ज्ञानकाजी तामाङ,
काठमाडौँ
गत वर्ष २०१९ डिसेम्बर अन्त्यतिर चीनको वुहनामा देखा परेको कोभिड १९ अर्थात कोरोना भाईरसको कारणले अहिले विश्व समुदाय चरम आर्थिक र मानविय संकटमा परेको छ । आज बैशाख ११ गते सम्माको विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने विश्वको २०८ देशमा फैलिसकेको यो रोगको कारण हाल सम्म विश्वको करिब ७ अर्ब जनसंख्या मध्ये २७ लाख मानिस संक्रमित भएको र करिब २ लाख मानिसले ज्यान गुमाई सकेको अवस्था छ । विश्वको शक्तिशाली मुलुक अमेरिका अहिले यो भाइरसबाट धेरै मात्रमा ग्रसित हुन पुगेको छ । सम्पन्न र बिकाशित राष्ट्रमा यसको संक्रमण दर र असर बढी छ भने अन्य विश्वमा दिनाहुँ दिन बढरिहेको छ ।
ठुलाठुला हतियार, सम्पती र प्रबिधीको बिकासले पनि यो भाइरसको अगाडी घँुडा टेकेको अवस्था छ । नेपालको सन्दर्भमा भन्नुपर्दा कोरोना भाईरस यहि चैत्र ४ गते पश्चात प्रत्यक्षा रुपमा प्रवेश पाएको पाईन्छ । त्यसपछि हालसम्म ४९ जनामा संक्रमित भएकोमा १० जना निको भई सकेको र बाँकी सबै विभिन्न अस्पतालहरुमा उपचाररत रहेका छन् । मृत्यु हुनेको संख्या हालसम्मा नेपालमा शून्य रहेको छ । विश्वको सबैजसो शक्ति सम्पन्न राष्ट्रहरु यतिखेर यस विरुद्ध लडिरहेको छन् । तर सफलता हासिल गर्न सकेको छैनन् । यसको विरुद्ध लड्न विभिन्न देशहरुले भिन्नभिन्न खालका नीति र विधिहरु अपनाइरहेका छन्, तर पूर्ण रुपमा सफलता प्राप्त गर्नुको साटो झन् झन बढेर गईरहेको अवस्था छ ।
चीन, भारत, नेपाल लगायत विश्वको अधिकंश मुलुकले आ–आफ्नो मुलुकमा लकडाउन गरेको अवस्था छ । सीमा बन्द गर्ने, जो जहाँ छन् त्यही रहने र समाजिक दुरी कायम गरि ब्यक्तिगत सरसफाईमा ध्यान दिने , पटक–पटक साबुनपानीले वा स्यनिटाइजरले हात धुने, हाच्छ्युँ गर्दा वा खोक्दा नाक मुख छोप्ने भीडभाड वा बिरामीको नजिकमा जादाँ माक्स लगाउने जस्ता अभ्यास पनि गरिरहेको छ । सामन्यतय यो महामारीले स्वास्थ्य क्षेत्रमा मात्रै असर पार्न सक्छ भनेर आँकलन गरिएला तर यसको असर विश्व भरि नै हरेक क्षेत्रमा पर्ने कुरा निश्चित छ । यो विश्व महामारीको विरुद्ध संसारभरिकै खर्बौ रुपैया खर्च भैसकेको छ भने प्रायजसो मुलुकले खर्बाै रुपैयाको राहत कोष खडा गरिएको छ । उद्योग कलकारखान, व्यापार व्यावसायमा उथलपुथल रुपमा गिरावट आएको छ । विभिन्न तथ्यांक अनुसार विश्व भरिका करिब ५० लाख मानिस बेरोजगारीको चपेटामा परिसकेको छन् ।
एक महिना अगाडी चैत्र ११ गते देखि शुरु गरिएको लकडाउनले नेपालको अर्थतन्त्रमा ठुलो विचलन हुने कुरा निश्चित छ । कृषि क्षेत्रमा यसको असर केहि न्युन होला तर अन्य सबै क्षेत्रमा यसको असर निकै पर्ने र ठुलो आर्थिक मन्दीको चपेटामा परिने कुरा निश्चत छ । जुन कुराको परिपूर्ति वा सहज हुन नेपाल सरकारलाई कम्तिमा ५ बर्ष थप लाग्ने अनुमान गर्न सकिन्छ । यसबाट नेपाललाई चुनौति र अवसर दुवै मिल्नेछ । किनकी भारत लगायत अन्य मुलुकमा रोजगारमा रहेको करिब ६० लाख युवा स्वदेश फर्कनेछन् । भरखरै विश्व बैंकले गरेको एक अनुमानित सर्वेक्षण अनुसार अल्पविकशित र विकाशोन्मुख देशहरुको यो आर्थिक बर्षाको कुल गर्हस्था उत्पादन नकारात्मक देखि २ प्रतिशतमा झर्ने देखाएको छ । बिकाशित देशहरुको कुल गर्हस्थ्या जलस्रोत, वन, खनिज पदार्थ उद्योग, वाणिज्य, पर्यटन, यातायात, सञ्चार, मानव संसाधन, अन्तराष्ट्रिय व्यापार र अन्तराष्ट्रिय रोजगार तथा रेमिट्यान्सलाई प्रर्बधन गर्दै पुनः नेपालको अर्थतन्त्रलाई अगाढी बढाउनु देखिन्छ ।
चुनौति र असर
नेपालमा खाद्य अभावको कारणले भोकमारी सम्मको स्थिति आउन सक्ने कुरा नेपाल सरकारको कृषि मन्त्रिले यसअघि नै बताईसकेको छ भने जनताप्रति सरकारको उत्तरदायित्वमा बृद्धि हुने, जनतामा त्रास र मनोबैज्ञानिक असर उत्पन्न हुने, गरिबीको तहमा २५ प्रतिशत भन्दा पुनः उकालो लाग्न सक्ने हुँदा नेपालमाथि ठुलो चुनौति आईपर्नेछ । यसैगरि देशमा युवा बेरोजगारी ४८ प्रतिशत बाट बढेर ६० प्रतिशत भन्दा माथि हुन सक्ने र वैदेशिक साहयतामा भारि मात्रमा कटौति हुन सक्ने, रेमिट्यान्सम कमि हुने, हुँदा अर्थव्यबस्थामा झनै जटिल समस्या थपिनेछ । यसैगरि भ्रष्टचार, कालोबजारी, चोरि डकैती जस्ता अपराधिक गतिविधिमा वृद्धि हुनसक्ने, भौतिक पुर्वधार बिकाशका कामहरु सुस्त गतिमा चल्न सक्ने राजश्वा संकलनमा कमि आउने र आर्थिक वृद्धिमा मन्दी आउने भएकाले सरकारले बेलैमा यसको सामना गर्ने योजना बनाउनुपर्छ ।
यसबाट प्राप्त हुने पाठ र सिकाइहरु
विश्व भातृत्व, देश र मातृभुमि प्रतिको मनोभावमा वृद्धि हुनेछ । मुलुकमा उत्पन्न हुनसक्ने खाद्य अभावको लागि मुलुको कृषि प्रणालिमा बैज्ञानिक प्रबिधिको बिकश र प्रयोग गरेर खाद्यन्न र अत्याआवश्यक बस्तुमा स्वदेशमैै आत्मनिर्भर र स्वावलम्वन जीवन पद्धातिको विकास गर्न सकिन्छ । सरकारलाई कुनैपनि बेला उत्पन्न हुनसक्ने विश्व महामारीको संकटको बेला कसरी तयारी गर्ने, कसरी समस्या समधान गर्न सकिने र सरकारको तीन तहको संरचनाको पनि उचित परिचालन गरेर सरकारको चेन अफ कमाण्डमा हरेक जनतालाई जोड्न सकिनेछ । जनतामा स्वास्थ्य क्षेत्रमा जनचेतना दिएर सदियौ देखि रहेको अन्धविश्वस र कुरिती हरुलाइ समेत हटाउन सकिनेछ । त्यस्तै शिक्षा, आहारा, नैतिकता र व्याक्तिगत आचरणमा पनि विकाश र परिवर्तन ल्याउन सकिनेछ । यो आपद् विपद्मा हरेक व्यक्तिले आफ्नो पुर्खाैली थलो नै रोजेको देखिन्छ, यसलाई सहि सदुपयोग गरेर स्थानिय बजार र गाँउगाँउमा उत्पादनमूखि तथा स्वरोजगारमूखि कार्यमा परिचालन गरेर पुनः निर्माण सम्पन्न गर्न सकिन्छ ।
सरकारको लागि चुनौतिको रुपमा रहेको खुला सिमानालाई बन्द गर्नको लागि उचित समय र मौका पनि अहिले बन्न पुगेको छ यसको सदुपयोग गरेर खुल्ला सिमानालाई व्यवस्थित गरेर सिमा क्षेत्रमा हुने अपराधीक गतिविधिलाई सुन्यमा झार्न सकिनेछ । मुलुक ठप्प हुदा राज्यको आम्दानीमा समेत कमी हुनेछ , राजश्व लक्ष्य अनुसार उठाउन सकिने छैन् जसले गर्दा सरकारको दैनिक खर्च धान्न सरकारलाई धौधौ हुनेछ । सरकारले यो बेला उचित कदम चालेर ,सरकारमा रहेको अनाअवश्यक खर्च र कर्मचारीलाई कटौती गरेर, राज्यको खर्चको दायरालाई घटाएर आगमी दिनमा समेत राज्याको अनाअवश्यक खर्च प्रणालीलाई व्यवस्थित गर्न सकिन्छ ।
यो महामारी र संकटको अहिले विश्व समुदायले सामना गरिरहेको छ । हरेक देशको सरकारले उचित कदम चाल्न सके यो महामारी बाट बच्न र मुलुकलाई पुन प्रगतिको बाटोमा डोहोर्याउन सकिन्छ । हाम्रो देशको राजनितिक प्रणाली अस्तव्यस्त छ । सरकारले जनताको लागि राहतको कार्याक्रम ल्याउनुको साटो विवदीत खालको योजना र कदमा चालिरहेको अवस्था छ । राज्यले उचित कदम र तयारी गर्न नसकेको खण्डमा मुुलुक कोरोनाले भन्दा पनि यसपछिको आउने समस्याले झन संकटमा पर्ने निश्चित छ । यस बारेमा राज्यले बेलैमा सोच्न जरुरी छ ।

