सेयर बजारमा ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

चैत ११, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । बुधबार बजार परिसूचक नेप्से ४१.३६ अंकले वृद्धि हुँदा २५७०.३१ अंकमा बन्द भएको छ ।

बजार परिसूचकसँगै हाइड्रोपावरबाहेक सबै उपसूचकमा पनि हरियाली छाएको छ । होटेल तथा पर्यटन उपसूचक सर्वाधिक ५.४४ प्रतिशत र लगानी उपसूचक ५.५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, लघुवित्त उपसूचक २.६९ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.२८ प्रतिशतले वृद्धि भएको छ । गएको फागुन ९ गते २६४० अंकको ऐतिहासिक उचाइमा पुगेर ओरालो लागेको नेप्से चैत २ गते २३८९ अंकसम्म झरेको थियो । त्यसपछि पुनः उकालो लागेको नेप्से पुनः २६०० अंकको नजिक पुगेको छ ।

फागुन अन्तिममा बैंकिङ प्रणालीमा केही तरलरता कम हुँदा अन्तर बैंक ब्याजदर बढेको र ब्याजदर बढ्नसक्ने संकेत देखिएको थियो । तर, नेपाल राष्ट्र बैंकले पुनर्कर्जा बढाउँदा प्रणालीमा पनि तरलता बढ्दै जाँदा पुनः बैंकहरु सहज अवस्थामा गएका र अब बजेट खर्च पनि बढ्ने भएकोले बैंकको ब्याज तत्काल नबढ्ने अवस्था देखिँदा लगानीकर्ताहरुमा देखिएको त्रास पनि कम भएको छ । जसले गर्दा गत साताबाट सेयर बजार पुनः लयमा फर्किएको छ । बजार परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा ७२ हजार ९५७ पटकमा २०८ कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड ४४ लाख २४ हजारको कारोबार भएको छ । कारोबार रकममा नेपाल इन्फ्रास्ट्रचर बैंकको सर्वाधिक ६५ करोड १५ लाख २ हजारको कारोबार भएको छ । यस्तै, अपर तामोकोसीको ४१ करोड ५७ लाख ६० हजारको कारोबार भएको छ ।

बजार परिसूचकमा हरियाली छाउँदा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सर्किट लाग्नेमा साल्ट ट्रेडिङ, हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलमेन्ट कम्पनी, चन्द्रागिरि हिल्स, आरएसडीसी लघुवित्त, माउन्टेन हाइड्रो र काचलिका पावर रहेका छन् । सेयर मूल्य घट्नेमा भने रैराङ हाइड्रोपावर अपर तामाकोसीलगायतका हाइड्रोपावर अगाडि छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.