प्रकाश पाण्डे , नुवाकोट ।
राजनीतिक षडयन्त्रको सिद्धान्तमा अन्ततः सुरुवातकर्ताले आधार तयार पारिदिन्छ । विश्वको राजनीतिक इतिहासको सामान्य अध्ययनबाट पनि यो निष्कर्ष निकाल्न सकिन्छ । हाम्रो देशको इतिहास पनि यो कुराको पुष्टि गर्न काफी छ । पृथ्वीनारायण शाहको देहावसानपछि आधुनिक नेपालको राजनैतिक इतिहास पूर्ण त जालझेल र षडयन्त्रको निरन्तरताको रूपमा रहिआएको छ ।
राजेन्द्रलक्ष्मी र बहादुर शाहबाट सुरु भएको आधुनिक नेपालको राज्य सत्ताको षड्यन्त्रको सिलसिला के. पी.ओलीसम्म आइपुग्दा रूपमा फरक भए प नि सारमा उही नै छ । इतिहासलाई सरसर्ती हेर्दा नेपालमा जति राजतीतिज्ञ र शासकहरू जन्मिए ती सबैको अन्त बिर्सन लागेका छन् । वर्तमानमा ओली त्यो स्थानमा पुगेका छन् । ओलीभन्दा अगाडिका शासकहरूलाई इतिहासले “सतीले सरापेको देशमा केही हुन्न” भन्ने लाचार पङ्क्तिले सहानुभूति दिने भए पनि ओलीका लागि त्यो सुविधा पक्कै मिल्ने छैन । पहिलो पटक सत्ता छोड्दै गर्दा ओलीले आफूलाई महाभारतको अभिमन्यू बनाइएको गुनासो गरेका थिए । उनले फेरि सत्तामा आएर देखाइ दिने दृढता पनि व्यक्त गरेका थिए । भाग्यमानी पनि मान्नुपर्छ ओली दोस्रोपटक सत्ताको महारथी बने ।
ओलीका शासन शैली लोकप्रिय हुँदै आफूलाई बलशाली देखाएर देश र जनताको गरिब र पिछडिएको छविलाई विकास र समृद्धिको जग बसालेर इतिहासमा महान् बन्ने अवसरको सदुपयोग गर्न उनी पूर्णत असफल भए । बरु उल्टै आफैले बनाएको षड्यन्त्रको चक्रव्यूहमा आफै फस्न पुगे ।
ओलीको पचास वर्षे राजनीतिक जीवन हेर्ने हो भने त्यति उतारचढावपूर्ण रहेको पाउन सकिँदैन । ओलीले जीवनभर बिताएको पार्टी कम्युनिष्ट भए पनि उनले सधैँ व्यक्त गर्ने विचार र राजनैतिक कर्मले उनी कम्युनिष्ट विचार धाराका अनुयायी हुन् भन्ने आधार दिँदैन । उनलाई चिनाउने र उनले गर्वका साथ भन्ने गरेको चौध वर्षे जेल जीवन उनको राजनैतिक आस्थाको एउटा पाटो ठहरिन्छ ।
एकाथरीका कम्युनिष्टले निकै गर्व गर्ने अठ्ठाइस साले झापा विद्रोह जुन विद्रोहलाई जोडेर ओली पक्षधरले उनको महिमागान गाउँछन्, स्वयम् ओली भने हरेक पटक त्यस्तो हत्या गर्ने विद्रोहको शैलीको रक्षामा आफू कहिल्यै नभएको दलिल दिएर थाक्दैनन् । उनी आफ्नो चौधवर्षे राजनीतिक जेल जीवन उदारवादी प्रजातन्त्रका लागि भएको कुरा गर्वका साथ भन्छन् । सम्भवतः इतिहासमा उनीमा त्यस्ता इमानदार व्यक्ति हुनेछन् जो जीवनभर नेपाली ब्राण्डको अन्तराष्ट्रिय कम्युनिष्ट झन्डामुनि बसेर नढाटिकन उदारवादी प्रजातन्त्रको पक्षमा राजनैतिक दलाली गरेका छन् । अरू सबै नेपाली कम्युनिष्ट भन्नेहरूले यो मामलामा बेइमानी गरेका छन् । त्यसैले अठ्ठाइस सालको झापा विद्रोह तत्कालीन सदस्य ओली आफ्नो पचास वर्षे राजनैतिक जीवनको अन्तमा जीर्ण शरीर बोकेर डगमगाइरहेको कुर्सी सम्हाल्ने अवस्थामा राजनैतिक विचार र आस्थाले भन्दा पनि उनका ज्योतिष बाबुले भने जस्तै कुण्डलीको राज योगको कारणले पुगेका हुन् भन्दा अतिशयोक्ति हुँदैन ।
राजनैतिक जीवनमा ओली लामो समयसम्म पार्टीभित्रै वैचारिक रूपमा पेलानमा परिरहे । कम्युनिस्ट विचारधाराको उर्लंदो भेलमा ओलीको उदारवादी धारले छयालिस सालको बहुदल हुँदै नवौं महाअधिवेसनमा आाइपुगेर ओली पार्टी अध्यक्ष बन्न सफल भए । त्यतिबेलासम्म ओलीका पार्टीका कम्युनिष्ट विचार धाराका अनुयायी मात्र होइन बाउन्न सालदेखि सशस्त्र जनयुद्ध सुरु गरेर बन्दुकबाट सत्ता कब्जा गर्छ भन्ने कम्युनिस्ट गुरिल्लाहरू पनि संसदीय उदारवादी भाषामा पतन भइसकेका थिए ।
लामो समयदेखि पार्टीमा अवसर, असफलहरूको गुट, एन.जी.ओ, आइ.एन.जी.ओको सञ्जाल र हल्लाखल्ला गर्ने कार्यकर्ताको जमातलाई नेतृत्व दिँदै ओली त्यहाँसम्म पुग्न सफल भए । तत्कालीन जनयुद्धबाट संविधान सभाको ढालमा आफूलाई छेक्दै संसदीय व्यवस्थामा छिरेको माओवादी धार राजनीतिकोे केन्द्रविन्दुमा आइपुग्यो । माओवादीको उदयबाट शहरीया सम्भ्रान्त र पुरानो सत्ताका पक्षपातिहरू आत्तिएको अवस्थामा सबैभन्दा अग्रस्थानमा उभिएर माओवादी भेलको प्रतिविरोध गर्न उनै ओली र उनका अनुयायी सक्रिय थिए । जसले ओलीलाई राजनीतमा स्थापना गर्ने काम गर्यो । उनी प्रतिक्रियावादी पक्षको विश्वाशिला पात्र बन्न आइपुगे र अन्त्यमा जिते पनि । यसबाट के प्रष्ट हुन्छ भने ओली नेपाली राजनीतिमा सिर्जनात्मक विचारधारा दिने भन्दा पनि विरोधी भावना फैलाउन र प्रोपागान्डालाई स्थापित गर्ने सवालमा सफल भएका हुन् । जसको निरन्तरता सत्ताको महारथीभन्दा पनि प्रोपागान्ट दिइ बढे ।
निकै लामो समयको राजनैतिक सङ्क्रमण टुङ्गिदै संविधान जारी हुँदै गर्दा उनले देशको नेतृत्व हासिल गर्ने मौका पाए । तत्कालीन तीन ठुला पार्टीहरूको पूर्वसहमतिअनुसार ओली प्रधानमन्त्री बने । तत्कालीन प्रधानमन्त्री शुशिल कोइराला सहमतिमा टिकिराख्न सकेनन् । उनले राष्ट्रपति बन्ने सौभाग्य गुमााउँदै गर्दा त्यसको राजनैतिक फाइदा ओलीलाई नै पुग्यो । प्रचण्ड राजनैतिक इमानमा टिक्न सक्छन् भन्ने उदाहरण देखाए । आन्तरिक र बाह्य परिस्थिति अनुकूल भएको अवस्थामा–तत्कालीन भारतीय नाकाबन्दी र मधेशवादी दलको आन्दोलन देश र जनताका लागि घाटा भए पनि राजनीतिका लागि त्यस्तो परिस्थिति अनुकूल बन्दिनाले ओली प्रधानमन्त्री बन्न पुगे भारतीय ऐजेन्टको उपमा पाएका उनी महान् राष्ट्रवादी बन्न पुगे । ओली र उनको पक्षधर खेमाको स्वभावमा परिवर्तन आएन ।
प्रचण्डको वैशाखी टेकेर प्रधानमन्त्री बनेका उनी प्रचण्ड र उनले नेतृत्व गरेको धारलाई सक्काए मात्र आफ्नो भविष्य सुरक्षित हुने देख्न थाल्यो । ओली र उनको प्रोपागण्डिष्ट सञ्जालत्यस्माअधोरात्र खटिन थाल्यो । तिनै प्रचण्ड जसले आठ महिना अगाडि ओलीलाई प्रधानमन्त्री बनाउँदै गर्दा राजनैतिक इमानको भाषण गर्थे, तिनै प्रचण्डले कांग्रेससँग मिलेर ओलीलाई प्रतिस्थापन गरिदिन प्रचण्डले “अति नै पेलान पछिको निर्णय”भन्दैै गर्दा ओलीआफूलाई अभिमन्यू बनाइएको आक्रोश पोख्दै बालुवाटारबाट विदा भएकाथिए । ५२ सालको जनयुद्धको सुरूवात पछि नेपाली राजनीतिमा उदाएका प्रचण्डको राजनैतिक आरोह अवरोहको निरन्तरता अझै चल्दै छ । अहिले नै उनको राजनैतिक जीवन कुन विन्दुमा गएर वियोगान्त पतन हुन्छ या सुयोगान्त इतिहास बनेर रहन्छ अनुमान गर्नु हतार हुन्छ । तर यति भन्न सकिन्छ नेपालको राजनीतिमा रङ फेर्ने मात्र छैन मन मष्तिस्क नै फेर्ने पात्र प्रचण्ड हुन् ।
आम गरिब शोषित पीडित जनताको क्रान्ति र परिवर्तनको सपनाको नेतृत्व गर्ने सवालमा कम्निष्ट कमाण्डर हुँदै उदारवादी संसदीय व्यवस्थाको फरर्वाडर बन्न आइपुग्दा सम्म उनले कति काँचुली फेरे त्यस्को लागि छुट्टै किताब नै लेख्नु पर्ने हुनसक्छ । तर सारांशमा यति भन्न सकिन्छ वर्तमानमा प्रचण्ड अझै क्रान्तिको रूमानी सपनामा झस्कनेहरूका लागि सच्चा कमाण्डर विरोधीहरूका लागि सत्र हजारको रगत पिउने रक्तपिपाशु शहरिया सभ्रान्तका लागि हाउँगुजी ,दलाल पूँजीवादीहरूका लागि ढुलमले र यो अलेक कर्ताको लागि वर्तमान दलालहरूको कुटिल खेलाडी हुन् ।
ओलीका लागि सत्ता धेरै पर पुगेकै थिएन । सत्ताबाट झर्नु परे पनि उनले नजिँकिदै गरेको चुनावमा भाषण गर्नको लागि केही नाराहरू पाएकै थिए । अझ उनले त नाकाबन्दीका राष्ट्रवादी ब्राण्ड नै आफुमा सिमित बनाएका थिए । चुनावको परिस्थिति आफ्नालागि प्रतिकूल देखिरहेका दुई कुटिल खेलाडीहरू जो विपरीत धु्रव जस्ता देखिन्थे रातारात गठबन्धन गर्न आइपुगे । गठबन्धन मात्र होइन पार्टी एकताको नारा लिएर चुनावमा होमिए । राजनीतिको जादुमा रोमाञ्चित बनेका पार्टी कार्यकर्ता र जनताले मत पनि दिए ।
अन्तत गठबन्धनको बल माओली अभिमन्यूको पुन नेपाली सत्तामा उदय भयो । ओलीका लागि दोस्रो कार्यकाल चुनौतीभन्दा अवसरले भरिएको थियो । जनतामा थोर बहुत सपना र आशा जगाउन सफलता मिलेकै थियो । सहयोद्धा कमरेडहरूको सहयोगमा चाहेर होस या नचाहेर उभिन बाध्य नै थियो । ओलीकै भाषालाई मिलाउने हो भने उनी अभिमन्यूबाट श्री कृष्ण बन्ने अवस्थामा पुगेका थिए । तर विडम्बना ओली जानेर हो या अञ्जानमा सकुनी पथतिर द्रुतगतिमा दगुरे । उनले दुई वर्षमा गरेका काम, देखाएको शैली, अनेक काण्डहरू हुँदै उध्यादेश र सांसद प्रकरणसम्म अढाई वर्ष पुग्ननपाउँदै आफ्नै षडयन्त्रको जालमा फसेर राजनीतिक पतनको विन्दुमा आइपुगे । दुई तिहाई नजिक बहुमतको जगमाउनको सत्ता धर्मराउने अवस्थामा उनी आफैले पु¥याए । उनी मात्र हैन सत्तरी वर्षे कम्यिुनिष्ट आन्दोलन प्रति नै जनताको भरोसा डगमगाउन पुगेको छ ।
अन्तमा ओलीले आफ्नो सत्ता जोगाउन सक्लान् या नसक्लान् । नेकपाले आफ्नो भविष्य सुरक्षित राख्न सक्ला या नसक्ला त्यो त समयले बताउला । तर वर्तमानमा नेपाली राजनीतिमा फेरि अस्थिरताको बादल मडारिन थालेको छ । देशको सामाजिक, आर्थिक, राजनैतिक विकासको सपनामा तुसारापात भएको छ । नेपाली सत्तामा पात्र परिवर्तन हुने र पतन हुने दुःखदायी श्रृखलाले अझै निरन्तरता पाइरहेको छ । यस्तो अवस्थामा देश र जनतामा आशा जगाइराख्ने जिम्मेवारी हामी जस्ता युवाको काँधमा छ । किन कि अस्तव्यस्त अवस्थाबाट नै जागरण र आन्दोलन पनि उठ्ने विश्वको इतिहास छ ।
नेपाली राजनीतिको वर्तमान अवस्थामा वामदेवलाई केन्द्रमा राखेर जनमत प्राप्त सरकार परिवर्तनका कुरा चलिरहेका छन् । यस चक्रव्युहमा ओली स्वयम् फस्न सक्ने सम्भावना छ । यस चक्रव्युहबाट ओली सकुशल निस्कन सकून् र सत्ता छोडे पनि ऐच्छिक रुपमा छोडून् र हाँकिरहे पनि जनमतको कदरसाथ राम्ररी हाँक्न सकून् । ओलीको सत्ता बहिर्गमनसँगै नेपाली राजनीतिज्ञहरुको दुःखान्त पतनको क्रम भङ्ग गर्न सकून् ।
नुवाकोट

