नर्सिङमा पुरुषलाई १५ प्रतिशत कोटा

असार १०, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले यो शैक्षिक सत्रदेखि नर्सिङ अध्ययनमा पुरुषहरुलाई पनि अध्ययन गर्न पाउने व्यवस्था गरेको छ।

काउन्सिलले शैक्षिक सत्र २०७५÷७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको हो । काउन्सिलको असार ५ गतेको बैठकले यस्तो निर्णय गरेको काउन्सिलले जनाएको छ । काउन्सिलले उक्त निर्णय कार्यान्वयमा ल्याउन सबै विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई जानकारी गराइसकेको छ।स्वास्थ्य खबरका अनुसार नर्सहरुको छाता संस्था नेपाल नर्सिङ संघले पनि नर्सिङ अध्ययनमा पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै आएको थियो। स्वास्थ्य मन्त्रालयले केही समय अगाडि गठन गरेको नर्सिङ क्षेत्रका समस्या समाधानका लागि गठित समितिले पनि नर्सिङ अध्ययनमा पुरुषलाई अवसर दिनुपर्ने सुझाब दिएको थियो।

 

काउन्सिलको यो निर्णयसँगै अव नर्सिङ कलेजहरुले कुल विद्यार्थी भर्नामध्ये कम्तिमा १५ प्रतिशत पुरुषलाई भर्ना गर्न पाउनेछन्। सरकारी तथ्यांक अनुसार हाल नेपालमा वार्षिक एक सय २५ भन्दा बढी नर्सिङ कलेजबाट ७ हजार ७ सय ४० जना नयाँ नर्सिङ जनशक्ति उत्पादन हुँदै आइरहेको छ। यो कार्यान्वयनमा आएपछि हालको कोटाका आधारमा नेपालमा वार्षिक ११ सय ५५ जना पुरुष नर्स उत्पादन हुनेछन्। नर्सिङ काउन्सिलको पछिल्लो तथ्यांकअनुसार हाल नेपालमा ८१ हजार ९० नर्स दर्ता छन्। त्यसमध्ये ४९ हजार ३४ जना नर्स, ३१ हजार २ सय २१ अनमी र आठ सय ३५ विदेशी नर्सको दर्ता छ।  नेपाल नर्सिङ संघको पछिल्लो तथ्यांक अनुसार दर्ता भएका नर्समध्ये सरकारी जागिरमा १२ हजार र निजी स्वास्थ्य संस्थामा २२ हजार नर्स कार्यरत छन्। संघकै तथ्यांक अनुसार करिब १५ हजार नर्स विदेसिएका छन्।

Satkar Media House
Leave A Reply

Your email address will not be published.