भदौ १९, काठमाडौं । नाट्यकर्मी महासंघ नेपालले नेपाली रंगमञ्चको संस्थागत विकास, नाट्यकर्मीको पेशागत अधिकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको संस्थागत सम्बन्धलाई थप व्यवस्थित र प्रभावकारी बनाउन माग गर्दै प्रज्ञा प्रतिष्ठानसमक्ष ज्ञापनपत्र बुझाएको छ।
महासंघका अध्यक्ष राजेन्द्र रिमालको नेतृत्वमा गएको टोलीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाललाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा नाट्यकर्मी महासंघको संस्थागत अस्तित्व र भूमिकालाई सम्मानपूर्वक स्वीकार गर्दै प्रतिष्ठान र महासंघबीच नियमित संस्थागत संवाद, समन्वय र सहकार्यको संयन्त्र विकास गर्न माग गरिएको छ।
महासंघले रंगमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा सम्बन्धित पेशागत संघ–संस्थासँग आवश्यक परामर्श गर्नुपर्ने, प्रशिक्षण, अनुसन्धान, अभिलेखीकरण, महोत्सव तथा अन्य कार्यक्रमहरूमा सम्भव भएसम्म संयुक्त सहकार्य गर्नुपर्ने लगायतका विषय अघि सारेको छ। त्यस्तै काठमाडौं बाहिरका रंगमञ्चीय गतिविधि र मोफसलका कलाकार तथा संस्थालाई समान प्राथमिकताका साथ प्रोत्साहन तथा सहकार्य गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।
महासंघले कलाकार तथा रंगमञ्चकर्मीको पेशागत मर्यादा, श्रमको सम्मान, क्षमता विकास तथा हितसम्बन्धी विषयमा प्रतिष्ठानसँग सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। साथै नेपाली रंगमञ्चको इतिहास, नाटक, कलाकार, प्राविधिक तथा सिर्जनात्मक योगदानको अभिलेखीकरण र अनुसन्धानमा समेत सहकार्यको प्रस्ताव गरेको छ।
ज्ञापनपत्रमा प्रतिष्ठान र महासंघबीच भविष्यमा उत्पन्न हुन सक्ने असहमति वा संस्थागत मतभेदलाई सार्वजनिक विवादको विषय बनाउनुको सट्टा संवाद, छलफल र संस्थागत प्रक्रियामार्फत समाधान गर्नुपर्ने धारणा समेत प्रस्तुत गरिएको छ। महासंघले आफू प्रतिष्ठानको प्रतिस्पर्धी वा विकल्प नभई नेपाली रंगमञ्चमा सक्रिय पेशागत समुदायको साझा संस्थाका रूपमा रहेको स्पष्ट पारेको छ।
ज्ञापनपत्र बुझ्दै कुलपति ब्रजेश खनालले महासंघले उठाएका माग तथा विषयप्रति सकारात्मक रहेको प्रतिक्रिया दिँदै ती मागहरूलाई सम्बोधन गर्न आवश्यक पहल तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रतिष्ठान र रंगमञ्च क्षेत्रमा सक्रिय पेशागत संघ–संस्थाबीच सहकार्य र संवाद आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रतिष्ठानका रंगमञ्च विभाग प्रमुख विजय विस्फोट तथा नाटक विभाग प्रमुख सरस्वती चौधरीको समेत सहभागिता रहेको थियो।
महासंघका तर्फबाट अध्यक्ष राजेन्द्र रिमालसँगै उपाध्यक्ष सिर्जना अधिकारी, उपाध्यक्ष राम केसी, महासचिव जेबी डिसी, सचिव अशोक सिवाकोटी, सहकोषाध्यक्ष प्रभन भुषाललगायतको सहभागिता थियो।
नाट्यकर्मी महासंघले नयाँ नेतृत्वसँग व्यक्तिगत सम्बन्धभन्दा संस्थागत सम्बन्ध, आग्रहभन्दा नीति, दूरीभन्दा संवाद, अपेक्षाभन्दा सम्मान र प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिँदै नेपाली रंगमञ्चको समृद्धिका लागि प्रतिष्ठानसँग सुदृढ संस्थागत सम्बन्ध निर्माण गर्ने अपेक्षा व्यक्त गरेको छ।

