहेको छ । अपबाद स्वरुप केहि महिलाहरुले यो उमेर भन्दा अगाडि जन्माएर हुर्काए पनि तिस बर्ष भन्दा अगाडि नै दुइ सन्तानलाई जन्म दिएर आफ्नो वृत्ति विकासमा पनि सफल सिद्ध हुने महिलाहरुको संख्या त वास्तबमा नगन्य छ।

निजी क्षेत्रका केहि संस्थाहरुमा श्रम एन र सामाजिक सुरक्षा एनको अपरीहार्य र प्रभावकारी कार्यन्वयन नभएको हुनाले कतिपय जागिरे महिलाहरु निश्चित उमेर पार गरिसक्दा पनि सन्तान जन्माउने र हुर्काउने विषयमा द्विधामा रहन विवश हुन्छन्। अधिकांशले पहिलो सन्तान हुर्किसकेपछि दोस्रो सन्तानको चाहाना हुंदाहुदै पनि समय व्यवस्थापनको समस्या एकल परिवार संरचना बढ्दो महंगी आदिको कारणले उक्त चाहानालाइ चाहानामै सिमित राख्न बाध्य हुनु परेको विषम परिस्थिति छ। पर्यावरणीय प्रतिकुलताले सृजित अवरोध र महिलाको प्रजनन क्षमता एवम् विभिन्न डरलाग्दो रोगहरूको कारण ३५ वर्षभन्दा पछाडि बच्चा जन्माउनु असुरक्षित र जोखिमपूर्ण मानिन्छ ।

निष्कर्षमा  सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय रुपान्तरणले आजका महिलाहरुलाइ मर्यादित र सशक्त हैसियत प्राप्त गरि सफल एवं सन्तृप्त जीवन जिउन कठिन र चुनौतिपूर्ण  बन्दै गएको छ। आमा हजुरआमाहरुको जीवनको सरलता र सिमितताबाट आजको क्षितिज जटिलता र अन्योलतर्फ रंगिदै गरेको अमिलो अनुभव जनजनको मनमा घुसिरहेको छ त्यसर्थ समय सापेक्ष नितिनियमहरुको तर्जुमा गरि सहुलियत र सहजीकणको अभ्यासहरुलाई प्राथामिकता दिन सकिएमा आजको ज्वलन्त समस्याको उपयुक्त व्यवस्थापनमा सकरात्मक सहयोग गर्न सकिन्छ।

पार्वती श्रेष्ठ (पारुस्मृति) नेपालकी सबैभन्दा सानो उमेरमा उपन्यास प्रकाशन गर्ने एक स्रष्ट हुन्। यसअघि उनले “अभाव” नामक कृति चौध वर्षको उमेरमै प्रकाशित गरिसकेकी छिन्। हाल उनी सामाजिक सुरक्षा कोषमा अफिसरको रूपमा कार्यरत छन्। रामेछाप घर भएकी पार्वती श्रेष्ठ साहित्यप्रेमी मात्र होइन, थुप्रै साहित्यिक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुन्छिन्। कविता, आख्यान, तथा कथा लेखनमा उनी निरन्तर आफ्नो सिर्जनशीलता देखाउँदै आएकी छन्। आफ्ना सिर्जनाहरूमार्फत सामाजिक संवेदनशीलता र मानव जीवनका विविध पक्षलाई उजागर गर्ने प्रयासमा उनी सदैव लागि परेको पाइन्छ।

विवाहसँगै पारिवारिक जिम्मेवारीहरू निभाउँदै आफ्नो करियरमा पनि निरन्तर प्रगति गरिरहेकी पार्वती श्रेष्ठले साहित्यलाई आफ्नो जीवनको अभिन्न अंग बनाएकी छिन्। उनले लेखनलाई मात्र सीमित नराखी, सामाजिक र सांस्कृतिक क्षेत्रहरूमा समेत सक्रियता देखाउँदै छन्।उनको लक्ष्य भनेको साहित्य क्षेत्रमा मात्र होइन, सामाजिक सुरक्षा क्षेत्रमा समेत समर्पित भएर देश र समाजको सेवा गर्नु हो। उनी आफ्नो प्रतिभा र मेहनतद्वारा नेपाली साहित्यको उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याउने आकांक्षा राख्छिन्। पार्वती श्रेष्ठले भविष्यमा अझै धेरै उत्कृष्ट कृति लेख्ने र साहित्यिक कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने योजना बनाएकी छिन्। उनी आफ्नो जीवनमा सन्तुलन कायम गर्दै साहित्य र करियर दुवैलाई उच्च स्तरमा पुर्‍याउन निरन्तर कदम चालिरहेकी छिन्।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.