असार २०, काठमाडौं । पाँच दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पताल भर्ना गरिएको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै उनी जुम्लामा विगत ५ दिनदेखि आमरण अनसनमा छन् । डा. केसी विगत पाँचदिनदेखि अनसनमा छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न पुगेका केसीलाई स्थानीय प्रशासनले अवरोध गरेपछि जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमै अनसनमा बसेका थिए ।
केसीको अवस्था गम्भीर बनेपछि नेपाल चिकित्सक संघ कर्णाली शाखाले अस्पताल पुर्याएको थियो । उनको अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको डा. प्रविण गिरीले जानकारी दिए । “प्रशासनको असहयोग कायमै थियो,” उनले भने, “मानवीय हिसावले हामीले यहाँ ल्याएर उपचार थालेका हौं ।”