असार २९, काठमाडौँ । सरकारले ०७२ असोजमा गरेको पाँच बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि गंगामाया अधिकारीले अनसन तोडेकी छिन् । १७ वर्षे छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई आजीवन काराबासको सजायँ माग गर्दै उनी गत जेठ १५ गतेदेखि अनशन बसेकी थिइन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन तोडाएका हुन् ।
यसअघि सरकारसँग भएको पाँच बुँदे सहमति कार्यान्वय गर्ने प्रतिवद्धता जनाएपछि गंगामायाले अनसन तोडेको मन्त्री तामाङले जानकारी दिए । “दशदिनभित्र माग पूरा नभए पुनः अनसन बस्ने बताउनुभएको छ,” अनशन तोडाएलगत्तै मन्त्री तामाङले बाह्रखरीसँग भने, “गंगामायाको विषयमा सरकार गम्भीर छ ।” यसअघि सरकारले जेठो छोरो नुरप्रसाद अधिकारी र गंगामायाको सुरक्षा, हत्यामा संलग्नहरूलाई कानुनी कारवाही, क्षतिपूर्ति, तत्कालको भरण पोषण गर्ने लगायतका विषय समेटिएका थिए । कृष्णप्रसादको हत्यामा संलग्न भनिएका छविलाल पौडेल आफैँ अदालत उपस्थित भइसकेका छन् । अन्य आरोपित जानुका पौडेल, भीमसन पौडेल र रामप्रसाद अधिकारी भने सम्पर्कमा आएका छैनन् ।