– युवराज लुइटेल
झण्डै एक बर्षदेखि पूरा विश्व नै कोरोना भाईरस (कोभिड– १९) को महामारीका बिरुद्धमा संघर्ष गरीरहेको छ । बिश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएकादेखि कमजोर अर्थतन्त्र भएका देश समेत कोरोना भाईरसको सिकार भएका छन् । मानव जातीको रक्षा आजको विश्वका लागि मूख्य चुनौति बनेको छ । विश्वभरका वैज्ञानिकहरु कोरोना भाईरसको औषधी पत्ता लगाउने कार्यमा निरन्तर रुपमा लागी रहेका छन्, तर आजका दिन सम्म मानव जातिले आसा गर्ने किसिमको कुनै परिणाम प्राप्त भएको छैन ।
नेपालमा समेत कोरना भाईरसको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको र भारतसंगको खुला सिमाका कारण नेपाल यसको अति जोखिममा रहेको छ । भारतमा रोजगारीमा रहेका नेपालीहरु असुरक्षित रुपमा दिन दिनै नेपाल प्रवेश गरिरहेका छन् । उनिहरुको ब्यवस्थापन र समुदायलाई संक्रमणबाट जोगाउने बिषय हाम्रोलागी निकै चुनौतिपुर्ण बनेको छ । नेपालमा कोरोनाको संक्रमन फैलिनुमा मुख्य रुपमा नेपालले लकडाउन खुला गरेपछि भारतबाट नेपाल प्रवेश गर्ने नेपालमा नै पेशा ब्यवसाय गर्ने भारतिय नागरिक र भारतबाट नेपाल फर्किएका नेपाली नागरिकहरुको उचित ब्यवस्थापन गर्न नसक्नु तथा सरकारको उचित निर्देशन र जनश्वास्थ्यको मापदण्ड जनस्थरबाट पालना नगर्नुलाई लिनु पर्दछ ।
नेपालमा २०७६ चैत्र ११ गतेका दिनबाट लकडाउन गरिएको थियो । लक डाउन भएको २ महिना सम्म सामान्य अवस्थामा रहेको संक्रमण आज उत्कर्षतर्फ उन्मुख छ । नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितहरुको संख्या थपिदै गएको र मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो समय सरकारले लकडाउन केही सहज बनाएकोले मानविय चहल पहल बढ्नगई सुरक्षित भनिएको काठमाण्डौ उपत्यका र देश भरका घनाबस्ति भएका शहरहरुमा जोखिम झन् झन् बढ्दै गएको छ । यस अवस्थामा लकडाउनलाई अझ कढा बनाउनु पर्नेमा ब्यवहारिक कठिनाई तथा अर्थतन्त्र चलायमान बनाउनकालागी भएपनि बाध्य भई खुकुलो बनाउदै छौ । देशमा लामो समय सम्म लकडाउन वा निषेधज्ञा कायम रहदा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नजाने निस्चित नै छ । यस्तो अवस्थामा आर्थिक गतिविधिहरुलाई सञ्चालन गर्नु पर्ने नै हुन्छ । लक डाउनका कारण मुख्यतया नेपालको सेवा, उद्योग तथा उत्पादन क्षेत्रमा नराम्रो असर परेको छ । श्रमिकहरुको नियमित उपस्थिती रहने श्रमका क्षेत्रमा लकडाउनका कारण परेको प्रभावले नेपालको श्रम बजार थिलथिलो भएको छ । यसको मुख्य असर नेपाली श्रमिकहरुलाई परेको छ ।
नेपालको श्रम बजारको अवस्थाः
नेपालको श्रम बजार मुख्यतया असंगठित क्षेत्रमा केन्द्रित रहेको छ । असंगठित क्षेत्र मध्ये पनि मुख्य रुपमा कृषि र निमार्ण क्षेत्र सवभन्दा बढि श्रमिकहरुलाई रोजगारी दिने क्षेत्र हुन् । यसैगरी यातायात, स्वरोजगार लगायतका क्षेत्रहरु श्रमिक खपत हुने मुख्य श्रमका क्षेत्र हुन ।
लकडाउनका कारण श्रमका उल्लेखित क्षेत्रहरु लामो समयसम्म पुर्ण रुपले सञ्चालन हुन नसकेकाले यस क्षेत्रमा कार्यरत दैनिक ज्यालादारीमा कामगर्ने श्रमिकहरुलाई जिवन यापनमा नै कठिनाई भएकोे छ । लकडाउन केही खुकुलो भई यस क्षेत्रका कामहरु सञ्चालनमा आएपछि सामाजिक दुरी कायम गरेर कामगर्नु पर्ने तथा स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड समेत पालना गरेर मात्र काम गर्नु पर्ने बाध्यता र कोरोना भाईरसको त्रासका कारण पुर्ण सहजताकासाथ कामगर्ने वातावरण नभएकोले श्रमिकहरु पुर्णरुपमा श्रममा आएको अवस्था छैन । श्रमिकहरुले कामगर्न नपाएको कारण परिवारका सदस्यहरुको पोषण र शिक्षा, स्वास्थ्य लगायतमा श्रमिकले गर्नु पर्ने लगानी हुन सकेको छैन । आम्दानीको श्रोत कम भएको कारण शिक्षामा खर्च गर्न नसक्ने श्रमिकका बालबच्चाहरु शिक्षाबाट वञ्चित भई श्रम बजारमा बाल श्रमिकको रुपमा प्रवेश गर्ने अवस्था समेत रहन सक्दछ ।
संगठित श्रम क्षेत्र मध्ये उत्पादन र सेवा क्षेत्र बढि श्रमिकलाई रोजगारी दिने क्षेत्रहरु हुन् । उत्पादन क्षेत्र मध्ये खाध्ये उत्पादनका क्षेत्र लकडाउनको अवधिमा समेत नियमित रुपमा सञ्चालनमा रहेकाले उक्त क्षेत्रमा कार्यरत श्रमिकहरुलाई जिवनयापनमा धेरै कठिनाई नपरेको हुन सक्दछ तर खाध्ये बाहेक अन्य उत्पादनका क्षेत्रमा कार्यरत श्रमिकहरुको अवस्था दयनिय रहेको छ । सेवाक्षेत्र मध्ये पर्यटन क्षेत्र कोरोना भाईरसका कारण सवभन्दा वढि प्रभावित भएको क्षेत्र हो । यस क्षेत्रमा कार्यरत श्रमिकहरु कोरोना भाईरसको प्रकोप सुरु भए देखि नै काम बिहीन भएका छन् । आज सम्मको अवस्था हेर्दा कुन दिन बाट यस क्षेत्रलाई नियमित रुपमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने बिषयमा समेत अन्योल्ता नै छ । पर्यटन क्षेत्रको आजको अवस्थालाई हेर्दा यस क्षेत्रमा कार्यरत धेरै श्रमिकहरु रोजगारी बिहिन हुने र उनिहरुको परिवारको दैनिक जिवन यापन र सामाजिक जिवन ब्यवहारमा समेत कठिनाई उत्पन्न हुने देखिन्छ । यसैगरी मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिकहरुको रोजगारीको अवस्था झन जटिल बन्ने देखिन्छ ।
कोरोना महामारीका कारण सबभन्दा पछि सञ्चालनमा आउने क्षेत्रमा मनोरन्जन क्षेत्र पर्ने भएकोले यस क्षेत्रमा कार्यरत धैरै श्रमिकहरुको रोजगारी समेत खतरामा परेको छ । यसरी श्रमका सवै क्षेत्रहरु महामारीको प्रभावमा परेको कारण श्रमिकहरुको रोजीरोटी गुम्ने अवस्था एकातर्फ छ भने अर्कोतर्फ कोरोना महामारीलाई देखाई अनावश्यक रुपमा श्रम ऐन २०७४ को दफा १४५ को गलत प्रयोग गरी श्रमिक कटौतिगर्ने सम्भावना झन बढि देखिन्छ । विश्वभर फैलिई रहेको कोरोना भाईरसको प्रकोपका कारण बिभिन्न देशहरुमा कार्यरत नेपाली श्रमिकहरुको रोजगारी गुम्दै गएकोले ठुलो संख्यामा नेपाली श्रमिकहरु स्वदेश फर्कने अवस्था देखिन्छ । देशमानै हजारौ श्रमिकको रोजगारी गुम्ने खतरा उत्पन्न भएको अवस्थामा भारत लगायतका अन्य मुलुकमा कार्यरत लाखौ श्रमिकहरु बेरोजगार भई देशमा प्रवेश गर्ने अवस्थाका कारण बेरोजगारहरुको संख्या निकै नै बढि हुने अवस्था छ । देशको आर्थिक अवस्था कमजोर हुदै गएको र बिकास खर्च समेत कटौति हुने अवस्था रहेकोले श्रमिकहरुलाई रोजगारी दिन सकिने किसिमका आयोजनाहरुको सञ्चालन पनि ठुलोमात्रमा गर्न सकिने अवस्था छैन ।
यस्तो अवस्थामा बेरोजगारी समस्या सरकारका लागी निकै नै चुनौतिपुर्ण बन्न सक्ने देखिन्छ । बेरोजगारी समस्यालाई समाधान गरी नेपाली श्रम बजारलाई चलायमान अवस्थामा राख्नकालागी नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तह समेतले आफ्ना कार्यक्रमहरुलाई रोजगार मुलक बनाउन आवश्यक छ । यसैगरी विदेशी लगानी भएका बाहेक अन्य उद्योगमा काम गर्ने विदेशी नागरिकहरुलाई रोजगारीमा लगाई रहेका उद्योग प्रतिष्ठानहरुलाई विदेशी नागरिकहरुलाई यस अवस्थामा रोजगारी नदिन र नेपालमा नै भएको श्रम शक्तिलाई रोजगारी दिन नितिगत रुपमा नै आवहान गर्न जरुरी छ । यसैगरी नेपाल सरकारले आफ्ना मातहात निकायहरुलाई नेपालको श्रम शक्तिलाई आवश्यकताअनुसारको तालिम प्रदान गर्न र सिप परिक्षण गरी रोजगारीमा पठाउने उपयुक्त ब्यवस्था गर्न सकियो भने मात्र उद्योगको आवश्यता पुरा हुने तथा श्रमिकले रोजगारी पाउन सक्ने अवस्थाको सृजना हुन सक्दछ । ब्यवसायीक तालिम प्राप्त भएका स्वरोजगार भई काम गर्न चाहने श्रमिकहरुलाई ब्यवसाय सञ्चालनकालागी सहज रुपमा सुलभ ब्याज दरमा कर्जा दिने उपयुक्त ब्यवस्था गरी स्वरोजगार ब्यवसायलाई प्रर्वद्धन समेत गर्न सक्नु पर्दछ । कृषि उत्पादनको बजारीकरणको राज्यले नै सुनिस्चितता गरी बढि भन्दा बढि श्रम शक्तिलाई कृषी क्षेत्रमा लाग्न प्रोत्साहन गर्नु पर्दछ ।
ट्रेड यूनियनको भुमिका
कोभिड १९ का कारण श्रम बजारमा उत्पन्न परिस्थिती ट्रेड यूनियन आन्दोलनको बिकास र बिस्तारकालागी पनि निकै नै चुनौतिपुर्ण हुन सक्छ । रोजगारी गुमेका श्रमिकहरुको आन्तरिक र बह्रिय आप्रवासनले ट्रेड युनियनहरुको नितिमा ठुलो परिर्वतन आउने अवस्था रहन्छ । ट्रेड यूनियनले बनाउने नितिहरु मुख्यतया सदस्य केन्द्रित हुने गर्दछन । एउटा क्षेत्रबाट रोजगारी गुमेको श्रमिक श्रमको अर्को कुन क्षेत्रमा र कहाँ रोजगारीमा जान्छ सो को तथ्यांक राख्न सक्ने प्रणली नेपालका ट्रेड यूनियनहरुले बनाउन सकेको अवस्था छैन ।
एक क्षेत्रबाट रोजगारी गुमि अर्को श्रमको क्षेत्रमा प्रवेश गर्नासाथ श्रमिकको ट्रेड यूनियनको आवद्धतामा समेत परिर्वत हुन सक्ने भएकोले ट्रेड यूनियनहरुलाई सदस्यता ब्यवस्थापनमा समेत कठिनाई पर्न जाने हुन्छ । रोजगारी गुमेका श्रमिकहरुको सुविधा भुक्तानीमा देखिने समस्या र नयाँ रोजगारीको खोजमा ट्रेड यूनियनहरुको बढि समय जान सक्दछ । एउटा बिषयमा ट्रेड यूनियनको ध्यान केन्द्रित हुनासाथ अन्य भुमिकाहरुमा उपस्थिती कमहुन गई ट्रेड यूनियनको बिकासमा समेत समस्या आउन सक्छ । श्रमिकका सम्पुर्ण समस्याको निराकरण गर्दै ट्रेड यूनियन आन्दोलनलाई बचाई राख्न यस्तो अवस्थामा ट्रेड युनियनहरुले महत्वपुर्ण भुमिका खेल्न सक्नु पर्दछ । देसमा तिन तहको सरकार रहेको छ । तिनै तहका सरकारले आगमी दिनमा बनाउने नितिहरुमा रोजगारी प्रर्वद्धनको बिषयलाई मुख्य प्रथामिकतामा राख्न लगाउन ट्रेड यूनियनहरुले निरन्तररुपमा अन्र्तक्रिया तथा छलफलहरु चलाउन जरुरी छ ।
रोजगारी गुमेका अदक्ष श्रमिकहरुलाई सिपबिकास तालिममा सहभागी गराउने र प्रयाप्त तालिमको ब्यवस्था गर्न सरकारलाई आग्रह गर्ने तथा नेपाल सरकार तथा प्रदेश सरकारका बिभिन्न रोजगार मुलक कार्यक्रमहरुको उचित कार्यान्वयनमा समेत ट्रेड यूनियनहरुले समयमा नै ध्यान दिन जरुरी छ । जसलाई रोजगारीको आवश्यकता छ उसले रोजगारी नपाउने र जस्लाई तत्काल रोजगारी नहुदा कुनै समस्या छैन उसैले रोजगारी पाउने बिगत देखिकै रोजगारीको समस्या हो । राज्यबाट सञ्चालन हुने रोजगारी प्रदान गर्ने योजनामा सोही अवस्था दोहोरीने सम्भावना रहने हुनाले बास्तविक धरातलका श्रमिकहरुले रोजगारी पाउदै नपउने अवस्था आउन नदिन ट्रेड यूनियनहरु चनाखो बन्नु पर्दछ ।
संकटको यस अवस्थाको फाईदा उठाउदै पुराना र बढि पारिश्रमिक सुविधा पाउने श्रमिकहरुलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौति गरी रोजगार बिहिन बनाउने एक मात्र उदेश्यका साथ केही रोजगारदाता प्रतिष्ठानले योजना बनाउदै गरेको र केहीले यसको कार्यान्वयन समेत गरिसकेको अवस्था छ । श्रम ऐन २०७४ को दफा १४५ को प्रयोग के कस्तो अवस्थामा गर्ने हो रु यस दफामा अन्तरनिहित उदेश्य के हो रु के कस्तो अवस्थामा यस दफा बमोजिम श्रमिकको रोजगारी अन्त्य गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित भएर यस दफाको प्रयोग गर्नु पर्ने रोजगारदाता प्रतिष्ठानहरुले कानुनी ब्यवस्थाको खिल्ली उडाउदै अघिल्लो बर्ष राम्रो बोनस वितरण गरेको अवस्थामा यस आर्थिक बर्षको समाप्ती अघिनै घाटा देखाउदै श्रमिक कटौति गर्ने, केहीले ट्रेड यूनियनका कार्यसमितिका पदाधिकारी तथा सक्रिय सदस्यहरुलाई उद्योगको एउटा बिभागमा कार्यरत कर्मचारी रहेको भन्ने नक्कली कागजात बनाई बिभाग खारेजीको नाटक गरी कटौति गर्ने गरेको पाइएको छ ।
केही प्रतिष्ठानले भने प्रतिष्ठान स्तरका ट्रेड युनियनहरुका नेता कार्यकर्ताहरुलाई आफ्नो पकडमा लिई केही आर्थिक प्रलोभन दिई सहमति गराई कटौति गर्ने गरेको पाईन्छ । कटौतिका विरुद्धमा अदालतमा दायर केही मुद्धाहरुमा शुरु तहको अदालतमा भएको ब्याख्याले मजदुरहरुलाई सहयोग गरेको देखिदैन । यसबाट दफा १४५ को प्रयोगका सम्बन्धमा हाल नेपालको श्रम बजारमा जे जस्तो टिकाटिप्पणीहरु हुदै आएका छन यसमा अझ बढोत्तरी हुने देखिन्छ । दफा १४५ को प्रयोगका सम्बन्धमा रोजगारदाताहरु र ट्रेड यूनियनहरु बिच जुन विवाद आज कायम छ यसको हल निकाल्न एउटा गहन छलफलको अवश्यकता देखिन्छ । यसकालागी नेपालका ट्रेड यूनियनहरुले तत्काल छलफल अगाढी बढाउनु पर्ने देखिन्छ । समयमा नै यस बिषयमा छलफल नचलाउने हो भने आगमी केही महिनापछि कोरोना महामारीको कारण आर्थिक संकट उत्पन्न भएको भनि श्रमिक कटौतिको अभियान नै रोजगारदाताहरुले सुरु गर्ने र यसले ट्रेड यूनियन आन्दोलनमा निकै ठुलो क्षेति पु¥याउने देखिन्छ ।
कोभिड १९ का कारण श्रम बजारमा आउने परिर्वतनलाई ध्यानमा राख्दै यसै बिषयमा केन्द्रित भई ट्रेड यूनियनहरुले आफ्ना बर्षिक कार्यक्रम र कार्ययोजनाहरु तय गर्न जरुरी छ ।
सामाजिक सुरक्ष कोषबाट बेरोजगार सुविधा योजना सञ्चालनकालागी रोजगारदाताबाट योगदान गराउन पहल गरी बेरोजगार सुविधा योजना सञ्चालनमा ल्याउन तत्काल पहल गर्न जरुरी छ । श्रम बजारमा आउने उत्तारचढावका कारण सदस्यसंख्यामा आउने फेरबदल र श्रमिकहरु आन्तरिक माईग्रेसनका कारण ट्रेड युनियनहरुका कार्याक्रम सञ्चालनमा आउनसक्ने कठिनाईको सम्बन्धमा समयमा नै छलफल गरी आफ्ना सम्पुर्ण तहका कमिटीहरुको परिचालन र ब्यवस्थापनमा रहेका हालको रणनिति परिर्वतन गरी ठोस कार्याक्रम र योजनाका साथ तत्काल अधि नबड्ने हो भने ट्रेड यूनियनहरुसंग टुट्दै गएको नेपाली श्रमिकको बिश्वासलाई पुनरजिवित गर्न ट्रेड यूनियनहरु असफल हुने र नेपालको ट्रेड यूनियन आन्दोलनमा संकट उत्पन्न हुने प्राय निस्चित छ । आजको अवस्थामा ट्रेड यूनियनहरुको भुमिका कम्जोर नै देखिएको छ । यस कम्जोर भुमिकालाई टालटुल गरेर ढाकछोप गर्ने कार्य भईरहेको छ । आफ्नो कम्जोर भुमिका रहेको सत्यलाई मनन गर्दै कम्जोरीहरुलाई निर्मम रुपमा प्रहार गरी ट्रेड यूनियन आन्दोलनको रक्षा र बिकसमा लाग्नु ट्रेड युनियनहरुको बिकसकालागी महत्वपुर्ण हुन सक्दछ ।

