साउन १६, काठमाण्डौं । नुवाकोटको शिवपुरी गाँउपालीका वडा नं १ का अनन्तराम केसीले १०० घण्टा भाषण गरेर विश्व रेकर्ड राख्ने तयारीमा जुटेका छन् । अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएको भए पनि त्यसलाई प्रमाणिकरण गरिएको थिएन ।
अनन्तराम भन्छन “गिनीजले यस अघि मैले गरेको ८० घण्टाको भेरीफिकेसन अझै नभई सकेकाले फेरी नयाँ रेकर्डको तयारीमा जुटेको हुं” । न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने केसीले बताउनुभएको छ । उहाँ यसपटक गिनीज वुक अफ वल्डको अफिस बेलायतबाटै प्रतिनिधि झिकाएर गिनीजमा नाम लेखाउन लागि परेका छन । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गर्नुभएका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लाग्नुभएको हो ।
योग प्रशिक्षक, मेमोरी माष्टर, मोटीभेसनल स्पीकर समेत रहेका केसीले मानिसको स्मरण शक्ति बढाउने र सहि रुपमा प्रयोग गर्ने बिषयमा केहि पुस्तक समेत लेखेका छन् । कुनै बेला योगी विकासानन्दको मुख्य सारथी रहेका अनन्तराम अहिले योगका अलावा अन्य सामाजिक कार्यमा समेत लागि परेका छन् । मनोशक्तिको खोजीमा देशका सबै जिल्लाको पैदल यात्रा गर्नुभएका केसीको अभियानलाई सफल बनाउन शनिबार जोरपाटीमा वृहत छलफल गरी विभिन्न समितिहरु गठन गरिएको छ । लायन्स क्लब, ३२५ पूर्व डिस्ट्रिक गभर्नर कुमारराज सुवेदीको संयोजकत्वमा मूल समिति र अन्य एक दर्जन बढी उपसमितिहरु गठन गरिएको छ । कार्यक्रममा संयोजक सुवेदीले विश्व रेकर्डको तयारी र यसले नेपालको चिनारीका लागि पार्ने प्रभावका बारेमा जानकारी दिनुभएको थियो भने केसीले विगतको प्राविधिक त्रुटीलाई सच्याएर यसपक विश्व कीर्तिमान राख्ने दृढता व्यक्त गर्नुभयो ।
चौविसै घण्टा निरन्तर चल्ने उक्त कार्यक्रममा गिनीजका प्रतिनिधिहरु, प्राविधिक टोलीहरु, भोलेन्टीयर, सहभागीहरु, दर्शकहरु सहित न्युनतम एक हजारको उपस्थीति रहने छ । कार्यक्रमको स्पोर्ट भेरी फिकेसनको लागि मात्र ७ हजार पाउण्ड स्टेलिङ खर्च लाग्ने छ भने गिनीजका प्रतिनिधिलाई नेपाल बोलाउने टिकट, होटल खर्च, कार्यक्रममा भोलेन्टीयर्सहरुका लागि खाजा, खाना, यातायात, लागायतका लागि २० लाख बढी खर्च हुने छ । कार्यक्रममा लाग्ने खर्च ब्यबस्थापनको लागी आर्थिक सहयोग गर्नुहुन उहाँले अनुरोध गर्नुभएको छ।