मन्त्रीस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने डा. केसीपक्षको सरकारसँग माग

साउन २, काठमाडौं । अनसनरत डा. गोविन्द केसी पक्षले सचिवस्तरको वार्ता टोलीबाट निकास ननिस्कने भन्दै मन्त्रीस्तरीय टोली गठन गर्न सरकारसँग माग गरेको छ ।

डा. केसी पक्षका अनुसार चिकित्सा शिक्षा विधयेकलाई संसदबाट जस्ताको तस्तै हुबहु पारित गरिनु हो । वार्तालाई निश्कर्षमा पुर्‍याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर मन्त्रीस्तरीय वार्ता समिति बनाउन समेत सरकार समक्ष माग गरेको जानकारी दिएका छन् ।

दुईचरण वार्ता निश्कर्ष विहिन

सरकारले शिक्षा सचिव डा। खगराज बरालको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी सम्मिलित वार्ता टोली गठन गरेको थियो । तर डा. केसीपक्षले सचिवस्तरीय टोलीसँगको वार्ताबाट निष्कर्ष ननिस्कने दावी गर्दै मन्त्रीस्तरीय वार्ता टोली गठनको लागि सरकारसँग माग गरेको थियो । केसी तर्फबाट वार्ता टोली संयोजक डा अभिषेक सिंहले सचिवस्तरको वार्ताले पार नलाग्ने बताए । आज बिहान ९ बजे गर्ने भनिएको वार्ता दिउँसो झण्डै ३ बजेसम्म हुन सकेको छैन । सरकारले डा। केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेको छ । तर केसीले माग पुरा नभई नआउने अडान राखि रहेका छन् ।

डा. केसीलाई काठमाडौंमा ल्याएर उपचार गर्नुपर्ने सरकार पक्षको अडान र संसद्मा पेस भएको राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिनुपर्ने केसीका प्रतिनिधिको मागका कारण वार्ता भएपनि एक कदम अगाडी बढ्न सकेको छैन । सरकारले चिकित्सा शिक्षा अध्यादेशमा रहेका प्रावधान हटाएर संसद्मा प्रतिस्थापन विधेयक ल्याएको विरोधमा डा‍. केसी जुम्लामा १८ दिनदेखि अनशन बसिरहेका छन् ।

सरकारले माथेमा आयोगको प्रतिवेदनबाट के हटायो ?

माथेमा आयोगको प्रतिवेदनका आधारमा काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज सञ्चालन गर्न नपाइने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने, सार्वजनिक मेडिकल कलेजलले ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था अध्यादेशमा भए पनि विधेयकमा भने हटाइएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अध्यादेशमा भएको व्यवस्था जस्ताको तस्तै हुनुपर्ने माग राखेर संसद् अवरोध गर्दै आएको छ ।

सरकारले डा. केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेपनि यथास्थितिमा केसीलाई काठमाडौं ल्याउन सक्ने स्थिति नभएको डा. सिंहले बताए । यसैबीच डा. सिंहले सरकारी टोलीसँग आफूहरु जुनसुकै बेला वार्ता गर्न तयार रहेपनि सरकारी पक्षबाट वार्ताका लागि कुनै खबर नआएको बताएका छन् । केसी तर्फबाट वार्ता टोली संयोजक डा. अभिषेक सिंहले तीन ३ दिनयता वार्ताको पहल गरेपनि निकास उन्मुख नभएको जानकारी दिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.