मुखको क्यान्सरबाट कसरी बच्ने ?

शरीरको कोषको असामान्य वा असीमित गतिमा वृद्धि वा विकास भएमा त्यसलाई क्यान्सर भनिन्छ । अहिलेको समयमा क्यान्सरलाई एक खतरनाक रोगका रूपमा लिने गरिएको छ ।

शरीरको बिभिन्न भागको क्यान्सरबारे जनमानसमा चेतना भए पनि मुखको क्यान्सरबारे धेरैलाई जानकारी नभएकाले धेरै मानिस ढिलो स्टेजमा मात्र उपचारका लागि आउने गरेको पाइएको छ । एक अध्ययन अनुसार नेपालमा पुरुषहरूमा हुने क्यान्सरमध्ये मुखको क्यान्सर दुई नम्बरमा पर्छ, जसमा पहिलोचाहिँ फोक्सोको क्यान्सर रहेको छ ।

यसको मुख्य कारण सुर्तीजन्य पदार्थलाई मानिन्छ । धूमपान, मद्यपान, पान, सुपारी र गुट्खाको अत्यधिक प्रयोगले मुखको क्यान्सर निम्त्याउन सक्छ । भाइरसको जटिल संक्रमणका कारण पनि यो रोग हुने गरेको छ । जस्तै– ह्युमन प्यापिलोमा भाइरस । विभिन्न प्रकारका पोषण तत्त्वको कमीले पनि यो रोगलाई मौलाउने वातावरण प्रदान गर्छ ।

बाङ्गोटिङ्गो वा तिखो दाँतले गर्दा मुखभित्र नियमित रूपमा घर्षण भई निको नहुने घाउ बनाएमा पनि क्यान्सर हुनसक्ने सम्भावना निम्त्याउन सक्छ । त्यसैगरी सूर्यबाट आउने विभिन्न विकिरणका कारणले पनि ओँठको क्यान्सर हुने गरेको पाइएको छ ।

मुखको कुनै भागमा विभिन्न प्रकारका रातो, सेतो वा मिश्रित दाग देखिएमा (जसलाई पोटेनसिअल्ली मलिगनान्ट लिसन्स पनि भनिन्छ), कुनै प्रकारको अल्सर वा घाउ तीन हप्ताभन्दा बढी समयसम्म निको नभएमा, मुखको कुनै भागमा मासु पलाएमा जसको आकार विस्तारै बढ्दै गएमा, दाँतहरू विना कारण हल्लिँदै गएमा, दाँत निकालेको ठाउँमा एक्कासी मासु पलाएमा र घाँटीमा गिर्खा देखिएमा मुखको क्यान्सरका लक्षणहरू हुन सक्छन् । मुखमा देखिएको घाउ क्यान्सर नै हो कि होइन भनेर किटानीसाथ भन्नका लागिचाहिँ बायोप्सी आर्थत मासु जाँच गर्नुपर्छ ।

नियमित रूपमा आफैले आफ्नो मुखको परीक्षण गर्ने हो भने यस रोगलाई सुरुकै स्टेजमा पत्ता लगाउन सकिन्छ । यसका लागि मुखलाई ८ भागमा विभाजित गरिएको छ । अगाडिको भागको गिँजा, पछाडिको भागको गिँजा, माथिको ओँठको भित्री भाग, तलको ओँठको भित्री भाग, गालाको भित्री भाग, जिब्रोको माथि, तल र छेउछाउको भाग र तालु । जाँच पूरा गर्नका लागि चम्किलो बत्ती लिएर ऐनाको अगाडि उभिएर माथि उल्लेखित सबै भागमा राम्रोसँंग जाँच गर्नुपर्छ ।

यदि कुनै भागमा शंकास्पद घाउ देखिएमा तत्काल दन्त चिकित्सकको सल्लाह लिनुपर्छ । शरीरको अरू भागको क्यान्सरजस्तै मुखको क्यान्सरका लागि पनि शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापी जस्ता उपचार गर्न सकिन्छ । मुखको क्यान्सरको रोकथामका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सुर्तीजन्य पदार्थबाट टाढै रहनु हो ।

मुखमा कुनै प्रकारका दाग, घाउ वा माथि उल्लेखित कुनै पनि लक्षण देखिएमा तुरुन्तै चिकित्सककोमा देखाउन जानुपर्छ । समयमै उपचार गरे क्यान्सर निको हुन्छ र यसबाट हुने विकृति र अरू समस्यालाई पनि कम गर्न सकिन्छ भने स्तरीय आयु लम्ब्याउन सकिन्छ ।

डा. पौडेल धुलिखेल अस्पताल, ओरल प्याथोलोजी विभागकी उपप्राध्यापक हुन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.