रमेश शुभेचछु युवा साहित्यकार एवम् युवा सांस्कृतिविद् हुनुहुन्छ । उहाँले आफ्ना लेख, रचना र विचारहरुबाट समाजशास्त्रीय एवम् सांस्कृतिक विश्लेषण पनि गर्दै आउनुभएको छ । उहाँले वर्तमान नेपालको विपत कालीन घडीमा महत्वपूर्ण स्टाटसहरु सामाजिक सञ्जालमा प्रकाशन गर्दै आउनुभएको छ । प्रस्तुत छ वर्तमान सन्दर्भमा उहाँसँग प्रारम्भ खबरका सम्पादक भीमलामासँग गरिएको कुरा कानीको संपादित अंश ।
- नमस्कार सर
- नमस्कार भीमजी
- आराम हुनुहुन्छ ?
- आराम छु । तपाईँ पनि आरामै हुनुहुन्छ नि ?
- होम क्वारेनटाइनमा हुनुहुन्छ हैन त ?
- अहिले अनुशासित बनेर घरभित्र थुनिएको छु । परिवारलाई समय दिए जस्तो पनि भएको छ ।
यहाँ त लेखपढ गरिरहनुहुन्छ । यो समयमा केही नयाँ काम बन्दै छ कि ?
यो समय यो गर्दैछु ऊ गर्दैछु भनेर हल्ला गर्ने समय होइन । मान्छे नजानेर नबुझेर छिनछिनमा नाचगान गरेका, दाह्री पालेका र काटेका, लुगा फेरेका तस्बिर हालिरहेका देख्छु । यो रमाइलै पक्ष पनि हो । तर बौद्धिक मान्छेहरुले आफ्ना पुराना तस्बिर सेयर मात्र भन्दा पनि मेकप गरे नगरेका, दाह्री काटे नकाटेका फोटो सेयर भन्दा पनि यस समयको गम्भीर अवस्थामा चेतना फैल्याउने गरी केही चेतनाका कुराहरु सेयर गर्नुपर्ने अवस्था हो ।
मानिसले यो लक डाउनलाई राजनीतिक बन्दका रुपमा बुझिरहे जस्तो देखिन्छ नि ?
हो अहिले मानिसहरु झुकिएका छन् । म देखिरहेको छु साँझ विहान ग्रुपग्रुप बनेर हिँडेका बसेका देखिरहेको छु । यो गलत हो । यो एक किसिमको भाइरसबाट बच्ने आत्मानुशासन हो । हामी आफन्तका मृत्युमा क्रिया बस्छौँ हो त्यस्तै अवस्था हो । अरु भन्दा अलग बसेर लास छुँदा त्यस बाट हुन सक्ने संक्रमणबाट बच्न वा त्यसले दिएको शोकलाई आफैले अनुभूत गरेर पचाउन क्रिया बस्ने गरिन्छ । शोक बार्ने गरिन्छ । यो त्यस्तै अवस्था हो ।

यो भाइरसलाई कतिपयले जैविक हतियार हो कि भनेर सङ्का पनि गरेका छन् नि ? यहाँले कसरी बुझ्नुभएको छ ?
आणविक हतियार बनाउने वैज्ञानिकले जैविक हतियार नबनाउलान् भन्न सकिँदैन । यो हुन पनि सक्छ । तर हामीले संका गरेका मुलुक नै यसको सिकार बनिरहेका हुँदा अहिले यसै भन्ने अवस्था छैन । यदि हो भने यसको क्षति उनीहरुकै थाप्लामा आउने छ । अहिले यो भन्दा बढी नबोलूँ ।
के यो महामारी नै हो त ?
अहिलेलाई यसलाई महामारीकै रुपमा बुझ्नु राम्रो हुन्छ । इतिहासमा समय समयमा महामारी आउने गरेको पाइन्छ । पचास सय वर्षमा कुनै ठुलो महामारीको आक्रमणमा मानव समाज र अन्य जीवहरु पनि पर्ने गरेका छन् । कहिले चरामा, कहिले मुसा, विरालोमा यो आएको देखिन्छ । कुनै समय कुकुरहरुमा पनि महामारी पर्ने गरेको देखिन्छ । पहाडभन्दा तराईतिर घरपालुवा जनावरहरुमा समय समयमा विभिन्न महामारी हुने गरेको देखिन्छ । हामी बर्डफ्लुसँग बढी परिचित छौँ ।
महामारीको मुख्य कारण के हुन सक्छ ?
हाम्रो खाने कुराम अत्यधिक मात्राम विषादिको प्रयोग प्रमुख कारण हो । यसले हाम्रो रोगप्रतिरोधात्मक सामथ्र्य कम गरिरहेको छ । अरु हामी पहिला जस्तो अर्गानिक खानपान छैन । सहरीकरणले हामी सरुवा रोगका अनेक जोखिममा छौँ । यो जोखिम अझ बढ्ने सम्भावना पनि छ । मानव जाति आफ्नै कारणले नयाँ नयाँ रोगको सिकार बन्ने सम्भावना पनि छ ।
यस्तो बेलामा मानिसहरु किन बाहिर निस्किरहेका छन् ?
यो चेतनाको अभाव हो । चेतना नै नभएपछि के गर्नुहुन्छ । गुड्का किन्न बाहिर निस्कने, चुरोट खैनी किन्न बाहिर निस्कने, तरकारीका लागि साँझबिहानै बाहिर निस्कने, उमेरका केटाकेटीलाई परिवारमा बस्ता बोइफ्रेन्डसँग कुरा गर्न, ग्रलफेन्डसँग बोल्न बाहिर निस्कने, भेट्न बाहिर निस्कने, छिमेकी भेट्न निस्कने, तास खेल्ने साथी खेज्न निस्कने, रक्सी खाने साथी खोज्न निस्कने । यी चेतनाले नदिएका समस्यालाई के भन्ने ? यो समाज विकासका क्रममा प्राप्त नभइसकेको समस्या हो । यो समस्या गाउँमा भन्दा बढी सहरमा छ ।
यहाँ पेसाले प्राध्यापक हुनुहुन्छ । यतिखेर विद्यालय विश्वविद्यालयका सबै पठनपाठन ठप्प छन् । अब यसको समस्या कसरी समाधान गर्ने ?
तपाईँ र म भिडियो च्याट गरिरहेका छौँ । अबको शिक्षामा यसै प्रविधिको प्रयोग गरिनु आवश्यक छ । अब प्रोफेसरले आफ्नै घरमा एउटा स्टुडियो बनाएर पढाउने दिन आउनुपर्छ । अबका सञ्चारकर्मीले आफ्नै घरको स्टुडियोबाट कार्यक्रम उत्पादन गरेर बेच्नुपर्छ । म मेरो घरको स्टुडियोबाट पढाउन पाउने हो भने कलेज पुगेर पढाउनेभन्दा बढी काम गर्न र बढी प्रभावकारी ढंगले पढाउन सक्छु । अब यही मौकामा नेपालको शिक्षामा आमूल परिवर्तन ल्याउन सकिन्छ । यो चुनौति देशको शैक्षिक विकासको अवसर पनि हुन सक्छ ।
यहाँले कोरोना संक्रमित विश्वलाई चाहिँ कसरी हेरिरहनुभएको छ ?
यो अवस्था गम्भीर छ । एउटा मुलुकका अर्थमन्त्रीले आर्थिक संकटलाई हेरेर आत्महत्या पनि गरेका छन् । मन्त्री, प्रधानमन्त्री पनि यसको शिकार बनेका छन् । राजपरिवार पनि यसको असरबाट बचेको छैन । चिन र अरु मुलुकमा पनि उपचरमा संलग्न डक्टरको पनि मृत्यु भइरहेको छ । हामीले होसियार गरेनौँ भने हामीले अहिले विश्वमा देखिइरहेको समस्याभन्दा ठुला समस्या हाम्राअगाडि आइपुग्छन् । हामीसँग अमेरिका अस्ट्रेलियाका नागरिकमा जस्तो स्वास्थ्यसँग लड्ने धैर्य सामथ्र्य छैन । यहाँ काठमाडौँमा फैलियो भने मान्छे यो ठाउँ छोडेर भाग्ने बहानामा भाग्दाभाग्दै बाटैमा लडेर पनि मर्छन् । अस्पताल पुगे भने आत्तिएरै मर्छन् । हामीसँग रोगप्रतिरोधात्मक सामथ्र्य हाम्रो फरक भूगोल र खानपानले दिए पनि चेतनामा हामी कमजोर छौँ । यसको विकल्प लकडाउन लम्ब्याएर नागरिकको सुरक्षा दिनु नै हो ।
यहाँले मानव जातिले समय समयमा महामारीको सामना गर्दै आएको हो भन्नुभयो । नेपाली समाजले कहिले कहिले महामारी सह्यो केही तथ्य भए थाहा पाऊँ न ।
हामी गरिब मुलुकका नागरिकहरु । आज तपाईँले नागरिकता बनाएको जिल्लामा गएर प्रमाण खोज्नुभयो भने त्यसको प्रमाण भेटिन्छ भेटिँदैन भन्न सकिँदैन । हाम्रामा अध्ययन अनुसन्धान गर्ने चलन छैन । पुराना ऐतिकासिक सामग्रीको व्यवस्थित अभिलेखन छैन । इतिहास पनि राजमहाराजाका गुणगानमा सीमित छन् । मैले बुझेसम्म पचास सय वर्षमा कुनै न कुनै महामारीको सिकार मानिस बनिरहेकै छ । नेपालमा एक जना ठुला विद्वान् हुनुहुन्छ इतिहासकार डा.महेशराज पन्त । उहाँकाअनुसार निश्चित समयको अन्तरालमा महामारी दोहोरिन्छ । हरेक सय वर्षमा महामारी आएका छन् । सन् १७२०, १८२०, १९२० र २०२० मा महामारी आए भनिएको छ ।
हामी महामारीमै केन्द्रित हौँ महामारीबाट बच्न के चाहिँ गर्नु पर्ने हो ?
हामीले न्युनतम १०० वर्षमा महामारी आउँदो रहेछ भन्ने त बुझ्यौँ नि । यो कहिले ७५ वर्षमै आउला, कहिले ११० वर्षमा पनि आउला, कहिले ५० वर्षमै आउला । यसले हामीलाई केही त चेतना दिएको छ । अब मुलुकले, महादेशले मानव जातिको रक्षाका लागि महामारीको जोखिमलाई पनि ख्याल गरेर खाद्यान्न, स्वास्थ्य र बसोबासको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यो स्वास्थ्य क्षेत्र वा औषधि विज्ञानको विषय मात्र होइन वाणिज्य र मानविकीको विषय पनि हो । शिक्षाको विषय पनि हो ।
नेपालको इतिहासमा कहिले कस्तो महामारी भयो भन्ने केही जानकारी छ यहाँलाई ?
आधिकारिक जानकारी त म कसरी दिऊँ । म अध्ययनशील मानिस हुँदा मैले केही तथ्य प्रमाणहरु संकेतसम्म गर्न सक्छु । हाम्रा पुराणका कथामा पनि समय समयमा कुनै महामारीले सताएको देखिन्छ तर त्यसलाई अधर्मका कारण भयो भनेर अथ्र्याइएको छ । संसारको विकासमा खास खास सभ्यताको मात्र इतिहास भेटिन्छ । त्यो सभ्यताभन्दा अघिल्लो सभ्यताको छिन्नभिन्न हुनुमा कुनै न कुनै प्राकृतिक प्रकोप या यस्तै कुनै महामारी आएकोे हुनुपर्छ । पुराणहरु र भविष्य पुराण जस्ता ग्रन्थले भविष्यमा यस्तो हुन्छ भनेर केही संकेत गरेका पनि छन् । अब हाम्रै कुरा गर्दा । हाम्रै इतिहासको कुरा गर्दा १७०० को एउटा महामारीलाई हामी उदाहरणका लागि लिन सक्छौँ । १७७२ चैतमा देखापरेको त्यो महामारी १७७९ भाद्र सम्म सताएको भन्ने बुझिन्छ । यो तथ्य पनि नेपालमा धर्म प्रचार गर्न आएका पादरीले लेखिदिएको डायरी पल्टाएर मात्र हामी पाउँछौँ ।
त्यो महामारी पनि कति लामो ?
सात वर्ष लामो । कल्पना गर्नुहोस् स्वास्थ्य चेतना सून्य भएको त्यो समयमा नेपाली समाजले कस्ता संकट व्यहोर्यो होला । सर्वसाधारणको कुरा छोडौँ त्यसै महामारीका कारण राजा भाष्कर मल्ल (प्रताप मल्लका पनाति) समेतको देहान्त भएको पाइन्छ । यस्ता घटनाहरु खोजेर हामीलाई पढाइनु पथ्र्यो । हामी राजाका जीवनी पढ्दा पढ्दै शिक्षित भयौँ ठान्यौँ । इतिहास र वास्तविक शिक्षाबाट टाढै रह्यौँ ।
त्यस बेलाको क्षति, स्वास्थ्योपचार विधि आदिबारे केही जानकारी छ ?
म यी प्रश्नको आधिकारिक जवाफ दिन सक्ने अध्यता होइन । म यी सबै जिज्ञासाको चित्तबुझ्दो शमन गर्न सक्तिनँ । अघिनै भने मेरो अध्यन चाहिँ धेरथोर जारी छ । नेपालका एक प्रकाण्ड विद्वान् इतिहासकार डा. महेशराज पन्तको एउटा लेख पढ्ने मौका पाएको थिएँ । उहाँका अनुसार अहिले प्रधानमन्त्री भने जस्तो त्यतिबेला चौतारा भन्थे । त्यस बेलाका चौतारा झगल ठाकुर थिए । राजाको समेत मृत्यु हुने महामारीमा कति मान्छे मरे भन्ने उनले गणना गरेर बुझाउनु पथ्र्यो रे उनको गणनाअनुसार काठमाडौंमा त्यस महामारीले १८ हजार ७१४ मान्छे मरेका थिए रे । गणना गर्ने प्रविधि कति बलियो थियो होला ? पाटन, भादगाउँ, आजका काठमाडौँ भक्तपुर, ललिपुर सबैमा पनि यो महामारी फैलिएको थियो भनिन्छ । त्यसले कति मान्छे मरे होला ? काठमाडौँ आसपास र त्योभन्दा बाहिर के भयो होला ? यो तथ्यले प्रतिघर मानिस मरेको जस्तो देखाउँछ । यसको विश्लेषण इतिहासकार, जनसंख्याविदहरुले गर्ने नै छन् ।
यी सूचना पनि विदेशीका डायरीबाट मात्र सुरक्षित बन्न सकेका भन्नुभयो । के हाम्रा इतिहासकारले तयसको संरक्षण गर्न सकेनन् ?
हो । विसं. १७७२ को अन्त्यतिरक्रिश्चियन धर्म प्रचार गर्दै पादरीहरूकाठमाडौं आइपुगेको पाइन्छ । पोर्चुगलबाट आएको जेस्युट पादरी इमानुयल फेयर भन्नेले आफ्नो यात्रावृत्तान्तमा यहाँको महामारीबारे लेखेका छन् । यी भोटबाट आएर काठमाडौंमा पाँच महिना बिताएका थिए भनिन्छ । त्यसबेला देखि नै नेपालमा जेस्ट्युच र क्यापोचिन पादरीहरु नेपालमा धर्मप्रचारमा आएको पाइन्छ । यो इतिहासको गर्भमा छिपेको पक्ष हो । तपाईँले इतिहास भन्नुभयो । हाम्रो इतिहास राजाको वंशावलीमा सीमित छ त मैले भनिहालेँ नि ।

कोरोनाको पहिलो र दोस्रो चरणको शिकार त हामी पनि भइसक्यौँ नि । अब के गर्ने होला ?
कोरोना संक्रमणबारे नेपाल हिजो मात्रै दोश्रो चरणमा पुगेको पुष्टि भएको छ । हामीले यसलाई सर्वसाधारणले बुझ्ने भाषामा भन्नुपर्छ । पहिलो चरण भनेको कोरोना संक्रमण देश बाहिरबाट आएको व्यक्तिमा देखिनु हो । दोश्रो चरणमा पुग्नु भनेको मुलुकभित्रै संक्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइनु हो । यसलाई महामारी विज्ञको भषामा वा महारीमाविज्ञानको भाषामा समुदाय संक्रमणको चरण भनिन्छ । यसले परिवार परिवारलाई असर गर्न सक्ने देखिन्छ । परिवारका सदस्यका भेटघाट हुने वरिपरिका साथिभाइ नातागोताको संजाललाई छुन्छ । यो हाम्रो जस्तो कम चेतना भएको मुलुकमा खतरा हो । हामी समाचारमा जोन हब्किन्स विश्वविद्यालयले यसो भन्यो । उसको तथ्याड्क यस्तो छ भन्ने सुन्छौँ । हाम्रा विश्वविद्यालयका विज्ञका चाहिँ सूचना पाउँदैनौँ । हामीले यो दोस्रो चरणको संक्रमण फैलनबाटै रोक्नुपर्छ । फइलिइसकेपछि हाम्रो साधन स्रोत र विज्ञचेतना अपर्याप्त हुन्छ ।
नेपालमा औषधिविज्ञानका कलेज र विश्वविद्यालय त थुप्रै छन् नि होइन र ?
छन् । तिनले केही डाक्टर उत्पादन पनि गरेका छन् । म यसबेला डा. गोविन्द केसीलाई सम्झन्छु । व्यापारी संस्थाले उत्पादन गरेका डक्टरले परिआएको बेला समाजसेवा गर्न सक्तैनन् । आजै त अस्पतालले रुघा लागेका विरामी जाँच्न अस्वीकार गरेको सुनदैछौँ भोलि यो दोस्रो चरणको महामारी फैलियो भने सबै डक्टर जागिर छोडेर भाग्ने खतरा छ । यो देखिइसकेको अवस्था पनि हो ।
यहाँले त गम्भीर विषय पो उठाउनुभयो त ?
यो यथार्थ नै हो । गम्भीर पनि हुँदै हो । पैसातिरेर बनेको डक्टरले यस्तो महामारीमा सेवा गर्न गाह्रो छ । हामीले देखिसकेका छौँ ।
लकडाउन नै यसको समाधानको प्रमुख माध्यम हो । होइन त ?
हो । यो संवेदनशील अवस्था हो । असाध्यै होसियारी अपनाउनु पर्ने अवस्था हो । तपाईँहामीले पनि गुन्द्रुक मात्र खाएर भए पनि घरभित्र बस्नुपर्ने अवस्था हो । नेपालको हकमासरकारले लकडाउन थप कडा बनाउनुको विकल्प छैन । नागरिकले पूर्ण जिम्मेवार बन्नुपर्ने देखिन्छ ।
हामीलाई सबैभन्दा ठुलो जोखिम कसबाट छ ?
मैले यहाँको प्रश्न अलि बुझिनँ । यहाँले छिमेकी मुलुक वा विदेशबाट आउने विदेशी भन्नुभएको होला ?
मैले छिमेकी मुलुक चिन र भारतमा फैलिएको अवस्थाको प्रभाव के हुन सक्छ भनेको ?
ए, भारतको उदाहरण लिऊँ । २ हप्ताअघि मार्च २० मा भारतमा संक्रमितको संख्या ३६० मात्रै थियो । अहिले ३५८८ पुगेको छ । तपाईँहामी बोल्दा बोल्दै यो संख्या बढिसकेको हुुनुपर्छ । यो वृद्धि भनेको २ हप्तामै १० गुणा होइन र ? भारतमा भैरहेको समुदाय संक्रमणको चित्रले हामीमा आउने भयावह अवस्था देखाउँदैन र भन्या ? यसबारे डा. सुन्दरमणि दीक्षितले बेलैमा बोलेका थिए । उनलाई प्रपोगण्डाको आरोप पनि लाग्यो । त्यो प्रपोगण्डा नभई सत्य पनि होइनर भन्या ।
भनेपछि हामी खतरामा छौँ ? हाम्रो तयारी पुगेको छैन ?
तयारी त पुगेको छैन नै । स्कुलका डेक्स बेन्च जोडेर बनाएका क्वारेन टाइनको के गुरा गर्नु ? खुला सीमाना भएको देश हाम्रो देश । एक बट्टा सलाई किन्न भारत पस्नेको भिड छ यहाँ । त्यसैले नेपालमा समुदाय संक्रमण भइरहेको छैन वा अब नियन्त्रणमा छ भन्न पटक्कै सकिन्न । बाहिरबाट आएका तर बिरामी नभएकाले संक्रमित नठानिएकाबाट अरुहरुलाई सरिरहेको हुनसक्छ । स्वास्थ्यविज्ञहरुका अनुसार यो भाइरसबाट संक्रमित सबै बिरामी भैहाल्छन् भन्ने पनि होइन । आफू स्वस्थ भैकन पनि प्रत्यक्ष सम्पर्कमा रहेका अरुलाई सारिरहेका हुन सक्छन् । अझै थप अनुशासित बनेर सामाजिक दुरी कायम राखौँ । घरमै बसौँ । यसको समाधान घरभित्र छ । यहाँ यतिबेला हाम्रो लोककथाको डडेलो लाग्दा प्वालमा लुकेको मुसा मात्र बाँचेको कथा नै कामलाग्दो छ ।
घरमैँ बसौँ भनेको के हो ? सर्वसाधारणले बुझ्ने भाषामा बुझाइदिनु न ।
घरमा बस्ने भनेको घरपरिवारका बाहेक अरुलाई नभेट्ने भनेको हो । घरभित्र पस्न भाइरस डराउने होइन । गेटको ढोका लगाएर वा चेन गेट लगाएर थुनिने पनि होइन । यसको अर्थ दुरी कायम गरौँ भनेको हो । त्यसैले ढोका थुनेर घरभित्र बसेर, मन मिल्ने मान्छे भेला भएर तास खेलौँ भनेको होइन । यो विपत्ति आइलाग्यो टोलका मानिस भेला भएर भजन कीर्तन गरौँ भनेको पनि होइन । टोले बाबाको प्रवचन सुन्न जाऊँ भनेको झन् होइन । प्रहरीले नदेखेका बेला परसम्म डुलेर आऊँ न त भनेको पनि होइन । घरपरिवारभन्दा बाहिरका मान्छेलाई भेट्दै नभेटौँ भनेको हो ।
रोग सर्ने सूत्र त अनेक छन्, रेडियो टेलिभिजनले पनि फुकिरहेकै छन् । देखाइरहेकै छन् । सर्वसाधारणले बुझ्ने भाषामा भन्दा मानिससँगको भेटबाहेक अरु पक्ष केकेमा होसियारी अपनाउनुपर्ला ?
हो मान्छे भेट्ता मात्र होइन । हात मिलाउँदा मात्र होइन । बाटाघाटामा हिँड्दा अरुले खोकेको, हाछ्यू गरेको, थुकेको वा भर्खरै बाहिर फालेको फोहोर आदि हावाबाट भाइरस हामीभित्र प्रवेश गर्न सक्ने देखिन्छ । यसबाट सुरक्षित बस्न आफ्नै घर कम्पाउन्ड नै उपयुक्त हो । डेरा बस्नेले पनि एक अर्को डेरामा ओहोरदोहोर नगर्न बेस बभेको हो । गाउँघरमा कृषि कर्म गर्नु अर्कै कुरा सहरमा यसको जोखिम बढी देखिएको छ ।
घरमा बस्ने बिधिबारे पनि बताइदिनु न ।
म विज्ञ होयन यसबारे बोल्न तर घरमा बस्दा एउटै कोठमा सबै थुप्रिएर भन्दा पनि सकेसम्म खुला बस्ने हो । घरका साँघुरा ठाउँ भन्दा खुला ठाउँमा बस्न स्वस्थकर हुन्छ । आँगन, करेसाबारी, बगैँचा, कौसी, बार्दली, छत वा भ्यान्टिलेसन भएका, झ्याल, ढोका खुला राखिएका कोठाहरु । जति हावा खेल्ने ठाउँ भयो उति नै भाइरस हावामा तैरिरहने सम्भावना कम हुने देखिन्छ । स्वास्थ्यविज्ञहरुका अनुसार जमिनमा खसिसकेको भाइरसबाट डराउनुपर्दैन । गाउँघरमा खेतबारी, गोठ, घाँस दाउरा गर्ने ठाऊँ सुरक्षित छन् तर सहर सुरक्षित छैन ।
अहिले हामी आशावादी बन्न सकिने ठाउँहरु के कस्ता छन् ?
छन् । एक जना मित्र हुनुहुन्छ डा. रवीन्द्र पाण्डे । उहाँले यस सम्बन्धमा सजगताका कुरा बाहिर ल्याइराख्नुभएको छ । मैले केही भन्नुभन्दा तपाईँ पनि उहाँहरुसँग खोजेर अन्तर्वार्ता लिनुहोस् । उहाँहरुका विचारलाई सञ्चारमाध्यममा भाइरल बनाउनुहोस् । हामी सन्तुलित खाना नै खाइरहेका छौ । हाम्रा भान्सामा नै थुप्रै औषधी छन् । हामी बाह्य सम्पर्कबाट बच्न सके मात्र पनि जोगिन सक्छौँ । हाम्रा पुर्खाले दिएका कतिपय परम्परित आचारविचार पनि हामीलाई बचाउने आधार हुन सक्छन् । हामी नमस्ते गर्छौँ । हामी हग गर्दैनौँ । हामी किस गर्दैनौँ । हामीसँग व्रतका, उपवासका विधिहरु छन् । चाडपर्वका नाममा फरक फरक खानेकुराहरु खाने विधि हामीले सिकेका छौँ । यी विधिहरुले हामीलाई जोगाउन सक्छन् ।
विदेशमा रहेका नेपालीलाई के सल्लाह दिनुहुन्छ ?
अहिले अस्ट्रेलियामा मात्र पचासहजार बढी विद्यार्थी छन् । साइप्रसा, बड्लादेश, चिन, जापानलगायत राज्यले ६१ देश भनेको छ तर १०० अधिक देशमा विद्यार्थी छन् । कामदारका रुपमा खाडीमुलुकलगायत युरोप र अन्यत्रका विभिन्न मुलुकमा नेपालीहरुको संख्या असंख्य छ । मान्नुहोस् एक करोड जति । योे प्रकोपका कारण विदेशमा रहेका करिब ५० – ६० लाख नेपालीहरू ढिलोचाँडो देशमा फर्कनु पर्ने जस्तो देखिँदैछ । यो अवस्था आयो भने मुलुकमा खाद्यान्न छ ? यस बारेमा राज्यले केही सोचेको छ ? साँच्चै नै यति धेरै मानिसहरू नेपाल फर्किए भने देशमा ठूलो हलचल हुनेछ ।
यसको सामाजिक सांस्कृतिक प्रभाव कस्तो होला ?
कतिपय मुलुकले काम दिन सकिँदैन आफ्नो मुलुक जाओ भनि नै सके । यसले देखाइसकेको छ कि उनीहरु आउने हयीँ हो । अहिलेकै अवस्था रहे यिनीहरुले रोग ल्याए भनेर सामाजिक सद्भाव खल्बलिने छ । फरक मुलुकमा बसेर आएका नागरिकको राजनीतिक चेतना फरक हुन्छ । राजनीतिक ब्यबस्थामा उथलपुथल हुन्छ । उनीहरू गाउँघर हैन शहरबजार तथा सुगम ठाउँमा बस्न चाहन्छन् । उनीहरूमा तत्काल कमाउने र तत्काल खर्च गर्ने बानी बसिसकेको छ । यो सम्भावित अवस्थालाई मध्यनजर गर्दै मुलुकभित्र उद्योग धन्दा खोली रोजगारीको अवसर बढाउनु पर्छ । हामीले अहिलेसम्म धान्दै आएको परम्परावादी कृषि प्रणालीलाई आधुनिकीकरण र व्यावसायिकरण गरी उत्पादन बढाउनु पर्छ । अरु केही फरक पर्दैन । हाम्रो मौलिक सांस्कृतिक चेतना अझ विकास हुने सम्भावना छ ।
यहाँले सांस्कृतिक चेतना भन्नुभयो । आजै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिपावलीको कुरा ल्याउनुभएको छ । यसलाई कसरी लिने । बजारमा अनेकथरि टिका टिप्पणी भएका छन् नि ?
यो सामाजिक सांस्कृतिक उपचार पद्धति हो । हामीलाई भन्दा दुनियाँलाई बत्ती बाल भन्ने नरेन्द्र मोदीलाई थाहा छ कि बत्ती बालेर कोरोना जाँदैन, निको पनि हुँदैन । मलाई लाग्छ उनीसँग वैज्ञानिक सल्लाहकार मण्डल धेरै बलियो छ । बौद्धिक र अनुभवसम्पन्न मन्त्रीमण्डल र सांस्कृतिक सल्लाहकार मण्डल पनि ठूलो छ । उनले यस अभियानबाट घरभित्र डेराभित्र बसेर, थुनिएर गुम्सिएका जनतामा एउटा उत्सवमय ऊर्जाको आवश्यकताको कुरा गरेका हुन् भन्ने लाग्छ । यो एउटा सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक उपचारपद्धतिको फरक ढंगको प्रयोग हो । मोदी स्वयम् आध्यात्म साधक पनि भएकाले त्यसका सर्वसाधारणले बुझ्ने भाषाको प्रयोग पनि हो ।
यसलाई वैज्ञानिक दृष्टिले पनि हेर्न सकिएला ?
यही घटनालाई वैज्ञानिक कोणले अर्थ खोज्न पनि सकिन्छ । भारत हाम्रो भन्दा धेरै ठुलो मुलुक हो । त्यहाँ युरोप अमेरिकका चेतनाका मानिस पनि छन् हामीभन्दा कम चेतनाका मानिस पनि छन् । सवा सय करोड नागरिक भएको त्यत्रो मुलुकमा ७० –७४ अझ ८० प्रतिशत मान्छे विज्ञान, औषधिविज्ञान, उपचार पद्धति, आज विकास भएका परीक्षण पद्धति आदिलाई विज्ञानको भाषामा बुझ्दैनन् । उनीहरुलाई बुझाएर साध्य पनि छैन । दोस्रो मनोविज्ञानलाई युङ र फ्रायडको भाषामा बुझाउन खोज्दा म तपाईँलाई पनि बुझाउन सक्तिन । मैले नै कति बुझेको छु भने आम जनताले झन् बुझ्दैनन् । तिनलाई उनीहरूकै सामूहिक अवचेतनको भाषामा, शैलीमा, संस्कृतिमा, परम्परामा, चालचलनमा बुझाउन आवश्यक छ । यसलाई हामी दैनन्दिनीको भाषा भन्न सक्छौँ । मोदीको प्रयास त्यस्तो प्रयास हो ।
अब फेरि अघि यहाँले नसोध्नु भनेकै प्रश्न सोध्न खस खस लाग्यो । यो कोरोना महामारीको चौथो चरण भनेको के हो । यसको असर के हुन्छ ?
भीमजी म यसबारे बोल्न नचाहेकै हो । चौथो चरण भनेको देशभरि रोग फैलिरहेको अवस्था हो । यो अवस्था नआओस् भनेरै म बोल्न नचाहेको । यो अवस्था आयो भने मुलुकभरि धेरै ठाउँमा असंख्य संक्रमित बढ्छन् । मृत्युका समाचार दिनदुगुना राच चौगुना भएर आइरहेका हुन्छन् । हामीसँग उपलब्ध साधन स्रोत, जनशक्ति औषधीमुलो, स्वास्थ्यसेवाले धान्न गाह्रो पर्छ । म भन्दै छु म यसको विशेषज्ञ होइन हिजो एउटा लेख पढ्न पाएँ । केन्ट स्टेट युनिभर्सिटीका एपिडिमिओलोजिस्ट प्रोफेसर माधव भट्टसँग कुरा गरेर डिकेन्द्र डिकेन्द्र ढकालले एउटा तथ्य सार्वजनिक गरेका थिए भट्टकाअनुसार अमेरिका अहिले चौथो चरणमा पुगिसकेको छ । यसका असर धेरै हुन्छन् । यसो भयो भने स्वास्थ्य मात्र होइन अर्थतन्त्र समेत डामाडोल हुने स्थितिमा पुग्छ । हामी जस्ता स्रोतसाधन नभएका मुलुकले केही गर्न सक्तैनौँ । यो अवस्थाको परिकल्पनै नगरुँ ।
सर हामी करिव अढाइ तीन घण्टा कुरा गर्यौँ । यति धेरै जानकारी दिनुभयो । यसका लागि प्रारम्भ खबरका तर्फबाट धेरै धेरै धन्यवाद ।
धन्यवाद भीमजी । आज तपाईँसँग समसामयिक विषयमा छलफल भयो । यसले समाजमा सकारात्मक उर्जा ल्याउन सकोस् । मलाई सेलीब्रेटी बन्नु छैन तर यथार्थ बोल्नु पर्छ भन्ने लागेर यहाँका प्रश्नको जवाफ दिएको हुँ ।

