असार १५, हुम्ला । कानून अनुसार असार १० गतेभित्र गाउँसभा गरी गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गरिसक्नु पर्ने हो । तर हुम्लाका ७ वटा गाउँपालिका मध्ये सिमीकोट, अदानचुली र नाम्खा बाहेक अन्य चारवटा गाउँपालिकाले निर्धारित समयमा बजेट पेश गर्न सकेनन ।
प्राविधिक तथा अन्य तयारी पूरा नभएपछि ती गाउँपालिकाहरुले गाउँसभामा बजेट पेश गर्न नसकेको जनाएका छन । यसरी निर्धारित समयमा आफ्नो आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गर्न नसक्नेमा ताँजाकोट, चंखेली, सर्केगार्ड र खार्पुनाथ गाउँपालिका रहेका छन । गत असार ३ गते कर्णाली नदीमा जीप खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही बेपत्ता भएपछि गाउँ कार्यपालिकाको बैठकले १३ औँ दिनको पुण्य तिथीसम्म गाउँपालिकाले कुनै बैठक तथा कार्यक्रम संचालन नगर्ने निर्णय गरेकोले गाउँसभा संचालन नभएको पालिका अध्यक्ष कर्ण रावलले बताए । उक्त गाउँपालिकाले असार २५ गतेसम्म बजेट पेश गर्ने तयारी गरेको अध्यक्ष रावलले बताए ।
अरु तीन वटा गाउँपालिकाहरुले तयारी नपुगेकाले बजेट पेश गर्न नसकिएको जनाएका छन । ताँजाकोट गाउँपालिकाले २० गते गाउँसभा गर्ने अध्यक्ष बाग्दल मल्लले बताए । गते, चंखेलीले र सर्केगार्डले असार १८ देखि २० गते भित्र गाउँसभा संचालन गरेर बजेट पेश गर्ने तयारी गरेको सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले बताए ।

