सिर्जनशील यात्राको पाठक, दर्शक र श्रोता बन्छुः   रमेश शुभेच्छु

(प्रारम्भ खबर डटकम उद्घाटन तथा स्थानीय तहमा सञ्चारको भूमिका विषयक अन्तक्रिया कार्यक्रम २०७५ असार २६ गते प्रस्तुत मन्तव्य)

धन्यवाद उद्घोषक ज्यू,
समारोहका सभाध्यक्ष भीम लामा ज्यू
समारोहका प्रमुख अतिथि नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री माननीय शेरबहादुर तामाङज्यू,
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा ज्यू,
वरिष्ठ सञ्चारकर्मी एवम् कलाकार श्रीकृष्ण सिंखडाज्यू,
समाजसेवी दोर्जेमान जिम्बाज्यू,
अधिवक्ता नरनाथ आचार्यज्यू,
कलाकार बसन्ती लामा ज्यू,
पत्रकार बन्धुहरु

अगाडि पछाडि आसन ग्रहण गर्नुहुने सहभागी आरम्भ खबरसंबद्ध र अन्य सञ्चारप्रेमी महानुभावहरुमा हार्दिक न्यानो अभिवादन ।
सर्वप्रथम त आरम्भ खबरलाई हार्दिक बधाई ज्ञापन गर्छु । यस सञ्चार माध्यमले आफ्नो उद्देश्य प्राप्त गर्न सकोस् । यस संवद्ध सञ्चारकर्मी मित्रहरुले आफ्नो पेसालाई मर्यादित र आत्मनिर्भर बनाउन सक्नुहोस् । एक्युरेसी, व्यालेन्स र क्रेडिबिलिटी देखाउन सक्नुहोस् ।

आज नेपाली सञ्चार जगत्मा एउटा नयाँ सञ्चार माध्यम थपिएको छ । मलाई खुसी लागेको छ । खुसीभन्दा पनि मलाई गौरव लागिरहेको छ । कुनै दिन म आज उद्घाटन भइरहेको सञ्चार माध्यमका अक्ष्यक्ष एवम् प्रधान सम्पादक भीम लामाको शिक्षक थिएँ । भीमजी मेरो शिष्य हुनुहुन्थ्यो । उहाँलाई मैले साहित्य पनि पढाएँ । सञ्चार विषय पनि पढाएँ । आज उहाँको नेतृत्वमा यो नयाँ सञ्चार माध्यमको उद्घाटन भइरहँदा मलाई असाध्यै गर्व लागेको छ । यसलाई अनलाइन पत्रिका मात्र भनेर पुग्दैन । यो अनलाइन सञ्चार संस्था हो । यहाँहरुको शीर्षकी करणले पनि अलिकति संकेत गरेको छ । अनलाइन खबर भनेर । खबरले लगभग प्रकाशन र प्रशारण दुवै माध्यमलाई समेट्न सक्छ । यसले प्रशारण प्रकाशन दुवै काम गर्छ । यो आजको युगसापेक्ष पनि छ । विकसित मुलुकका सञ्चारमाध्यम सापेक्ष बहुउपयोगी छ ।

म शुभकामना त दिनै उभिएको हुँ । शुभकामना त दिन्छु नै । शुभकामनासँगसँगै अनलाइन सञ्चार माध्यमले गरेका राम्रा कुरा अनुशरण गर्न र कमजोरीहरुलाई नदोहोर्याउन पनि सम्झाउँछु । सजग रहन पनि आग्रह गर्छु । आज नेपालमा २५०० जति अनलाइन रहेका छन् । तीमध्ये हजार जति दर्ता भएको अवस्था होला । कति खुलेर लहड र रहरमै बन्द पनि भए होला । सङ्ख्याका दृष्टिले अनलाइन मिडियाहरु धेरै भए पनि तिनीहरुको सञ्चार सामथ्र्य भने कपी पेस्टमै सीमित छ । मौलिक सामथ्र्य ज्यादै कमजोर छ । कपी पेस्टले सिर्जनशीलता बढाउन सक्तैन । कपी पेस्टले व्यवसायिकता र पेसाको मर्यादा पनि बढाउन सक्तैन । यो सञ्चार माध्यम सिर्जनशील र व्यवसायिक बन्न सकोस् भन्ने मेरो कामना छ । ठाउँठाउँमा आफ्नै सिर्जनशील संवाददाताहरु राखेर काम गर्न सकोस् भन्ने शुभेच्छा छ ।

आज अनलाइनहरुलाई कानुनका दायरामा ल्याउन नसकेको अवस्था छ । उनीहरुले पनि कानुन नबुझेको अवस्था छ । यस्तो अवस्थामा देशको कानुनमन्त्रीका हातबाट नयाँ अनलाइन सञ्चार माध्यमको उद्घाटनको घटना आफैमा सुखद र चुनौतिपूर्ण पनि छ । यसको नियमन र व्यवस्थापनका लागि सञ्चार मन्त्री र कानुन मन्त्रीवीच सहकार्यको खाँचो छ । सञ्चार मन्त्रालय र कानुन मन्त्रालयवीच समन्वयको खाँचो छ । अनलाइन सञ्चारमाध्यम र केहीबाहेकका सञ्चार माध्यमले प्राविधिक पक्षलाई व्यवसायिक बनाए पनि बौद्धिकता र सिर्जनशीलतालाई व्यवसायिक बनाउन सकेका छैनन् । त्यसतर्फ पनि यस नयाँ जन्मँदै गरेको अनलाइनका सञ्चालकहरुको ध्यान जाओस् ।

 

कानुन मन्त्रीका हातबाट उद्घाटन हुँदै गरेको पत्रिका, अझ कानुन मन्त्रीले रिमोट चलाएर उद्घाटन गरेको पत्रिकाको रिमोट देशको कानुन, मर्यादा र नवनिर्माणमा सहायक बन्न सकोस् ।

मैले भनेको वौद्धिकता र सिर्जनशीलता यस सञ्चार माध्यमको लोगोसहितको नारासँग सम्बन्धित छ । त्यहाँ भन्नुभएको छ खोज अनुसन्धान र पारदर्शी सञ्चार । यो नारा नै काफी छ । म लोगो र नाराको व्याख्यामा नजाऊँ । त्यो यहाँहरुले बुझिसकेको कुरा हो । मैले भन्न खोजेको, यहाँ टाइप गर्ने व्यक्ति टाइप गरेर खान सक्ने भएको छ । प्रेस चलाउने व्यक्ति प्रेसलाई व्यवसायिक बनाउन सक्षम भएको छ तर सिर्जनशील पत्रकार र लेखकहरु व्यवसायिक बन्न सकिरहेका छैनन् । समाज र देशका लागि भन्दै खालिपेट खट्नु पर्ने अवस्थामा छन् । यो पक्षलाई पनि यस सञ्चार माध्यमले चिर्न सकोस् । सिर्जनशीलता र खोजलाई विशेष महत्व दिन सकोस् । व्यवसाय र सिर्जनशीलतालाई सँगसँगै अगाडि बढाउन सकोस् । कानुन मन्त्रीका हातबाट उद्घाटन हुँदै गरेको पत्रिका, अझ कानुन मन्त्रीले रिमोट चलाएर उद्घाटन गरेको पत्रिकाको रिमोट देशको कानुन, मर्यादा र नवनिर्माणमा सहायक बन्न सकोस् । अरुको रिमोटको सिकार बन्नु नपरोस् । समाज र सञ्चार क्षेत्रकै विकृति हटाउन सकोस् ।

आजको कार्यक्रममा स्थानीय तहमा सञ्चार माध्यमको भूमिका भन्ने विषय पनि चर्चाको विषय छ । यहाँ म भन्दा विज्ञ व्यक्तित्व हुनुहुन्छ । उहाँहरुका विचार सुनेपछि अन्तरक्रिया नै गर्नु परे म पनि गरुँला । मैले जानेको आज सञ्चारले समाजमा केही सकारात्मक प्रभाव ल्याइराखेको छ । सबैले कमजोरी गर्यो भने पत्रिकामा छापिन्छ भन्ने थाहा पाएका छन् । सबैले राम्रो काम गर्यो भने पत्रिकामा छापिन्छ भन्ने कुरा पनि थाहा पाएका छन् । स्थानीय तहका साना साना विषय पनि समाचार बनिरहेका छन् । यो खुसीको कुरा हो । तर सञ्चार माध्यमले तुलनात्मक रुपमा हेर्दा सकारात्मक भन्दा बढी नकारात्मक कुरालाई बढवा दिएको हो कि जस्तो भान पनि परिरहेको छ । समाजका यावत नाकारात्मक चिन्तन, सोच र व्यवहारका विरुद्धमा उभिँदै सकारात्मक चिन्तन, सोच र व्यवहारको स्थापना र सञ्चारमा यो सञ्चारमाध्यम खरो उत्रन सकोस् ।
स्थानीय तहमा सञ्चारमाध्यमको कुरा गर्दा केही सोचनीय पक्ष पनि छन् । सबैका पहुँचमा अनलाइन मिडिया छ कि छैन ? यो पक्ष पनि सोचनीय छ । तर विश्वसन्दर्भमा हेर्दा शताब्दी लामो इतिहास भएका सञ्चार माध्यमहरु प्रिन्ट छोडेर अनलाइन संस्करणहरु प्रकाशन गरिरहेका छन् । यसको विकासमा राज्यको दायित्व र कानुनले पनि काम गर्छ । ती मुलुकहरुमा रहेको इन्टरनेटको सुविधा हाम्रामा मुठीभरमा पनि पुग्न सकिरहेको छैन । हामी इन्टरनेट प्रयोगकर्ताले पनि निकै दुखले मात्र प्रयोग गरिरहेका छौँ । यद्यपि यो सोच र आरम्भ शुभारम्भका रुपमा छ । सञ्चारमाध्यमको पछिल्लो विश्वव्यापीकरणसँग सम्बन्धित छ । असीमित सामग्री प्रकाशनका लागि उपयोगी छ । रेडियो, टेलिभिजनमा समय र छापामा हुने स्थानको सीमालाई यसले नाध्न सकेको छ । यो स्वतन्त्र माध्यम बनेको छ व्यापक माध्यम बनेको छ यस अर्थमा पनि बधाइ दिन्छु । र कामना पनि गर्छु हाम्रो मुलुकमा पनि सबैका पहुँचमा अनलाइन मिडिया पुग्न सकोस् । र ती विकसित बेलायत, अमेरिका जस्ता मुलुकले थालेको अनलाइन क्रान्ति सफल बनोस् ।


म पुनः हर्षबढाइ गर्छु । हाम्रो समाज सन्तानका उन्नति र शिष्यका उन्नतिमा खुसी हुने समाज हो । हाम्रो समाज उधीमाया र विश्वासको समाज हो । पुत्रादीक्षत् पराजयत्मा विश्वास गर्ने समाज हो । अघि नै भने मैले भीमजीलाई पढाएको थिएँ । उहाँलाई मैले साहित्य र सञ्चार दुवै विषयका कक्षामा पढाएँ । शिक्षक माझी मात्रै हो पारि तार्ने तर उहाँले आज सम्झनुभयो । यतिबेला मैले पढाएका संस्थाले दिएको तलब भन्दा सयौँ गुणाबढी खुसी मिलेको छ । त्यो संस्थाले दिने जस भन्दा हजार गुणा बढी खुसी लागेको छ । यस मिडियाका संस्थापक मित्रहरुमध्ये राजेश श्रेष्ठलाई पनि मैले स्नातक कक्षामा यही सञ्चार विषय नै पढाएको थिएँ । उहाँ अहिले विदेश पुग्नुभएको सामाजिक सञ्जालबाट थाहा पाएको थिएँ , अर्की सदस्य मोनिका लोप्चनलाई मैले पहिलो पटक एउटा पन्ध्र दिने उद्घोषण एवम् भाषणकला प्रशिक्षणमा म प्रशिक्षक र उहाँ प्रशिक्षार्थीका रुपमा रहँदा भेटेको र चिनेको थिएँ । उहाँ उत्साही मिहिनेती र जिज्ञासु नारी हुनुहुन्छ । अरु साथीहरु सुजन पाख्रिन, विवेक लोप्चन र अमृत तामाड. थोकरलाई पनि मैले चिनेको छु । उहाँहरु युवाअभियानहरुमा र सामाजिक कार्यक्महरुमा सक्रिय कार्यकर्ताका रुपमा खटिरहेको देखेको छु । मलाई थाहा छ उहाँहरु यो अनलाइन खबर डटकम सञ्चालमा एबिसि को नियम पालना गर्नुहुने छ । समाज परिवर्तनका पक्षमा रहने सञ्चार माध्यमहरु समय सापेक्ष परिवर्तन हुन पनि आवश्यक छ । नेपाली सञ्चार जगतमा अनलाइन सञ्चार माध्यम साँचै परिवर्तनका दिशामा उभिनु पर्छ । आफूले जाने र सिकेको कामलाई निरन्तरता दिने मान्छे पक्कै सफल हुन्छन् । यहाँहरु सफल हुनुहुने छ । भीमजीको थुप्रै मिडियाको अनुभव छ । म यहाँहरुमध्ये आधा सदस्यको शिक्षक पनि भएकाले थप शुभकामना व्यक्त गर्छछु । र विश्वास पनि गर्दछु । र अब यहाँहरुका सिर्जनशील यात्राको पाठक, दर्शक र श्रोता बन्छु ।

मलाई बोलाएर पहिलो वक्ताका रुपमा उभ्याउनुभयो । माननीय मन्त्रीज्यूले नयाँ पुस्तालाई उपस्थित भएर हौसला दिनुभयो । सबै परिचित मित्रहरु सञ्चालक भएको यस मिडियामा मन्त्रीज्यूलगायत यहाँहरुमा पहिलो वक्ता भएकाले स्वागत अभिवादन पनि गर्छु । सामान्य मान्छेलाई विशेष अवसरका लागि धन्यवाद अभिवादन पनि गर्छु । थप शुभकामना अभिवादन पनि गर्छु । मलाई सम्झने संस्थासंबद्ध सबै मित्रहरुप्रति पुनः आभार र शुभकामना भन्दै विदा लिन्छु । यो अनलाइन खबर हरेकका क्लिकमा रोज्जा होस् । हरेकका कम्प्युटर, ल्याप्टप र मोवाइलका अनमा पर्न सकोस् । धन्यवाद ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.