असार २४, काठमाडौं । जुम्लामा ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको अवस्था गम्भीर बन्दै गएको छ । उनको स्वास्थ्य अवस्था जटिल बनेपछि स्पेशल केयर युनिटमा राखेर मनिटरिङ गरिरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उनलाई नर्मल स्लाइन पानी र आवश्यकताअनुसार अक्सिजन दिइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । डा. केसीको रगतमा अक्सिजनको मात्रा कम देखिएको छ भने सेता रक्तकोषिकाहरु घट्दो क्रममा रहेका छन् । त्यसैले जुनसुकै बेला पनि गम्भीर संक्रमण हुन सक्ने खतरा रहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार केसीले औषधि लिन मानेका छैनन् । डा. प्रविण कुमार गिरी, डा. धिरज गुरुङ र डा. सिद्धार्थ खातीले केसीको उपचार गरिरहेका छन् ।
त्यसैगरी, छाती दुख्ने, मांसपेसी बाउँडिने, रिंगटा लाग्ने, टाउको दुख्ने लगायतका समस्या देखापर्नुका साथै रक्तचाप क्रमशः घट्दो क्रममा छ भने पिसाबमा क्रियोटिनाइन पनि बढिरहेको डा। गिरीले बताए । उनले भने “डा। केसीलाई चिकित्सकको निगरानीमा विशेष कक्षमा राखेर उपचार भइरहेको छ । ” केसी ९ दिनदेखि अनशनमा छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न जाने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रशासनले प्रतिष्ठानलाई निषेधित क्षेत्रसमेत घोषणा गर्यो । त्यसपछि हिरासतबाटै अनसन सुरु गरेका डा।केसीलाई प्रहरीले कभर्डहलमा लगेर छाडिदिएको थियो । कभर्डहलको फोहोरका कारण केसीको स्वास्थ्यमा असर पारेको थियो ।
अवस्था गम्भीर भएपछि प्रतिष्ठानका चिकित्सकहरुले २० गते निषेधित क्षेत्र तोड्दै अस्पताल पुर्याएका थिए । हाल उनको आईसीयूमा उपचार भएको थियो । उनी अहिले पनि अस्पतालको शैय्यामा नै अनसनरत छन् । जसका कारण डा। केसीलाई जुनसुकै बेला पनि गम्भीर संक्रमण हुने खतरा देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
यस्ता छन् डा केसीले अघि सारेका ७ बुँदे मागहरु
१. चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस् ।
२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् ।
३. माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् ।
४. चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठह¥याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।
५. विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।
६. कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्य्विधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस्। आगामी शैक्षिक सत्रदेखि सबै निजी संस्थाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस् ।
७. पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवःथापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारबाही गरियोस्। तथा प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल सुरु गरियोस्।