साउन २३, काठमाडाैं । सुनको भाउ उकालो लाग्ने क्रम बिहिबार पनि रोकिएन । बिहीबार तोलामा ५ सयले वृद्धि भएर ७० हजार रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा पुगेको थियो । सुनको यो भाउ अहिलेसम्मकै महंगो हो ।
यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
१७ गतेदेखि सुनको भाउ निरन्तर वृद्धि भइरहेको छ। १७ साउनमा ८ सय रुपैयाँले बढेर सुन तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
साउन १९ गते फेरी तोलामा ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सय रुपैयाँ पुगेको थियो । एकै दिन १५ सय रुपैयाँले बढेर साउन २० गते सुन तोलाको ६७ हजार ८ सय कायम भएको थियो
यस्तै, मंगलबार फेरि सुन तोलामा २ सय रुपैयाँले बढेर ६८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
भारत र पाकिस्तानबीच तनाव बढेर भारतीय रुपैयाँ कमजोर भएर डलर मजबुत भएपछि सुनको भाउ महंगो भएको हो ।
अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको महासंघ अन्तर्गत मूल्य निर्धारण समितिले जनाएको छ ।
अहिले विश्वभरी नै अर्थतन्त्रमा समस्या बढेकाले सुनमा लगानीकर्ताको आकर्षण बढेको छ । सुनमा लगानीकर्ताको आकर्षण बढेसँगै भाउ महंगो भएको हो ।

