असार १६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रको पहिचान र गौरवसँग जोडिएको ध्वजाबाहकको कुशल व्यवस्थापनका साथ अन्तर्राष्ट्रिय गन्तव्य विस्तारको कार्यलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो । निगमको ६१ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई समेत सार्थक तुल्याउन नेपाल एयरलाइन्सको महत्वपूर्ण भूमिका रहने भन्दै सम्पूर्ण जहाजलाई पूर्ण क्षमताका साथ उडाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुयभो ।
“निगमलाई काम गर्न पूर्ण अधिकार छ, जहाज बढाउनुस्, गन्तव्य बढाउनुस् तर बिनायोजना जहाज थुपारेर ‘ग्राउण्डेड’ भइरहने अवस्था आउनु राम्रो होइन । म व्यवस्थापनलाई आग्रह गर्छु, निगम सुधार्ने उचित उपाय ल्याउनुस् अनि कस्तो कदम चाल्नुपर्छ त्यो सरकारले निर्णय गर्छ, ऋण तिर्नेमात्र होइन कमाउने उपायसहितको योजना र गन्तव्यको खोजी गर्नुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो । सिङ्गो मुलुकको अर्थतन्त्रलाई सकारात्मक उत्थान गर्ने उपयुक्त माध्यमको रूपमा रहेको निगमको प्रभावकारी सञ्चालन र सेवा स्तरीकरणमा गम्भीर ध्यान पु¥याउन पनि प्रधानमन्त्री ओलीले व्यवस्थापनलाई आग्रह गर्नुभयो ।

