डा. केसीको जीवनरक्षामा अवरोध गरिएपछि प्रहरीद्वारा लाठीचार्ज, दर्जन समर्थक घाइते

असार ३ जुम्ला । जुम्लामा २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्ने कार्यमा केसी समर्थक र विद्यार्थीहरुले अवरोध पुर्‍याएपछि प्रहरीले लाठीचार्ज गरेको छ ।

डा. केसी अनसन बसेको स्थान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केसीलाई उपचारका लागि काठमाडौं ल्याउन विद्यार्थी र केसी समर्थकले बाटो छेकेपछि बल प्रयोग गर्नु परेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । सरकारको निर्देशनमा बिहीबार डा. केसीलाई काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली अस्पतालबाट केसीलाई नभेटी फर्किएसँगै प्रहरीले लाठी चार्ज भएको हो । अस्पताल परिसरमा अहिले प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरिरहेको छ । प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका छन् । समाचार संकलन गरिरहेका पत्रकारमाथि पनि प्रहरीले अभद्र व्यवहार गरेको जनाइएको छ ।

बल प्रयोग गरेर भए पनि उपचारका लागि काठमाडौं पठाउन सरकारले निर्देशन दिएपछि त्यसको समन्वय गर्न कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । उनीहरु अस्पतालभित्र प्रवेश गरे पनि डा। केसीलाई भने भेट्न पाएनन् ।

केसीको पक्षमा नाराबाजी गर्दै विद्यार्थीले बाटो छेकेपछि त्यहाँकै भीसीसँग केही बेर कुराकानी गरेर उनीहरु फर्किएका थिए । केसीका समर्थकहरुलाई तितर–वितर बनाउँदै अस्पताल परिसरमा प्रवेश गरेको टोलीले डा. केसीलाई हेलिकोप्टरमा हाल्ने तयारी गरेको छ । प्रहरीको टोली केहीबेर अघि प्रतिष्ठान पुगेपछि उनका समर्थक र जुम्लाका महिलाहरुले घेरा हालेका थिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.