साउन ९, काठमाडौं । बाढीको समयमा आन्तरिक उडान चाँडो सञ्चालन गर्न सरकारलाई वायुसेवा सञ्चालक संघले आग्रह गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को साउन १ गतेको निर्णयअनुसार भदौ १ बाट तोकिएको प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्ने निर्णय गरेको थियो । हालको अविरल वर्षाका कारण प्रायः जसो सबै राजमार्गहरु तथा लोक मार्गहरुमा बाढी पहिरोले क्षतिग्रस्त भएकोले लामो दूरीका यातायात अति कष्टकर भएको छ । बाढी पहिरोका कारण तुरुन्त राहत पुर्याउन र आवतजावत गर्न सम्भव हुने देखिएको छैन । आन्तरिक वायुसेवाहरुले नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा नेपाल नागकि उड्डयन प्राधिकरणको कोभिड–१९ को गाइडलाइन्स अनुसार उडान सञ्चालनका लागि सम्पूर्ण तयारी गरी सकिएको र उडान संचालनको ड्रिल समेत गरी सकेको हुँदा वायुसेवा संचालक संघले चाडो भन्दा चाडो आन्तरिक उडान संचालन गर्न अनुरोध गरेको हो ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष क्यापटेन रामेश्वर थापा थापाले एक विज्ञप्ती जारी गर्दै अहिले प्राकृतिक प्रकोपको अवस्थामा हवाई सेवाले राहत पुर्याउन सक्ने अवस्था रहेकोले नेपाल सरकारबाट स्वीकृत हवाई भाडाको सीमाभित्र रही आवश्यकता अनुसार नन्–सेड्यूल उडान संचालनको अनुमति प्रदान गर्न अनुरोध गरेका हुन् ।


