–आनन्दराम पौडेल
पाँच बर्षअघि (सन २०१२ जुन महिनाको दोश्रो हप्ता) वीरगञ्जनजिकको भारतीय सीमावर्र्ती शहर रक्सौल गएका थियौं । किनमेल सकिएपछि रक्सौलको होटेलमा खाजा खाँदैगर्दा न्यूज च्यानेलले भारतीय लोकसभाको दृष्य देखाइरहेको थियो । सांसदहरु निकै तातेका देखिन्थे, चर्को–चर्को वोलिरहेका थिए र शैली आक्रामक थियो । एक किसीमले हङ्गामाको स्थिति देखिन्थ्यो । सदनभित्र हुरीवतास,मेघ गर्जन र चट्याङ थामिएपछि प्रधानमन्त्री मनमोहन सिंह वोल्न थाल्नुभो । तर,उहाँको अनुहार सौम्य र स्पीच सन्तुलित थियो । होटेल साहुलाइ टेलिभीजनतर्फ इशारा गर्दै हामीले, “तपाईंहरुको पिएम कति सौम्य र शान्त छन्” भन्यौं । उनले, “मनमोहन भन्दापनि अटलविहारी वाजपेयी सज्जन थिए” भने । नजिकै वसेका वृद्धले भने, “गुल्जारिलाल नन्दा त अझ सन्त नै थिए । अटलविहारी यदाकदा कटाक्ष गरिरहन्थे, भलै कटाक्ष घातक र विषालु हुँदैनथ्यो ।” होटेल साहुले हामीलाइ नेपाली ठानेर होला, पहिले हाम्रो विहारमा गुण्डाराज थियो, अहिले त्यो रोग नेपाल सरेको छ भन्न भ्याए । होटेलबाट फर्केपछि हाम्रा प्रधानमन्त्रीमा त्यो चरित्र खोज्न थालें । कृष्णप्रसाद भट्टराईलाइ अटलजीसँग दाँज्न सकिने देखें । गुल्जारिलाल नन्दासँग दाँज्न मिल्ने व्यक्तित्व फेला पार्न सकिन । विहारको गुण्डाराज रोग नेपाल सरेको भन्ने वाक्य मस्तिष्कमा गढेर वस्यो ।
नेपालमा राजनीति मात्र प्रदुषित भएको हैन सामाजिक धरातल पनि खस्केको छ । मैले आफ्नै नाताकुटुम्ब र वरिपरीको परिवेश सम्झें, धूर्त,चलाक र छट्टुहरु रातारात मालामाल भैरहेका, तर योग्य भएपनि इमान्दारिताको रोग लागेकाहरुको भागमा उपेक्षा मात्रै परेको देखें । टपर्टुईंयाँहरुको इज्जत ह्वात्तै बढेको, स्वाभिमानीहरु ओझेल परेको र भूईंफुट्टा संस्कृतिले छपक्कै ढाकेको देखें । ३०–३५ बर्ष अघिसम्म यही नेपालमा सामान्य चेतना पसेका मानिसहरु जीवनका आधारभूत आवश्यकता पूर्ति सँगसँगै जीवनको सार्थकताको खोजी गरिरहेका भेटिन्थे । इतिहासको विरासत तथा भविष्यको सभ्यताको वीचमा आफ्नो भूमिका निर्धारण गरिरहेका हुन्थे । लेखिंदैरहेको इतिहाँसको वर्तमान पृष्ठमा हाम्रो भूमिका र योगदानलाइ कुन अक्षरले लेखिएला भनेर चासो राखिरहेका पाइन्थे । विश्वलाइ नै चकित पार्ने भव्य ठूला आन्दोलनहरू यहीं नेपालमा भए र उत्सर्ग र वलिदानको लागि तँछाडमँछाड गरिरहेका देखिए, त्यो यही दृष्टिकोण र भावनाबाट अभिप्रेरीत थियो।
‘सङ्क्रमणकाल’ शव्द अचाक्लि प्रयोग भैरहेकाले यो शब्द देख्दापनि झिंझो लाग्ने भैसकेको होला। यदि राष्ट्र र समाज गतिशील छ भने त्यो समाज र राष्ट्रका लागि हर क्षण सङ्क्रमणकाल नै हुन्छ । हरेक सङ्क्रमणकालले राष्ट्रिय नायकको माँग गर्छ, त्यस्तो नायक जस्लाइ राष्ट्रले स्वीकार गरेको होस राष्ट्र र समाजले त्यसवेला गति प्राप्त गर्छ जव त्यहाँ रचनात्मक अभिप्रेरणाका तत्वहरु पर्याप्त हुन्छन् समाजको साझा दृष्टिकोण, लक्षचिन्तन र विचारलाइ वुझेर राष्ट्रले अख्तियार गर्न खोजेको बाटो र दिशा प्राय राष्ट्रका नायक मार्फत अभिव्यक्त हुन्छ । त्यस्तो नायकले राष्ट्रको मुटु छामेको हुन्छ र ढुकढुकी चिनेको हुन्छ । दक्षिण अफ्रिकामा नेल्शन मण्डेलाले राष्ट्रको ढुकढुकी वुझेका थिए । ब्राजिलमा लुला (इनासियो लुला डा सिल्भा) ले राष्ट्रको नाडी छामेका थिए । पूर्वी टिमोरका सनाना गुजमाओलाइ जनताले आफ्नो बनाइसकेका थिए । भारतमा गान्धीलाइ जनताले आस्थाको केन्द्रमै विराजमान गराए। विहारमा नितिसले रोग कहाँनिर छ भनेर ठम्याए र त्यहीं उपचार शुरु गरे । चीनमा माओत्सेतुङले राष्ट्रको ज्वरो नापेका थिए। एक जमानामा फिलिपिन्स पनि अहिलेको नेपालजत्तिकै जर्जर भैसकेको थियो। चौतर्फी विद्रोहको राँको सल्केको थियो । असुरक्षा र कुशासनले जनता पिल्सिएका र हाहाकार मच्चिएको थियो । यस्तो डावाँडोलको स्थितिमा राजनीतिमा कहिल्यै नदेखिएका रेमोन म्यागसेसेले राष्ट्रलाइ लागेको रोगको लागि औषधि प्रेस्क्राइव गरे– सुशासनको ट्याब्लेट । शुरुमा त उनको कुरो कसैले सुनेन, तर विस्तारै उनका कुरातिर ध्यान दिन थाले । एउटा गैरराजनीतिक व्यक्तिलाइ जनताले पत्याए र राष्ट्रपतिमा निर्वाचित गरे । मात्र सुशासनमा फोकस रहेर राष्ट्रलाइ वैतरणी पार लगाए । अमेरिकामा जर्ज वासिङ्गटनलाइ जनताले राष्ट्रको अभिभावक ठान्थे । तेश्रो पटकको लागि कर नगर्ने शर्तमा मात्र उहाँले दोश्रोपटक राष्ट्रपति हुन मञ्जुर गर्नुभएको थियो । त्यही वेलादेखि नै अमेरिकामा कुनैपनि व्यक्ति दुईपटक भन्दा बढी राष्ट्रपति हुन नपाउने थिति वसेको हो ।
अमेरिकामा जर्ज वासिङ्गटनले “दुईपटक भन्दा बढी राष्ट्रपति नवनौं है” भने, त्यही थिति वस्यो । जुन–जुन देशले थिति वसाउन खोजे र थितिमा चल्न चाहे ती देशको दिन दोगुना रात चौगुना विकास भएको छ । जनता आफैंले मूल्य, पद्धति र अनुशासनमा वस्न खोजेभने सम्विधान र कानुनले धेरै खट्न नपर्ने रहेछ । वेलायतमा सम्विधानकै पुस्तक त अहिलेपनि पाईंदैन । २२५ बर्षदेखि एउटा फुच्चे सम्विधानलाइ मार्गदर्शक मानेर अमेरिका समृद्धी र प्रगतिपथमा लम्किरहेछ । कुन देश सिस्टममा चल्न खोज्दै छ, र कुन देश अराजकतामा गैरहेछ सामान्य लक्षणबाटै थाहा हुन्छ । जुन देशका अगुवाले मूल्य–मान्यतालाइ जीवनपद्धति बनाउन खोज्छन् त्यो राष्ट्र सिस्टममा चल्छ भनेर वुझे हुन्छ । जुन देशका अगुवाले “संम्विधानले रोकेको छैन र कानुनले निषेध गरेको छैन” भन्दै स्वार्थ पूर्तिको लागि र आफूखुशी गर्न अनेकौं कुतर्क र अपव्याख्या गर्न थाल्छन्, त्यो राष्ट्र अराजकताको गोलखाडीमा धसियो भनेर वुझे हुन्छ । बेडमा श्रीमतिसँग कस्तो व्यवहार गर्नुपर्छ र आमालाइ कसरी श्रद्धा जनाउनुपर्छ त्यो सम्विधान र ऐनकानुनमा लेखिएको हुँदैन । गुरू,पिता, दाज्यू, काका, मामाहरुलाइ कुन स्थानमा राख्नुपर्छ त्योपनि संम्विधानले भन्दैन । कसैको जात, नश्ल, रङ्ग, लिङ्गलाइ प्रयोग गरेर होच्याउने भाषामा च्वास्स विझ्नेगरी वोल्न र लेख्न हुन्छ कि हुँदैन, त्योपनि सम्विधानले प्रष्ट वुझ्नेगरी वताउँदैन। वेलायतले ऐनकानुन र नियमको दफामा राष्ट्रिय सहमति खोजेन । त्यहाँको न्यायप्रणालिमा परम्परागत चलन ७ बर्ष अघिसम्म थियो, जुन ऐनकानुनमा लेखिएको थिएन। अमेरिकाका जनप्रतिनिधिहरु सिनेटभित्र एउटै भेषमा भेटिन्छन्, जुन ऐनकानुनले बाध्य बनाएको थिएन ।
संम्विधान र ऐनकानुनलाइ जिम्मा लगाएर मात्रै हुँदैन । जुन राष्ट्र, समाज, समुदाय र व्यक्तिसँग लक्षचिन्तन, सार्थकताको खोजि र उद्देश्य प्रष्ट छैनभने कानुनका डण्डाले ठटाएर मात्र राष्ट्र उँभो लाग्दैन । सपना डढेको, मूल््य निख्रेको र आदर्श हराएको यस्तो समाजमा हामी अहिले वाँचिरहेछौं जस्ले हामीभित्र नत प्यास जगाउँछ, नत कुनै सम्भावना देखाउँछ, नत घच्घच्याउँछ, नत उल्लासित नै पार्छ । नपुङ्सक कालखण्डमा निस्क्रिय साक्षी भएर रहेका छौं, जहाँ निसाचरहरु वितण्डा मच्चाईरहेछन् यदि अझैपनि हामी जाग्दैनौंभने, “यो सुन्दर नेपाल राष्ट्रमा एउटा कालखण्ड यस्तोपनि थियो जुन बेला अर्धमृत अवस्थाका सम्मोहितहरु रहन्थे” भनेर इतिहास लेखिने छ ।