‘रित्तो मान्छे’

मन रित्तो भएकाहरुको आत्मा कहिल्यै खुशी हुन सक्दैन

घडीको सुइ एकनास घुमिरहन्छ, सूर्य अस्ताउने र उदाउने भइ रहन्छ। काला रातहरु सकिनै लागेर मिर्मिरे उज्यालो हुँदै टकटकाहट उज्यालो हुन्छ । घाम लाग्छ।फुलहरु उम्रन्छन, काडाहरु लाग्छन अनि कोपिला हुँदै फुलहरु फहक्रन थाल्दछ। यो उज्यालो र अध्यारोको चक्रमा मानवीय जीवन पनि सामेल हुन्छ।बुझेर वा न बुझेर हो उ सधैं उज्यालोको खोजिमा बढी सुख पाउने आशामा आफ्ना सारा जीवन ब्यतित गर्न पुग्छ। होडबाजीमा सधै प्रथम हुन खोज्छ। झेली गरेर पनि जित्नै पर्ने अहम उस्मा रहन्छ।

समाजमा आफ्नो हैकम जमाउन खोज्छ तर उसले यो धर्तिमा जतिनै सामान जोडेको होस, सम्पती थुप्रायेको होस , जतिनै ठुलो आलिसान महल बनायेको होस तर उसले प्रकृतिको नियम परिवर्तन गर्न सक्दैन।उ रित्तै जन्मिएको हो र उसले जोडेका सम्पुर्ण चिजहरु येहि धर्तिमा बिसर्जन गर्दै उ रित्तो नै भएर चित्तामा जलि खरानी हुन पुग्छ। नाङ्गै आउने नाङ्गै जाने यो नै प्रकृतिको सुन्दर एबम अहम लिला हो। एउटा साथी भन्दै हुनुहुन्थ्यो ‘हासेर बाच्नुहोस गल्ती हुदैन,

पैसाको लागि मरेर के हुन्छ ?
कात्रोमा कुनै खल्ती हुँदैन ।

फेरि अर्को एकजना साथी भन्दै हुनुहुन्थ्यो – खल्तिमा सानो प्वाल के परेको थियो, सिक्काहरु भन्दा साथीहरू धेरै हराए । एकजना छप्रोमा बस्ने मान्छे बाटोमा हिड्ने क्रम मा अग्लो राम्रो घर देख्छ र मन मनै सोच्छ र येत्रै घर बनाउन पाये त बा आमालाइ पनि सुखी बनाएर राख्थे होला। एउटा अर्को धनी मान्छे आफ्नो अग्लो घरमा बिदेश बाट घुमेर फर्केर आएपछि उसले आफ्नो घरमा सबै भएको तर एउटा हेलिकप्टर छतमा राख्न मिल्ने गरि बनाउन न पाएकोमा थक थक भएको छ । बरु अब उसले घर को स्विमिङ्ग पुल चाहिँ अलि ठूलो बनाउने बरु आफ्नो ८५ बर्सिय आमा लाई बृद्ध आश्रममा राखेर त्यो आमा बस्ने कोठा भत्केर अझै नयाँ डिजाइन को बगैंचा र स्विमिङ्ग पुल बनाउने तर्फ ध्यान जान्छ। येसो गर्दा किचकिचे आमा को गन्थन सुन्न पनि नपर्ने र उस्ले यसो गर्दा आफ्नो श्रीमती पनि खुशी हुने उस्ले येसो सोची रहदा अर्का एकजना सडकमै हुर्केको दिन रात नै सडकमा बिताइने व्यक्ति चाहि आज अघाउन्जेल खान पाए कति आराम हिन्थ्यो भनेर सोचिरहेको थियो। दुई फरक मान्छेका फरक सोचहरु।

मानिसको चोला दुई दिनको लागि हो। हरेकलाई आ–आफ्नै समस्या छ। कस्लाइ पेट भर्न अगाउन्जेल खान अनि बा–आमा लाई राम्रो सीत पाल्ने खुशी बनाउने सपना पूरा गर्ने समस्य छ भने कसैलाइ घरको छत्मा हेलिकप्टर कसरी अटाउने होला भन्ने समस्या छ। उसलाइ धेरै धन भएकोे लुकाएर राखेको धन चोर ले चोर्न आउने हो कि रु अर्थात भ्रष्टाचार प्रमाणित हुने हो कि भन्ने ठुलै चिन्ता पनि छ। चिन्ता चिन्ता हर बखत चिन्ता उसलाइ दिनमा त के रातमा पनि छट्पटी हुन्छ। उ राम्रो सीत सुत्न पनि सक्दैन। झ्याल ढोका पनि सबै प्वाल परेको झुप्रोको भुइँमा सुत्ने घर को ढोका नहुदा पनि मस्त ढुक्कसँग निदाइ रहेको बेलामा चारैतित कम्पाउन्ड भएको, सेकुरिटी गार्डले घेरेको सिंहमरमलले छापेको त्यो गगनचुम्बि घर भित्रको त्यो मान्छे कहिल्यै राम्रो सीत सुत्न सकेको छैन। सधै उस्को निद हराम हुन्छ।उस्को आफ्नै कारणले।

एकदिन एकजना खाना खान नपाएर छट्पटाइरहेको मान्छे बाटोमा त्यो अग्लो गगन्चुम्बी घर को अगाडि त्यो झुपडीमा बस्ने गरिब किसान ले देख्छ। उस्ले त्यो भोकाएको व्यक्ति देखेर उस्ले पनि आफ्नो त्यहि विगत सम्झन्छ र आफु भोको हुदाको क्षण नियाल्छ। अरु केही नसोची आफुले अगिल्लोदिन बिहान काम गर्दा प्राप्त भएको केही खानेकुराहरु बेलुकाको लागि खानलाई साचेर राखेको थियो त्यही खाना र लाज छोप्न एक सर्को उसित भएको पुरानो कपडाको समेत लेराइ खुशी हुँदै त्यो भोको मान्छे लाई दिएको दृश्य त्यो धनी मान्छेले अग्लो घर को माथिल्लो तल्लाको बैठक कोठाबाट सि सि क्यामेरा मर्फत हेरि रहेको हुन्छ।केही समय अगाडि मात्र उसले त्यो भोको मान्छेलाई आफ्नो घर अगाडी बाट हटाउन त्यहाँबाट भगाउन तल बस्ने गार्डलाई आग्रह गरेको हुन्छ। खान खाउन्जेल के भन्ने भनेर चुप लागेको गार्ड्लाइ त्यो मान्छे हटाउन ढिला गरेकोमा माथिबाट साउले उस्लाइ वाकी टकि जस्तो बाट खै के के भनेर गाली गर्दै थियो।

यो सन्सार यस्तै छ यहाँ धन हुनेहरुको मन देखिदैन। उ धनी भएर पनि पनि रित्तो मान्छेझै गर्छ।तर धन न भएका मन हुनेहरु भने आफ्नो मुठी कसिएको हातहरु भने फुकाइ रहेक छन।कर्म गर्न उत्च्छुक छन ती मनहरु,ती दयाका खानिहरु। अरुलाइ एक पेट खान दिन सकेकोमा गर्व पनि गर्छन्। सुर्यक किरण धर्तिमा स्पर्स हुदा समग्र धर्ती नै उज्यालो बनी धर्ती रमाये झैँ भोको पेट्मा एक गाँस खायेर पेट भर्दै गर्दा उस्को मन कति रमाउदो हो ? भरिएर पनि रित्तो मन भएका रित्ता मान्छेहरुले उसको पेटको भोक को पिडा बुझ्न सक्दैन। एउटा सुकेनास मनले यो बुझ्ने हैसियत राख्ने कुरा पनि त भएन ।

मानिस कमाउने होडबाजीमा तछाड मछाड गरि रहेका छन।कमाएका छन तर उ सम्पन्न बन्न सकेको छैन।सम्पन्न हुन उस्को मन पनि सम्पन्नै हुनुपर्छ । धन हुदैमा उ सप्पन्न छ पुर्ण छ भनी सोच्नु अवस्य हुँदैन ।मन सम्पन्न भएमा मात्र उ पनि पुर्ण हुन्छ। पुर्ण मानिस्ले अँध्यारो उज्यालो छुट्टाउन सक्छ अनि उज्यालो बाटोमा हिडि आफू सन्तुस्ट हुन्छ बाटोमा भेटेका हरुको पनि मन सन्तुष्ट बनाइ आशिर्बाद लिने काम गर्छ।

मानिस जतिसुकै कमाओस तर उसले आफ्नो घर अगाडिको सार्वजनिक बाटोको खाल्डा खुल्डी पुर्नेसम्म पनि हिम्मत गर्न सक्दैन, उ घर अगडी भोको मान्छे लाई हेर्न समेत हिम्मत गर्दैन। उ हिम्मत गर्छ त केवल आफ्ना घर को तला थप्न , उ हिम्मत गर्छ त बुढा बुढी भएर बसेका बा–आमालाई आफ्नो चिल्लो कार मा चढाएर मन्दिर दर्शन गराउने नाममा वृद्धाश्रममा छोड्न । उ हिम्मत गर्छ त केवल आफ्नै आमाको कोखबाट जन्मेका आफ्नै दाजु भाइ, दिदि बहिनिलाइ हेप्न होचाउन अन गरिबको पसिनामा खेल्न उनिहरुको आशुमा रमाउन।

समय सधैं एकनास कसैको हुँदैन ।धनी गरिब सबै यो सन्सार बाट बिदा भयेरै जाने हो। कमाएको धनिको धन कसैले लान मिल्दैन किनकी मरेपछी ओडाइने कात्रोमा गोजि हुँदैन । धन ले मातियेका मानिस मरे पछि सकियो। उस्को देन को कसैलाइ सम्झना हुँदैन ।तर गरिब भइकन पनि सामरुमनले भरिपुर्ण भएका मनले धनी भएका मान्छे उ मरेर पनि ज्युदो झै रहन्छ।उसको आत्मालाइ सम्झने मनहरु धेरै हुन्छन्। आजसम्म सन्सारमा भएको पनि यही छ। हामिले मरेर गएको व्यक्तिहरु मध्ये धनले भन्दा पनि सामाजिक मनले, उसको कर्मले धनी भएकाहरु सधैं सम्झिएका हुन्छौं ।उनिहरुनै समाजका लागि सम्झन लायक व्यक्तिहरु हुन।

धनको घमन्ड गर्ने अरुलाइ होच्याउनेहरु एक्दिन यो सन्सार छाडेर जाने बेलामा भर्खर नाङ्गै जन्मेर आएको बच्चा झै रित्तो भएर नचाहेर पनि सबै यहि धर्तिमा बुझाएर खरानी भएर आगोको झिल्कोसगै धुलो भयेर आकाशमा उड्ने नै हो। तसर्थ सत्कर्मद्वारा सबैले भोका नाङ्गाहरुलाइ खुल्ला मन ले रित्तो नभइ कन जे छ त्यहीअनुसार सहयोगको भावना राखौं । अरुको भलोमा जुट्ने मानिस सुखी हुन्छ उसलाई आत्म सन्तुष्टि मिल्छ।सहयोगी भावनाको मानिसको मन कहिल्यै रित्तो हुँदैन ।मन रित्तो भएकाहरुको आत्मा कहिल्यै खुशी हुन सक्दैन।

पुष्पराज अधिकारी
कीर्तिपुर – ०२, काठमाडौँ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.