रुकुम घटना युगलाई चुनौती हो – गणेश तिरुवा

जातकै आधारमा एकले अर्कालाई माया गर्दा कथित समुदायले आक्रमण गर्नुपर्ने ? अनि सबैलाई मार्नु पर्ने ? यो घटना सामान्य होईन युगको चुनौती हो ।

 

आजको युग आधुनिक समाजसंगै मानव सभ्यताकोे युग हो । २१ औं शताब्दीमा मानवहरु विज्ञानको अविष्कार गरी हरेक ग्रह उपग्रहमा बस्ती बसाउन आतुर छन् । तर मानवले एउटा मानवलाई कथित जातका आधारमा मर्नु पर्ने, धर्म र जातको आधारमा एकले अर्कोलाई माया गर्दा मारिनु पर्ने यो कस्तो चलन छ हाम्रो समाजमा ? कुन धर्म शास्त्रमा छ दलित भन्ने शब्द ? आखिर जातीय विभेद किन भईरहेको छ नेपालमा ? के मानवताको भावना छैन नेपालीहरुवीच ?

इतिहास हेर्ने हो भने हरेक आन्दोलनको अग्रभागमा दलित समुदाय नै अगाडी छन् । जसले यो राज्यमा निःश्वार्थ भावले आफ्नो बलिदान दिएका छन् । आन्दोलनको हरेक मोर्चामा जहानिया राणा शासन र राष्ट्रिय एकिकरणदेखि सशस्त्र आन्दोलन तथा जनआन्दोलनसम्मा अग्रभागमा बसेर आफ्नो ज्यानको बलिदान दिएर संघीय गणतन्त्र नेपालको स्वरुप बदल्न सफल भएका छन् । आज हरेक मन्दिरको त्रिसुल, घण्टी, मूर्ति कुदे केका लागि ? गहना बनाएर सजाए केका लागि ? आफूलाई भन्दा बढि देशलाई माया गरे के का लागि ? वस्त्र बनाएर मानवलाई मोर्डन बनाए केका लागि ? यी प्रश्नहरुमा पटक–पटक अझै रुमालिरहनुपर्ने ?

जातकै आधारमा एकले अर्कालाई माया गर्दा कथित समुदायले आक्रमण गर्नुपर्ने ? अनि सबैलाई मार्नु पर्ने ? यो घटना सामान्य होईन युगको चुनौती हो । अनि यो सब दृश्य देख्दा देख्दै राज्यले के हेरिरहेका छन् पीडामा पारिएका समुदायलाई ? यी अछुत नै हुन, यीनिहरुको राज्यमा पहुँच छैन केही गर्न सकिदैनन् भन्ने ठानेर प्रयोग मात्र गर्न खोजिएको र शासकहरु कानमा तेल हालेर बसेका छन् भने यो एकदमै हानिकारक हुनेछ । दलित भएकै कारण मर्नु र मारिनु पर्ने हो भने अब हरेक दलितहरुले आफैँले बनाएको हतियार उठाएर सामन्तीको विरुद्ध प्रहार गर्न पछि पर्ने छैन् । अन्यायको पनि सिमा हुन्छ, यस्तो पीडादायी घटनामा राज्य मौन किन ? केही वर्ष अगाडीदेखि कसैको लास उठेको छैन अस्पतालमा, कोही चुल्हो छोएर, कोही माया गरेको भरमा मारिनु पर्ने अनि संविधानमा छुवाछुत गर्नु हुदैँन, गर्नेलाई कडा कारवाही गर्ने भन्ने कुरा कागजमा मात्र सिमित राख्ने ?

राज्यले कडा रुपमा कानुनको कार्यान्वयन गर्नुपर्छ कि पर्दैन ? जहिले पनि घटना हुन्छ अनि दलितहरु नै रुनु पर्ने, कराउनु पर्ने ? कानुन कस्का लागि बनेको छ ? राज्यले जावाफ दिनुपर्छ । कि दलित उत्पीडनमा परेकाहरुका लागि यो कानुन मान्य छैन भन्नु प¥यो होईन भने कानुनी कठघारामा सबैलाई बराबर हैसियतमा बाँच्न पाउने अधिकारको प्रयोग गर्न पाईयोस् । दिनप्रतिदिन जातवादका कारण घटनाहरु घटिरहेका छन् । राज्यका शासकहरु कानुनको बर्खिलाप गर्दै राजनीतिको रंग देखाएर पीडित समुदायमाथि चरम शोषण गरिरहेका छन् । अपराधिक गतिविधिमा संलग्नहरु जोकोही भएपनि सत्यतथ्य पत्ता लगाएर कानुनको दायारामा ल्याउनुपर्छ । यदि यो लोकतन्त्रिक मुलुकी राज्य हो भने प्रत्येक मानवको बाँच्न पाउने अधिकारको सुनिश्चित हुनुपर्दछ । लोकतन्त्रको जगमा उभिएका विभिन्न खाले अधिकारकर्मीहरु, मानव अधिकारकर्मी, नागरिक समाज, बुद्धिजीविहरु किन मौन छन् ? माया हरेकले गरेका हुन्छन् तर ज्यानै मार्नुपर्ने कहि हुन्छ ? ति कथित माथिल्लो जाति भनाउदाहरुको चाँही रगत कालो छ ? यदि कालो होईन रातो नै छ भने सबै प्राणीहरु एउँटै हुन्छन् भन्ने सोँच किन आएन ?

यो समाज नि राजनीतिक पार्टीबाटै सञ्चालित छ होला नि ? कुनै एउटा पार्टीको टिकटबाट चुनाव जितेका होलान् । आफूलाई परिवर्तनकारी भनेर चुनाव जितेका होला यस्तो दुःखद घटनामा तिनीहरु बोल्नु पर्दैन ? जातका आधारमा विभिन्न राजनीतिक दलहरु निकट संगठनहरु छन् । सबै एकै ठाउँमा उभिएर रुकुम घटना र दलित मुक्तिको आवाजलाई न्याय दिलाउन कटिबद्धता हुनुपर्छ कि पर्दैन । घटनमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गरी सरकारले राज्यमा कानुन छ भन्ने शन्देस दिन सक्नुप¥यो । ती सामन्ती संस्कारबाट हुर्केका र मानसिक सन्तुलन विग्रेका कथित जातिका नाममा अमानवीय व्यवहार देखाउने तत्वहरुलाई हदैसम्मको कारवाही हुनैपर्छ । समाजलाई परिवर्तनतर्फ डो¥याउन हिडेका त्यहाँ राजनीतिक दलहरु गम्भीर जघन्य अपराध हुँदा पनि अदृश्य भएर बसेका छन् । सबै दलित समुदायलाई देखाएर राजनीतिको खोल ओडेर हिड्ने राजनीतिक दलहरुका वर्गिय संगठनहरु के हेर्दै छन् ? जातकै आधारमा एक मानवले अर्का मानवलाई मारिरहेका छन्, देश रोईरहेको बेला पार्टीको बालि गरेर कार्यकर्ता मात्र बनेर बस्ने कि आफ्नो अधिकारको आवाजलाई बुलन्द पार्ने ? यसरी मारिएपछि सामाजिक सञ्जालभरी रंगाएर विरोधको नाटक मञ्चन गरिरहने ? होईन भने जातिय विभेदको विरुद्ध तपाई हामी एक भएर आवाज उठाउ यसको जरैदेखि उन्मुलन गरौँ ।

यहाँ एउटा कुखुराको चल्ला मारे भने आन्दोलन हुन्छ, सडकमा टायर बालेर क्षतिपूर्ति मागिन्छ तर यता जातका आधारमा माया गरेकै भरमा नरसंहर हुँदा केही गर्न चाहादैन सरकार र राजनीतिककर्मीहरु । जातिय विभेदका विरुद्ध लड्न जुनसुकै पार्टीमा आवद्ध भए पनि दलित समुदायका साथीहरु एक हुन आवश्यक छ । यो कठिन मोडमा पछिल्लो घटना मात्रै होईन पराम्परादेखि थिचोमिचोमा पारिएका शासकविरुद्ध लडौँ, रुकुम घटनाका दोषीलाई हदैसम्मको कारवाहीका लागि अगाडी बढौ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.