बौद्ध धर्मगुरू श्याल्पा तेन्जिङ रिम्पोछे विश्व शान्तिको महाअभियानमा हुनुहुन्छ । लुम्बिनीमा विश्वशान्ति धाम निर्माणमा जुट्नु भएको छ । उहाँसंग प्रारम्भ खबरका लागि भीम लामाले गरेको कुराकानीको सम्पादित अंशः
लुम्बिनीमा निर्माण भइरहेको विश्व शान्ति धाम निर्माण कार्य कहाँसम्म पुग्यो ?
विश्व शान्तिधाम भवनको निर्माण कार्य निर्माणाधीन अवस्थामै छ । हालसम्म सबभन्दा ठूलो भवन निर्माण कार्य सम्पन्न भइसकेको छ । जुन चाँही एम वि.पि भवन हो । अहिले निर्माण कार्यले सार्थकता पाएको छ ।
विश्व शान्ति धाम बनाउने परिकल्पना यहाँमा कसरी आयो ?
धेरै वर्ष अगाडी म शान्तिको गन्तव्य खोजिरहेको थिएँ । विश्वभरिका सबै मानिसका लागि शान्तिको गन्तव्य चाहेको महसुस गरेर यसको परिकल्पना गरेको हुँ । विश्वका सम्पूर्ण जात, वर्ग, लिङ्ग, विश्वासी, अविश्वासी सबैको लागि शान्ति चाइरहेको महसुस गरेपछि यो अभियानको सुरू गरेको हुँ । शान्तिका लागि अहिलेसम्म कहि पनि त्यस्तो संस्था छैन् । त्यसको अभावमा विश्वमा अशान्त भइरहेको छ । त्यस्तो हिंसात्मक कार्यलाई रोक्न, मानवता र सद्भाव कायम राख्न यो परिकल्पना अनुसार विश्व शान्तिधाम बनाउन लागेको छ । धार्मिक संस्था धेरै ठाउँमा रहे पनि समावेशीता त्यहाँ पाएन् । त्यसैले यो महाअभियानको सुरूवात गरेको हुँ ।
अनुमानित कति लागतमा बन्दै छ ? र यसको क्षेत्रफल कति छ ?
यस्तो लाग्छ मलाई शान्तिको लागि बजेट सिमित हुन नदिने भन्ने मेरो धारणा हो । विश्वका लागि कति अरबौँ अरब डलर खर्च गर्ने देखिन्छ । तर विश्वले सुख पाएको छैन । विश्वभरि अहिलेसम्म जति खर्च गरेपनि शान्ति पाएको छैन् । सुख प्राप्त गरेको छैन् । त्यही कारणले शान्तिकाृ लागि सिमितता छैन् र हुँदैन पनि । त्यही कारणले शान्तिको लागि चाँही आर्थिकमा सिमितता हुदैन भन्ने मेरो तर्क हो । पैसाले शान्ति बनाउने चीज होइन आध्यात्मिकबाट हामीले शान्ति प्राप्त गर्नुपर्दछ । त्यसमा के लाग्छ भने सबभन्दा ठूलो रकम एक रुपियाँ, एक जनाले दिन सके, त्यही रकमबाट हामी बजेट व्यवस्थापन गर्ने हो । किन भने रकमले मात्र शान्तिधाम बनाउन सकिने होइन् । रकमभन्दा ठूलो आफ्नो हृदयबाट श्रमदानको रूपमा लागेर शान्ति बनाउने कुरा हो । यसको लागि बजेट यति हुने भन्ने हामीले सोँच्न पनि नसकिने रहेछ । सकेसम्मा हामीले आफूले जति सकिन्छ त्यसबाटै सहयोग गर्ने हो । शान्ति सबैको लागि र अरबौ मानिसको लागि हो । त्यस कारण पवित्र कार्यमा बजेट यति नै चाहिन्छ भन्ने चाँही होइन् ।
धामको संरचना कसरी बन्छ र क्षमता के कस्तो हुनेछ ?
शान्तिधाम (पिस सेन्चुरी) ४ वटा कोठा भएको हुन्छ । त्यसको बीचमा मायादेवीको मूर्ति हुन्छ । मायादेवीले सिद्धर्थ गौतम बुद्धलाई जन्म दिएको ठाउँ र त्यसको मुनि १५ सय जना अट्ने सभा हल,, पुस्तकालय, शान्ति सङ्ग्रहालय, चमेनागृह संगै साना–साना ४ वटा हल हुन्छ । त्यहाँ ८०÷९० राष्ट्रको शान्ति सम्मेलन गर्ने हल एकै पटक ३ सय जना अट्ने हल हुनेछ । त्यसको साइडमा गुम्बा र सप्ताहिक ध्यान गर्ने ठाउँको व्यवस्था हुनेछ । शान्तिका लागि करूणा कार्य लिएर आउनेलाई ठाउँ प्राप्त हुन्छ । अन्तराष्ट्रियको लागि बस्ने सुविधा समेत हुन्छ ।

प्रक्रिया तथा बजेट व्यवस्थापन कसरी भइरहेको छ ?
मेरो अमेरिकी च्यारेटी अर्गनाइजेशनले १९९० वर्षको लागि नेपाल सरकारसंग जग्गा भाडामा लिएर अभियानको सुरूवात गरेको छ । च्यारेटी अर्गनाइजेशनको सहयोगमा रकम डिपोजिट गरेर युनेस्को विश्व सम्पदा सूचीकृत क्षेत्रमा ३ वटा प्लट निर्माण गरेको छ । इन्जिनियार अर्किटेकको अनुसार अफिस, लामा बस्ने कोठा, ध्यान गर्ने कक्ष, त्यसका लागि थप जग्गा मागेर सबैलाई फाइदा हुने गरि संरचना बनाएको छ ।
बजेट व्यवस्थापनको सवालमा यस पवित्र शान्ति निर्माणका लागि एकैे व्यक्ति, संस्था वा समूहले गरेर हुने कुरा होइन् । यो एउटा सहभागीतामूलक महाअभियान अर्थात योजना हो । यस कार्यमा विश्वभरि रहेका व्यक्तित्वहरूले सहयोग गर्न सक्नुहुने छ । एक जनाले दश मिलियन डलर दिए पनि राम्रो कुरा हो । त्यसको महत्व फरक हुने वा स्वार्थसिद्धि हुने भएकोले शान्तिधाम निर्माण महाअभियानलाई मुठीदानबाट सुरू गरिएको हो । शान्तिका लागि महत्वपूर्ण स्थान लुम्बिनी जुन चाँही विश्व सम्पदा सूचीकृत क्षेत्र नेपालबाट हामीले सुरू गरेर विश्वका मानिससम्मा पुगेको छ । यो शान्तिधाम नेपालीका लागि मात्र नभइ विश्वभरिका शान्ति मार्गीको लागि सोँचेर निर्माण गरिएको हो । मुठीदान एउटा सहभागीतामूलक अभियानको रूपमा लिएकोले सबैको अपनत्व सिर्जना होस् भन्ने उद्देश्य रहेको छ ।

यहाँ एक आध्यात्मिक व्यक्तित्व हुनुहुन्छ, धर्म र संस्कृतिबारे कसरी बुझाउनुहुन्छ ?
धर्म भनेको हामीले आफ्नो तरिकाबाट बुद्धिमता÷बौद्धिकबाट स्वार्थ नभइ स्वार्थहिन तरिकाले काम गर्ने हो । स्वार्थले काम गर्दा सबैले दुःख पाउँछन् । सबै सर्शतमा जान्छ विना शर्त प्रेम हामीले दिन सकिदैनौँ र प्राप्त गर्न पनि सकिदैनौँ । हामीले सबैलाई बुद्धिमता प्रयोग गर्न सक्नुपर्छ । त्यही पनि करूणा कार्यबाट हामीले जीन्दगी बिताउन सकिने हो भने त्यही नै सबैभन्दा ठूलो धर्मको अभ्यास भन्ने जस्तो लाग्छ । केही परम्परा हामी सबै मानिसले जीवनमा त्यही मार्गमा जान सकेपछि हामीले आफ्नो जीन्दगीमा आफूलाई मात्र फाइदा हुने काम नगरी सबैको हितका लागि काम गर्न सक्नुपर्छ । एउटा करूणा प्रेम देखाउन सक्नुपर्छ । जीवनमा जति साझेदारी गर्न सकिन्छ त्यति नै सुख प्राप्त हुन्छ । आफ्नो मात्र सोच्दा दुःख पाउँछ । मनभित्रबाट गरिने कार्य जसबाट निःश्वार्थ सहयोग गरिन्छ त्यो धर्म हो । मानवले गरिने हरेक क्रिया प्रतिक्रिया वा व्यवहार संस्कारको रूपमा लिनुपर्छ । संस्कारले व्यक्तित्वको पहिचान दिन्छ र धर्म जगाउँछ ।
भौतिकवाद र आध्यात्मिकवादलाई सन्तुलनमा ल्याउन सकिदैन ?
मानव जीवनमा चेतना हुन्छ । हामीले चेतना ल्याउन चाहन्छौँ । चेतना नै हाम्रो जीवनको हरेक क्षण हो । तर जहाँ तपाई समय बिताउदै हुन्छ, जहाँ बाँच्नका लागि संघर्ष गर्नुहुन्छ त्यो नै भौतिकवाद हो । जहाँ तपाई बस्नुहुन्छ त्यहाँ आफ्नो दिमाग लगाउनुहुन्छ । समय र वस्तुको प्रयोगसंगै आध्यात्मिकताले जीवनलाई सन्तुलनमा पु¥याउँछ । भौतिकवादले वर्तमानलाई जनाउँछ । जहाँ वर्तमानमा तपाईको वरिपरि रहने हरेक वस्तु वा समय र गतिविधि नै भौतिकवाद हो । जीवनलाई सहज बनाउन समयसंगै आध्यात्मिक वा अभ्यासमा विश्वास गर्न सक्नुपर्छ ।
हरेक मानवले सुख खोजिरहेको हुन्छन् तर कता कता असन्तुष्टि नै भइरहन्छ किन ?
हामी आफ्नो बानी अनुसार सशर्त जीवन बिताउन लागि परेको हुन्छ । सशर्त चीज सबै नक्कली हुदाँ रहेछन् । सशर्त कुरा कहिले पनि सफल हुँदैन र सबै अन्त्य भएरै जान्छ । हामीले स्वार्थलाई नियमन गर्नुपर्छ । स्वार्थलाई मुक्त गर्न सकिएन भने त्यहाँ हामी आफ्नो वा आफ्नो परिवारलाई बढि महत्वपूर्ण बनाउँछौँ । हामी सबैका लागि एक हौँ भन्ने सोँचले आगाडी बढ्यौँ भने सुख मार्गमा पुग्न सफल हुन्छ । सुखको खोजिमा कतिपय आफ्नो समय बर्बाद गरिहरेका हुन्छन् त्यही कारण पनि पूर्णता हुँदैन र असन्तुष्टि उत्पन्न भइरहन्छ ।
सन्तुष्टि के हो ?
स्वतन्त्रता भएपछि मात्र अन्तिममा सन्तुष्टि पाउने हो । यसको मतलब हामीमा एउटा आशा हुन्छ । आज हाम्रो मिठो खानेकुरा खाने आशा राखेको हुन्छ र खाना पाएपछि सन्तुष्टिको भोको भरिन्छ । तपाईलाई स्वतन्त्र महत्वपूण छ । मध्यमार्गबाट जीवनलाई आगाडी बढाउनु पर्छ । आफ्नो इच्छा र चाहनालाई सुत्न नदेऊ, स्वतन्त्रतालाई नरोक त्यहीबाट सन्तुष्टि प्राप्त हुन्छ ।
परम्परागत र आधुनिक ध्यानलाई कसरी लिनुहुन्छ ?
म ध्यान सिकाउँछु, जब म मानिसहरूलाई सिकाउने प्रयास गर्छु । हाम्रो जीवनको स्वामित्व के हो भन्ने कुरा बुझ्न जरूरी छ । प्रत्येक श्वासमा आनन्द पूर्णताका जीवन प्राप्त हुन्छ , त्यसबाट वास्तविक समय सिकाउन पाउनुहुनेछ । त्यो समयलाई प्रयोग गर्ने हो । वर्तमान समयलाई महत्वपूर्ण रूपले ग्रहण गर्नुपर्छ । समय कहिल्यै फर्केर आउँदैन । जीवन आफै हो । जागरूकता चाँही पूर्णता हुन्छ । परम्परागत ध्यानमा विगत र पुरानो शैली अपनाएर गरिन्छ भने अध्ययन र औपचारिक ज्ञानबाट आधुनिक ध्यानको अभ्यास गरिन्छ ।
यहाँको व्यक्तिगत परिचय कसरी दिनुहुन्छ ? र धार्मिक तथा शान्तिको मार्गमा कसरी प्रवेश गर्नुभयो ?
मेरो बुबा पुजारी लामा र आमा योगिनीको कोखबाट जन्म लिएको हुँ । पवित्रभूमि तपोवन हिमालय रेन्जमा जन्म लिन मौका पाएकोमा भाग्यमानी ठान्छु । चारबर्षको उमेरदेखि नै औतारे हो भन्ने लक्ष्यण प्राप्त गरिसकेको र भविश्यमा महान गुरू बन्ने संकेत पाएर मेरो आमा÷बुबा र परिवारले पढ्ने, ध्यान गर्ने वातावरण मिलाएको अनुभूति पछि थाहा पाएँ । मानिसका लागि म भविश्य बनेर बुद्धि बाड्ने जिम्मेवारी पाएकोले यो कर्ममा छु । मेरो गुरूको आर्शीवाद प्राप्त भएकोले शान्तिको मार्गमा लागेको छु ।
निर्माण भइरहेको यो शान्तिधामको संरचना कहिले सम्पन्न हुन्छ ?
विश्व शान्ति स्मारक व्यक्तिगत लाभ र स्वार्थको लागि बनेको होइन् । विश्वभरिका मनुष्यका लागि शान्तिको मार्ग देखाउने महाअभियानको रूपमा निर्माण भइरहेको छ । केही संरचना बनिसकेको छ । बाँकी संरचना ३÷४ वर्षमा सम्पन्न हुने आशा लिएको छु । सबैको सहयोगबाट बन्ने यो महाअभियानमा विश्वभरिका नेतृत्व आएर कहिले पनि युद्ध नहोस् भनेर शान्ति वार्ता, ध्यान तथा अध्ययन स्थलको रूपमा निर्माण हुँदैछ । अब चाँडै सम्पन्न हुनेमा विश्वास छ ।
अन्त्यमा सत्मार्गमा लाग्न आम मानव समुदायलाई के शन्देश दिनुहुन्छ ?
जीवन पाउनु कठिन छ । हामीले जीवनका हरेक पललाई उत्सवको रूपमा मनाउनुपर्छ । हामी यस संसारमा आराम, मनोरञ्जन, उत्सव गर्न जन्मिएको हो । हामी आफ्नो चाहनालाई निदाउन दिनु हुँदैन । हामी स्वतन्त्र भएर जिउन जन्मिएका हौँ । स्वतन्त्रता हाम्रो जीवनका लागि धेरै महत्वपूर्ण छ । स्वतन्त्रताबाटै सपना देख्ने, विचारको प्रस्फुटन गर्ने र सही बाटोमा लाग्ने हो । मानववीच सहकार्य, सद्भाव र सकारात्मक सोचले सत्यको बाटोमा हिडाउन सहयोग गरेको हुन्छ । समुदायको हितको लागि हिड्नु नै सहिमार्ग सिद्धान्त हो ।
यस प्रकाशित सामग्री २०८१ साउन महिनामा बौद्ध धर्मगुरू श्याल्पा तेन्जिङ रिम्पोछेसँग प्रारम्भ खबर विशेष अंकाको लागि गरिएको कुराकानीमा आधारित सम्पादित अंश हुन् ।

