“सृष्टिका सबैभन्दा सुन्दर सिर्जना बच्चाहरू हुन् र मान्छे सबभन्दा कुरूप ।”
सुन्दर त्यो हो जुन आँखाले देख्छ । मनमा बस्छ । सम्झदैमा मात्र पनि आनन्द लाग्छ । कोमल छ । मुलायम छ । निर्दोष छ । निश्छल, निष्कपट छ । बेदाग छ । निश्चिन्त छ । स्वच्छन्द छ । न कसैको रिस । न कोहीप्रति वैरभाव । न नाफाको हिसाब न घाटाको मतलव, मैत्रीभाव छ । आफ्नोपन छ । संसार आफ्नै मुठीमा छ । परमानन्द छ । त्यसैले त ज्ञानीहरू भन्छन् हरेक बच्चामा ईश्वरको प्रतिरूप हुन्छ । मानवका बच्चाहरू,चराका बचेरा, जनावरका बच्चा (बुझाउन जुनसुकै शब्द प्रयोग गरियोस्) सबै उस्तै लाग्छन् मलाई । बालबालिकाको निर्दोष निष्कपट मुस्कानमा म संसार भेट्छु । जीवनका कठिनतम रहस्यहरू यहाँ आएर एकाएक खुल्छन् । बचेराको चिरविरमा जीवनको संगीत सुन्छु । बाहिरबाट कानसम्म आउँदैछ चिरविर चिरविर अहिले पनि । परेवाको घुर्रघुर्र झन् टड्कारो सुनिदैछ । यस्तै आवाजले आफू जीवितै रहेको बोध गराउँछ मलाई । साँझ पर्न बाँकी छ । चराहरू बचेरा सम्झेर गुँड फर्कने क्रममा छन्, उनीहरूको आफ्नो अनुशासन छ । लय छ । आफ्नो सीमा बोध गराउँदछन् , दायित्व सम्झाउँछन्, चुच्चामा चारो च्यापेर हतारिँदै गुँड फर्किँदै गरेका चराहरू ।
भेडाका पाठाहरू निर्दोषिताका अनुपम उदाहरण लाग्छन् मलाई । न कुनै गुनासो जीवनप्रति । न कुनै तीव्र महत्वाकांक्षा र छटपटी ।न हिजो संझेर विषाद्को अनुभूति । न भोलि सोचेर अनिश्चितताको भय । आमाको दुध पिएर यी आनन्द बाँच्छन् । घाँस खाएर ढुक्कले हुर्कन्छन् । न कुनै भेडा आत्महत्या गर्छ, न त अवसाद्मा जान्छ । तसर्थ संवेदनाको तीव्र अनुभूतिमा महाकवि देवकोटा भन्छन् ः( “प्रभुजी १ मलाई भेडो बनाऊ । ”
पाठाहरू चञ्चलताका बिम्ब हुन् । यिनीहरूलाई सम्झँदा मात्र मन आनन्दले प्रफुल्ल हुन्छ । जीवनमा गतिशील रहने ऊर्जा मिल्छ । सम्झन्छु सेतीका पाठाहरूसँग उफ्रिएरै विताएका बाल्यकालिन सुखद् साँझ र बिहानहरू । विर्सन्न( अभिभावकका आँखा छलेरै थुन्सेबाट अन्जुलीभरि मकैका दाना लिएर पाठालाई खुवाएका सुखद् अनुभवहरू । हिजै जस्तो लाग्छ ( खेल्दाखेल्दै मनेलाई च्यापेर सुकुलमा निदाएका निश्चिन्त निद्राहरू । उठ्दा आफूलाई एक्लै छोडी धम्का तान्दै आमाको दूध चुसिरहेको सेतीको पाठो समाउन जाँदा ठोक्किएर लागेको चोट अहिले सम्झना बनेर दुख्छ । कतिपटक त बासीभात ऊसँग बाँडेरै खाइयो । कैयाँैपटक उसले पनि त आमाको दूध बाँडेरै त खायो नि । अहो १ त्यो आत्मीयता, निर्दोषपना, त्यो निस्फिक्री उफ्राइको आनन्द, यो पल म कहाँ खोजेर पाऊँ ? कुखुराका चल्लाहरू,चराका बचेराहरू जन्मजात विजयी लाग्छन् मलाई । जन्मनु अघि नै अण्डाको खोल फुटालेर निस्कने यिनीहरु जीवन संघर्ष सिकाउँछन् । विजयका प्रतिक यी स्वतन्त्रता र आत्मनिर्भरताका प्रेरक अस्तित्व हुन् । जन्मँदै आफैँ चारो चर्न तल्लिन यिनीहरू अन्धकारलाई चिर्दै निद्रामा मस्त जगत्लाई उठाउँछन् कुखुरी काँद्वारा (जन्मिएको केही महिनापछि)। भुरुरु उडेर धुरीमा पुग्छन् । फ्याट्फ्याट् गर्दै बस्छन् स(साना भालेहरू । संसारलाई सुनाउन पाउँदा आफ्नो स्वर लाग्छ यी गर्वले फुल्छन् । बालबालिकाप्रति विशेष आकर्षण छ मलाई । अतीव लगाव, असीम प्यार,अव्यक्त स्नेह, कोमलताका प्रतिरूप यी बालबालिका आजका खुसी हुन् संसारका र भोलिको सिंगो संसार । संसारका अर्थ र अस्तित्व हुन् यिनीहरू र हुन् सृष्टिकै महान् उपहार । यी सामथ्र्य हुन् र सपना पनि । यिनीहरू को मुस्कानमा सपना रमाउँछ । यिनीहरू लाई देखेर जून सर्माएर बादलभित्र लुक्छ । ताराहरू चम्चमाउन बिर्सिन्छन् ।
कहिल्यै अनुभव गर्नुभएको छ एक बालकले तपाईँका औला समातेर हिँड्न कोशिस गरेको ? थोते गिँजा देखाएर मुसुक्क हाँसेको ? संसार जित्ने दौडमा दगुर्न अभिसप्त तपाईँलाई सायद यी सुखद् अनुभूतिको लागि समय नै नहुँदो हो । समय निकाल्नुस् । विर्सनुस् ति कदम । बस्नुस् बालकको समिप र हेर्नुस बालकको आँखामा । पूर्ण सचेतनामा । जागृत अवस्थामा । तपाईँ संसारको ताप बिर्सनुहुन्छ । पहाडको शीतलता तपाईँमा सञ्चार हुन्छ । जीवनका जटिलताहरू आफैँ सरल बन्दै जान्छन् । नसुल्झेका रहस्य अनायसै सुल्झेलान् । महान् विचार फुर्लान् । सबै दुर्भावता दुर होलान् । तपाईँ एक पूर्ण मानव बन्नुहुनेछ । जब बालक समीप बस्नुहुन्छ । संसारकै क्रुरतम अपराधी पनि बालक अघि पग्लन सक्छ । तपाईँको भाषा म नबुझ्न सक्छु । मेरो भाषा बुझ्न तपाईँलाई कठीन होला । आजसम्म तपाईँले याद नगर्नुभएको कुरा संसारका हरेक बालकको उही भाषा हुन्छ । यस्तो भाषा जुन शब्दमा बोलिन्न । लिपीमा लेखिन्न ।मात्र हृदयले बुझिन्छ । यो हो मायाको भाषा । स्नेहले भाव सञ्चार हुन्छ यहाँ । आत्मियताको साइनो हुन्छ । आफ्नोपनको आभाष । बस( यति नै काफी छ । बच्चालाई तपाईँका जातभात, देश, धर्म, रीतिरिवाज, चालचलन, संस्कार आफैँसँग राख्नुस् । बालकले विभाजन जान्दैन । जोड्छ मात्र । भोक लाग्दा खान पाए, निद आए, काख पाए, न्यानो भए पुग्यो । ऊ हर्रम मख्ख छ । आफैँ खुसीको महासागर ऊ तपाईँलाई हाँसोले धनी बनाईदिन्छ । खुसीले भरिदिन्छ । रित्तो – रित्तो तपाईँको हृदय – पूर्णताको अनुभूति गर्छ । स्वर्ग तपाईँसामु आफैँ ओर्लन्छ ।जब बच्चाले पहिलोपटक तपाईँलाई आफ्नो बोलीले सम्बोधन गर्छ ।
“मान्छेहरू ” संसारका सबैभन्दा कुरुप प्राणीहरू हुन् । आमाको दुध चुस्दै गरेको एक वर्षे फुर्के बाच्छोलाई उसकी आमाबाट जवरजस्त टुटाएर जुवामा नारी पराईलाई बेच्ने यिनै कुरुप मान्छेहरू थिए । मेरो बाल्यकालको साथी कतिवर्ष बाँझो चउर पु्mटायो होला आँत टुटायो होला आफ्नै काँध कतिपटक फुटायो बेहिसाब ( मान्छेलाई पाल्नलाई । अझै सपनामा आउँछ उस्तै खिरिलो,उस्तै मायालु, उस्तै सुन्दर । बिचरा सेतीलाई सम्झन्छु । प्रेमीका झैँ हरबखत यादमा आउँछे र कहिलेकाँही त लेख्नलाई पनि अवरोध गर्छे । उसका निर्दोष आँखाले एकोहोरो हेर्दा प्रश्नका तीरले मुटु घोचेजस्तो लाग्छ । संसारकी एक निरीह आमा ऊ हरेक वर्ष दुईपटक दुईवटाका दरले पाठा पाउँथी । तर सधैँ एक्लै हुन्थी । हरेक पटक उसको काख रित्याइन्थ्यो,साथ छुटाईन्थ्यो। आफ्नै स्वार्थकोपोखरीमा चुर्लुम्म डुबेको मान्छेलाई सेतीका बेदना र आँशुको के मोल ? कुरुप मान्छेहरू आँखै नउघ्रिएका परेवाका बचेराको घाँटी चुडाल्छन् आफ्नो मनोकांक्षा पूरा होस् भनि देवीलाई चढाउन र फेरी जोडी सेता परेवा उडाएर शान्तिको कामना गरेको ढोँग गर्छन् । आफैँ भित्र हिंसाको अन्धकार हुर्काएर कसरी शान्तिको कामना गर्न सकिन्छ ? हरेक जनावर मान्छेकै उपभोगका लागि होै मानिदिउँ रे । तर मान्छेका कर्म असिमित छन् आफ्नै स्वर्थका लागि च्याँ समेत गर्न नपाउँदैको शिशुलाई नुन चटाएर मार्छ मान्छे । गर्भमा आएको थाहा पाउनासाथ काटेर फालिदिन्छ मान्छे । चिन्ता आफ्नै भविश्यको । डर इज्जतको, भय समाजको, लोभ सम्पत्तिको , डाहा दाइजोको बहाना, अनेकानेक छन्, हुनसक्छन् । बच्चा आफैँ त गर्भमा आउँदैन । आफैँ त जन्मन्न । आफ्नै कर्मको जिम्मेवारी बोध गर्न नसक्नेहरु बच्चालाई मारेर आफू उन्मुक्त भएको बहानामा नरक बाँच्छन् । लाग्दैन तपाईँलाई अनेकानेक बहानामा यति अनुपम सिर्जनाको अन्त्य कुरुपले मात्र गर्छ ? आफ्नै कर्मको जिम्मेवारी बोध गर्न चुक्ने कायर जस्तो कुरुप के कुनै जनावर हुन्छ र ?
मान्छे बन्ने धुनमा मान्छेले आफूलाई विर्सियो अब । उसलाई दौडनु छ । सबैभन्दा टाढा पुग्नु छ । अग्लो चुली चढ्नु छ । टुँडीखेलमा घडेरी जोड्नु छ । महान गौरवशाली पार्टीको निर्विकल्प अध्यक्ष बन्नुछ । विश्वशक्ति राष्ट्रको राष्ट्रपति बन्नु छ । युगकै आध्यात्मिक चिन्तक बन्नुछ । धर्मका मसिहा बन्नु छ । ज्ञानी बन्नु छ । यस्ता झिनामसिना कुरामा आफ्नो अमूल्य जीवन किन खेर फालोस् ऊ ? त्यसैले त बेफुर्सदीमा मान्छे पागलपनको सिकार भएको छ । आफूभित्रको बच्चापनको समेत हत्या गरिसक्यो उसले अब । हरेक प्रौढ मान्छेमा बच्चाको अस्तित्व हुन्छ भन्ने कहिल्यै अनुभव नै गरेन । फुर्सदै पाएन सायद । त्यसैले ऊ प्राकृतिक छैन,अग्र्यानिक छैन ।मेशिन भैसक्यो । मेशिनको मन हुन्न । मुटु हुन्न । भावना त हुने कुरै भएन । केवल “बुद्धि” छ – मोमाइलको मेमोरी जस्तो । तर विवेक बाधक छ । रिमोटले चल्छ मान्छे र रिमोटले नै बन्द हुन्छ । मान्छे गोटी भएको छ ,गोटीले स्ट्राइकर चिन्दैन तर ठोक्किएपछि चलायमान हुन्छ । उसलाई आफू रिमोटले चल्ने समेत ज्ञान नहुन सक्छ । तर विश्वविजयी बन्नु छ । आफ्नो मुठीमा राख्नु छ संसार । नचाउनु छ विश्वलाई चुट्कीको भरमा । त्यसैले त कहिले तर्साएर राज गर्न खोज्छ ऊ कहिले झुक्याएर । तसर्थ चुनावको नाटक गर्छ । भोटको भोक मेट्नलाई पैसामा गरिबको विवेक खरीद गर्छ । बाध्यतामा विवेक बन्धकी राख्छन् कोही । विवेकको मूल्य नचिन्नेहरु तस्करहरुद्धारा सुँगुरको मासु झैँ किनिन्छन् ( बेचिन्छन् राजनीतिक बजारमा । शक्तिको भोकले टाक्सिएकाहरु चुनाव जितेपछि किर्ना जस्तै फुल्छन्, उडुस जस्तै ढाडिन्छन् तर चुस्न छाड्दैनन् निर्दोश बालकहरु रगत । न त लुट्न नै छोड्छन् उनीहरुको ओठको हाँसो ।
संसारमा करोडौँ बच्चाहरु कुपोषणको सिकार भएका छन् । रोग र भोकले आक्रान्त छन् । राजनीतिक व्यापारीहरु,धर्मका ठेकेदारहरु र “विश्वशान्तिका पुजारीहरु” अरबौँ डलर हतियार उत्पादन र खरीद बिक्रीमा खर्च गर्छन् । धर्म र राजनीतिका विभाजनको विष घोल्छन् । वैरभावको भट्टीमा बालबालिकालाई नै जिउँदै पोल्छन् । मान्छेकै मासुको भोज खान्छन्, मान्छेकै रगतमा नुहाउँछन् । श्रीलङ्का शोकमा डुब्छ । सिरिया सन्त्रासमा रुमलिन्छ । अफगानिस्तान आततायीको अंगेनामा पिल्सिन्छ । उदाहरण अनगिन्ती हुन सक्छन् । कलम समाउनुपर्ने हातहरु बालासैन्यका नाममा बन्दुक बोक्न विवश छन् । यिनै बालबालिकाका रगतले आफ्नो देशको सीमाना कोर्छन् शासकहरु । हाडहरु जम्मा गरेर आप्रवाशीका सीमानामा पर्खाल लगाउँछन् । आफू समृद्ध भएको भ्रममा बाँच्छन् । शान्तिको नाममा युद्धको व्यापार गर्छन् र आफैँ विश्वशान्तिका अभियान्ता बनी नोवेल शान्ति पुरष्कारका दाबेदार बन्छन् ।
यस्ता कुरुपताका उदाहरण यत्रतत्र सर्वत्र छन् । सोच र व्यवहारमा क्रृतिमता हुनेहरु सामन्जस्य नहुनेहरु पाखण्ड बाँच्छन् । बच्चाका नामको अनुदानमा कमीसन खान्छन् । चिथरा लगाएका चेपाङ्ग बच्चाहरु कुपोषणको सिकार हुँदा उनीहरुको खाजा खोसेर खाई अजिर्ण भएकाहरु अन्तराष्ट्रिय अस्पतालमा उपचार गराउन राज्य कोषबाट “सहायता” लिन्छन् । यिनीहरु तपार्इँ हाम्रै छिमेकमा हुन सक्छन् । सात बर्षको सन्त बहादुर सत्ताईस के.जी.को ढाकर बोकेर दिनमा सत्तरी कमाउन सक्दैन । पेट भरि अघाउन्जेल खानका लागि छिट्टै हुर्केर ठूलो भारी बोकेको सपना देख्न अभिषप्त ऊ सत्र बर्ष नपुग्दै चाउरिन थाल्छ । गर्भमा नै मारिनबाट भाग्यबस बचेकी बेगम एघार बर्ष नपुग्दै पराई घरमा पठाईन्छिन र दाईजोको लागि जिउँदै जलाईन्छिन् । कति नीलमहरु बलात्कृत भई मरणासन्न बनाईन्छन् आफ्नै ‘मदर्’ हरुबाट । दिनभर बालश्रम शोषणका बिरुद्ध तारे होटलमा सेमीनार गर्नेहरु आफ्नै घरमा कमलालाई कमलरी राख्छन् । उनैले तयार गरेको “भूजा ज्यूनार” गरी “सुकला” गर्छन् । श्रृष्टिका सबैभन्दा कुरुप सिर्जना यी ‘मान्छेहरु’ हावा,पानी,जमीन खोलानाला,सवतीर सलबलाउँछन् । लाग्छ मुखुण्डो उतारी ऐना अगाडि उभ्याएर आफैँसँग तर्सिएर तेह्र फिट भाग्दै होलान् यिनीहरु । तसर्थ कुरुप मान्छेलाई नाङ्गेझार पारौँ । बच्चाहरुलाई बच्चै रहन दिऔँ । आफूमा पनि बच्चापन नमारौँ । जीवनमा विभाजनको विष नहालौँ । चेतनाको चिराग बालौँ ।
स्वर्ग यही ओर्लन्छ ।
अस्तु ।
–सहकार्य मासिक पत्रिकाबाट साभार

