एकल कविता वाचनमा यशोदा अधिकारी

असार २२, काठमाडौं ।

समय बिहानको कब्जामा छ 
बाथरुममा भाँडासँग निषेध गरिएको छ 
चुहिरहेछ गाग्रीभित्रका पानी 
भोकभोकै तड्पिरहेछ मुख कुच्चिएको 
त्यो पुरानो सिल्बरे गाग्री

 

पत्रकार तथा कवि यशोदा अधिकारीले महिलाका पक्षमा विहिवार राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) मा दर्जन कविताका स्वर उचालिन् । अधिकारीका कवितामा महिलाले पुरुषभन्दा बढी काम गरेर पनि सम्मानित हुन नसकेकोबारे चित्रण गर्न खोजेको थियो ।

अधिकारीले समाजमा महिला पुरुषबाट मात्र नभई महिलाबाट पनि पीडित हुने गरेको भाव सुनाउनुभयो । उनलाई कविता वाचनमा जङ्ग पहाडी, मीना श्रेष्ठ, तारा केसी, श्याम रिमाल र रविराज बसौलाले साथ दिए । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले समाजका वास्तविकतालाई कविहरुले जोड दिनुपर्ने दिए । उनले भने, ‘वास्तवमा कविताले मानिसको मन मस्तिष्कमा प्रभाव पार्न सक्यो भने मात्र प्रभावकारी मानिन्छ । प्राज्ञ नर्मदेश्वरी सत्यालले अधिकारीले समाजलाई नजिकबाट नियाल्दै कविता लेख्ने गरेको र यथार्थवादी हुने गरेको बताइन् ।

संस्थानका महाप्रबन्धक राजेश थापाले संस्थाले वाद्यवादन, साहित्य र गायन र ललितकलालाई पनि समेट्दै प्रतिभाहरुलाई मञ्च दिएको जानकारी दिए । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको कार्यक्रममा सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई र सांसद खेम नेपालीले अधिकारी निकै संभावना भएकी कवि भएको बताए ।

अधिकारीका हालसम्म ‘निषेधविरुद्ध’ र ‘अस्वीकार’ (कवितासंग्रह), ‘संसार हल्लाउने संघर्षशील महिलाहरु’ (जीवनी), ‘क ख गीत’ (बाल कविता)  र ‘जुरेली र मयुर’ (बाल कविता) प्रकाशित छन् । अधिकारीको जन्म विसं २०४१ मा काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारिस्थित मेच्छे गाउँमा भएको हो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.