बजार अनुगमन प्रभावकारी रुपमा गर्न सांसदहरुको माग

असोज १३, काठमाडौं । सांसदहरुले दशैं तिहार नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्यबृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मूल्यबृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् । सांसद देवेन्द्र पौडेलले बजार मुल्यमा समानता नभएको, अस्वभाविक रुपमा मूल्य बढेकोले नियन्त्रण गर्नुपर्ने बताए। नियन्त्रणका लागि सम्बन्धित निकायलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिनु पर्ने उनले बताए। सांसद भिमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मुल्यबृद्धि भइरहेको बताए । मूल्यबृद्धि गर्नेलाई कडा कारवाही गर्नुपर्ने उनले बताए । अस्वभाविक रुपमा मूल्यबृद्धि गर्नेलाई सार्वजनिक गर्नुपर्ने समेत उनको भनाई थियो ।

सांसद सुजाता परियारले पनि दिनदिनै मूल्यबृद्धि भइरहेको बताइन् । अनुगमन गर्ने अवस्था अहिले नभएकाले सम्बन्धित निकायलाई छलफलमा बोलाउनु पर्ने बताइन् । समिति सभापति विमलप्रसाद श्रीवास्तवले मूल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्णय भएको बताए । समितिमा छलफलका लागि बोलाउने वातावरण नबनेसम्म सचिवालयलाई सम्बन्धित निकायलाई बोलाएर मूल्यबृद्धिका विषयमा सोधपुछ गर्न निर्देशन दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.