‘आमाको महत्व’– रमेश शुभेच्छु

दशकअघि कुनै मातातीर्थमा यस्तो कविता फुर्यो । पछि पढ्दा चित्त पनि बुझ्यो । कतिपय विषय पुराना हुँदैनन् । कतिपय पात्रको प्रभाव दीर्घकालीन हुन्छ । आजको लेख त्यसै कविताको विषयबाट अगाडि बढ्दै छ । मान्छे जन्मिने बित्तिकै बोल्न सक्तैन रुन्छ । उसले बोल्न जानेको भए उसको मुखबाट पहिलो शब्द निस्कन्थ्यो होला ः आमा । आमालाई सम्झिँदा मात्रै पनि जोकोहीको शिर निहुरिन्छ । उनै ममतामयी आमाको कोखको आदरस्वरूप ‘आमाको मुख हेर्ने दिन’ हाम्रो समाजमा पर्वका रूपमा प्रचलित छ । यसलाई मातातीर्थ औँसी पनि भनिन्छ ।

आमाको मुख हेर्ने दिन । कति राम्रो नाम । हामी त्यसै पर्व र संस्कृतिले सम्पन्न छैनौँ । यस दिनलाई मदर्स डे भन्नु ढोंग मात्र हो । स्कुलहरुले बच्चालाई ‘मदर्स डे’ भनेर सिकाउनु गलत हो । नेपाली सर्वसाधारणका लागि आमाको मुख हेर्ने दिनकै रुपमा यसको अस्तित्व रहनुपर्छ । केही पढालेखाका लागि ‘मातातीर्थ औँसी’ पनि पाच्य नै छ । यस दिनले हाम्रो संस्कृतिको मौलिक सामथ्र्य झल्काउँछ । यस्ता दिनले आमाको महत्व उजागर गर्छन् । यस्ता पर्वहरू छन् र नै हामी पारिवारिक विचलनबाट आजसम्म बचिरहेका छौँ । अभिभावक र सन्ततिको अटुट सम्बन्धवीच बाँचिरहेका छौँ । हामी सबै आमालाई महान् मान्छौँ । आदर गर्छौँ । गोडामा ढोग्छौँ । आमाहरू पनि सन्तानलाई माया गर्छन् । तर आमाहरू नै वेनाम बाँच्छन् । वेनाम बचाई कानुनी हैसियतमा मात्र हुँदैन । पारिवारिक हैसियत र काममा पनि निहित हुन्छन् ।  शूक्ष्म दृष्टिले हेर्यो भने हाम्रो समाजका आमा घरायसी मजदुर भएर बाँचेका देखिन्छन् । हामी आमालाई आदर गर्छौ भन्छौँ ।

आमा महान् छिन् भन्छौँ । तिनै आमालाई खाएको थाल मझाएर आफू काममा निस्किन्छौँ । एकल आमाहरूका भावना बुझ्दैनौँ । दुखसुख, तातोचिसोको ख्याल गर्दैनौँ । उनलाई नातिनातिना हुर्काइदिने धाईआमा बनाउँछौँ । आफ्ना र आफ्ना सन्तानका पनि भाँडा मझाइरहेका हुन्छौँ । कपडा धुवाइराखेका हुन्छौँ । जागिरे हुनुको अहङ्कारले आमाको महानता कुल्चिइरहेका हुन्छौँ । आमाको मौलिक अस्तित्त्व नै सिध्याउँछौँ । यी विसङ्गतिबाट बचाउने बलियो संस्कृति हो मातातीर्थ औँसी मान्ने संस्कृति ।  हामी अज्ञान वा अहङ्कारवस आमालाई पालेको गफ गर्न सक्छौँ । के आमा पालिने वस्तु हुन् र ? आमाले गरेजति नै त्याग कति वर्ष आमाको सेवा गर्दा सन्तानका तर्फबाट होला ? आमाको दूत चुसाएको भारा कति बोतल जुसले तिर्ला ? आमाले सोहोरेको दिसापिसावको भारा कति कपडा धोइदिँदा र सरसफाइ गरिदिँदा तिरिएला ? आमाले भोकै बसेर खुवाएको खाना खाजा र अरु खाद्यको भारा कतिकुरा खुवायो भने तिरिएला ? प्रश्न निकै पेचिला छन् । यी प्रश्नको जवाफका लागि पनि आमाको मुख हेर्ने दिन जस्ता पर्व आवश्यक छन् ।

जब जब आमाको मुख हेर्ने दिन आउँछ, तबतब मिडियामा थरिथरि समाचार आउँछन् । समाचारदाताहरु आमा भेटेका खुसीका तस्वीरदेखि वेवारिसे आमा र वृद्धाश्रमका आमाका समाचार पनि बाहिर ल्याउँछन् । त्यसमध्ये यसपटक एउटा समाचार आयो देवघाटको आश्रममा बस्ने एक सय तीन वर्षीया उमादेवी खनालको । उनी काठमाडौँमा मजदुरी गर्थिन् । उमेर क्रमले काम गर्न नसकेपछि आश्रममा आश्रित भइन् । उनको सात वर्षको उमेरमा विवाह भएको थियो । विवाह भएको पहिलो वर्षमा नै श्रीमान् बितेसँगै सुरु भएको सङ्घर्षको पर्याय बनेको जीवन आश्रममा पाइयो । यी आमा आश्रममा पुग्नु स्वभाविकै होला । त्यही आश्रममा छोराबुहारीले घरबाट निकालेका आमा भेटिए । छोरी जुवाइँले लखेटेका आमा भेटिए । छोराबुहारी विदेश भासिएपछि वेवारिसे बनेका आमा पशुपतिका आश्रममा भेटिए । छोराबुहारीले आमालाई पनि विदेश लैजान्छु भनेर घर बेचेर एयरपोर्टमा आएर आमालाई छोडेर आफू मात्र उडेका कथाव्यथा पनि आए । अरु आश्रमबाट पनि थरिथरिका पेचिला समाचार आए । यस्ता पक्षको सन्तुलनका लागि पनि आमाको मुख हेर्ने जस्ता पर्वहरू मानिन आवश्यक छ ।  यहाँ साक्ष्य राखिए जस्ता समाचार ‘बाबुको मुख हेर्ने दिन’ पर्वका अवसरमा पनि आउँछन् । आमाको मुख हेर्ने दिनका अवसरमा पनि आउँछन् । दाजुभाइ बाबुको लास जल्दा जल्दै अंशका विषयमा कुटाकुट खेलेका घटना पनि समाचार बन्छन् । यही हप्ता पनि यस्ता समाचार नसुनिएका होइनन् । हाम्रो समाज विस्तारै अभिभावकप्रति कृतध्न बन्दै आएको छ । अभिभावकलाई उमेर हुन्जेल दोहन गरेर बाँच्ने प्रयत्नमा लागिरहेको छ । अभिभावकलाई एटिएम कार्ड ठानिरहेको छ । दिनदिनै सन्तान हुर्काउने रोबोर्ट सम्झिइरहेको छ । आफ्ना सन्तान पनि अभिभावकलाई हुर्काउन लगाएर आफू गैरजिम्मेवार बनिरहेछन् । यसका अनेक कारण हुन सक्छन् । ती कारण खोजी गर्नु नेपाली संस्कृतिका लागि फाइदाजनक हुने छ । समाजले नखोजे यस्ता पर्वहरुले खोजिदिन्छन् ।

अलि पेचपर्दो दृश्य पनि यसपटकको मातातीर्थले देखायो । यहाँ आमालाई पाल्न सक्तिन भनेर दाजुभाइ वा दिदीबहिनीकामा पुर्याउने, अझ आश्रममा पुर्याउने, माइती मावलीकामा घरेलु मजदुर बनाएर छोड्ने, अरुका घरमा भान्से बनाएर राख्ने सन्तानले अघिल्ला दिन साँझैबाट आमाको फोटो फेसबुकमा टाँसे ।  त्यहाँ आमालाई शुभकामना त दिए, माया त दर्शाए तर यथार्थमा माया गरेको नाटक मञ्चन गरे । आमालाई एउटा स्याऊ, एउटा लड्डु नकिनिदिने, एउटा धरो नहालिदिने हामीले चिनेकाहरूले झन् ठूला ठूला विज्ञापन गरे ।  हामीसँग भेट्ता त्यही सन्तानसँग बस्न नसकेर छोरीज्वाइँका शरणमा पुगेका आमाका छोराहरुले हामासँग बसेर आमाकै खर्चमा जमानामा बसेर मुस्कुराएका फोटा प्रदर्शन गरे । अझ पेच पर्ने कुरा त कतिपयले कुनै दोस्री तेस्री नारीको फोटो राखेर ह्यापी मदर्स डे को नाटक पनि मञ्चन गरे । आफ्नी आमाबाहेक अरू कसैलाई सोझै आमाको उपाधि, त्यो पनि मातातीर्थ औँसीका दिन कतिसम्म सुहाउने कुरा हो ? तिनकै आमा मरेकी भए आत्माले र बाँचेकी भए आँखाले के देख्यो होला ? यी पक्षलाई सन्तुलन गर्न पनि आमाको मुख हेर्ने जस्ता पर्व हामीले निरन्तर मनाइरहनुपर्छ ।  परम्परालाई हेर्दा चाणक्यनीतिले जन्मदाता, कर्मदाता, राजा, गुरु र जागिरदातालाई पिता मानेको छ । त्यसबेला नारीलाई समाजमा कम महत्त्व दिइने भएर होला ? माताबारे तिनै चाणक्य पनि यसरी व्याख्या गर्दैन् । उनको उदाहरण टिपिएको नीतिलाई विपठन गर्दा आमा, सासूआमा, गुरुआमा, हाकिमआमा (मालिकनी) र जनप्रतिनिधि महिलासम्म यसको विस्तार हुने भयो । नेपालका सन्दर्भमा राष्ट्रपति पनि एक माता भइन् । प्रायन गर उपप्रमुख नारीहरू छन् उनीहरू पनि माता भए । तर हामीले यी पक्षलाई कति पहत्वसाथ हेरेका छौँ ? ती नारीहरू चाणक्य चिन्तनअनुसार कति आमा बनेका छन् । हामी कति सचेत भएर आमा र आमासमूहलाई आदर गर्न सकेका छौँ ? यी प्रश्नलाई पनि यस पर्वले खोजी गरेको छ ।

सबैका जीवनमा आमा महान् नहोलान् । हाम्रै छिमेकमा एक आमाले नयाँ विवाहबाट पाएको बच्चो सम्झन्छु । उसलाई २६ दिनको कलिलो उमेरमा नयाँ पतिका घरमा छोडेर पुरानै घरजममा फिरेको घटना सम्झन्छु । त्यस बालकले पाएका दुःख सम्झन्छु । ती आमा र मेरीआमालाई सम्झन्छु । आज पनि मेरा आँखामा तयो घटना पर्दा भएर लागिरहन्छ । सबैका आमासँग आमा महान् भन्ने सन्दर्भ नमिल्लान्? र छन् । आमा जन्माएर बच्चा फाल्ने पनि होलान् ? र छन् । आमा अरुको बच्चा टिपेर हुर्काउने पनि होलान् ? र छन् । सम्पन्न परिवारभित्र बच्चा जन्मनासाथ आफ्नो दूध सुकाएर धाईलाई जिम्मा दिने पनि होलान् ? र छन् । तर यी अपवाद मात्र हुन् । यथार्थमा आमा हामी सबैले बुझेकी साझा त्याग र समर्पणकी प्रतिमूर्ति हुन् । आफ्नो भोक तिर्खा बिर्सिएर सन्तानको तृप्ति र खुसीमा बाँच्ने महान् पात्र हुन् । त्यागै त्यागकी प्रतिमूर्ति हुन् ।  अहिलेको सामाजिक सञ्जालमा केही फरक दृश्य पनि देखिए । आफ्नी आमासँगै सासुआमाको समेत फोटो राखेर आमाको मुख हेर्ने दिनको शुभकाना दिनेहरू थिए त्यस लहरमा ।    यसलाई भनूँ चाणक्यले भनेअनुरुप  कर्म दिने आमालाई सम्मान गर्ने पनि देखिए । यस्तो सम्मान गर्नेमा बुहारीहरू भन्दा ज्वाइहरू अगाडि देखिए । यसको समाजशास्त्रीय अध्ययन हुन सक्ला ?  र हुन्छ पनि । सासुबुहारी एउटै घरमा हुँदा हाम्रो जस्तो निम्न वित्तीय हैसियतको परिवार व्यवस्थामा ठाकठुक होला ? र हुन्छ पनि ।  ज्वाइँलाई कहिलेकाहीँ भेटेकी सासू प्रिय र आदरणीय लाग्लिन् । अथवा हाम्रो समाजमा अझै सासूबाट बुहारी प्रताडित हुने परम्परा जीवितै होला ? या बुहारीबाट सासू पीडित हुनुपर्ने अवस्था विकास भइसक्यो ?  यी खोजीका विषय हुन् । चाणक्यनीतिका अर्थमा पनि सासूआमाको आदर गर्नु गलत देखिएन । उनको पनि त्याग छ । यसलाई व्यङ्ग्यका रूपमा भन्दा सकारात्मक सोचकै रूपमा लिऊँ । चाणक्यकै दृष्टिले हेर्दा गुरुआमालाई चाहिँ आमाको प्रतिरूप मानेर तस्बिर टाँसेको काहीँ कतै देखिएन । यसको अर्थ आजको समाजमा गुरुआमाहरु हिजोका गुरु–गुरुआमा जस्ता त्यागी छैनन् । ट्युसन टिचर बनेर अस्तित्वविहीन बन्दै छन् । चर्को फिस असुलेर पढाउने मान्छे बन्दै छन् । गुरुआमा आमाका उचाइमा नदेखिनु यस्तै कुनै यथार्थको उद्घाटन हुन सक्छ । यस्ता सामाजिक सम्बन्धका अन्तर केलाउन पनि आमाको मुख हेर्ने पर्व राम्रो पर्व हो ।

आज आमा मात्र होइन, अभिभावक र गुरुवर्गको मूल्य क्षय हुनुमा अनेक कारण देखिन्छन् । नेपाली शिक्षा परम्परामा नैतिक शिक्षा हट्नु, संस्कृत शिक्षा हट्नु, कतिपय विदेशी पाठ्यपुस्तकलाई नै नेपालका विद्यालय र विश्वविद्यालयले पाठ्यपुस्तक बनाउनु इत्यादि कारण हुन सक्छन् । शिक्षाको मूल्य ह्रास, मानवीकी, र शिक्षा जस्ता विषयप्रतिको रुचि घट्दो क्रममा रहनु आदि पनि हुन सक्छ । शिक्षा पैसामुखी कार्डका रूपमा चिनिनु आदि पनि हुन सक्छन । त्योभन्दा बढी हामीले विश्वका कुनै पनि मुलुकले सयवर्षमा पाएको सञ्चार सुविधा दशककैबिचमा पाएर अलमलिएका हुन सक्छौँ । त्यसको सदुपयोग गर्न नजानेर लथालिङ्ग बनिरहेका हुन सक्छौँ । हाम्रो सञ्चार माध्यममा विकसित विशेषतः सामाजिक सञ्जालको संसारले हामीलाई फिल्मी संसारमा पुर्याएको छ । त्यहाँ एउटा परिवार एकपटक घुम्न जाँदा खिचेको फोटो मिलाई मिलाई पाँच वर्ष हाल्न भ्याउँछ । अरूका विवाह, व्रतबन्धमा उपस्थित हुँदैपिच्छेका पोसाक फेरेका फोटा हाल्छ । अरुकै गाडीका छेउमा उभिएको भए पनि फोटो हाल्छ । घर, गाडी, मोटरसाइकल, भव्य फर्निचर आदि विलासिताका वस्तुको प्रदर्शन गर्छ । छोराछोरीलाई खुसी राखेको देखाउँछ । त्यस घटनाले हरेक युवा मन गाउँको जमिन वेचेर सहरमा घर किन्ने सपना बुन्छ । गाउँको गाईभैँसी बेचेर बाइक किन्ने सपना बनाउँछ । एउटा खायल बेचेर विदेश उड्ने सपना सजाउँछ । जग्गा बेचेर डेरामा फर्निचर हाल्ने योजना गर्छ । त्यस योजनामा बाबुआमाको सहमती सम्भव छैन । यस्ता सपनाले पारिवारिक जीवनमा ठूलाठूला दरार ल्याइराखेका छन् । यस दरारले पनि मातातीर्थ, पितातीर्थ जस्ता पर्वहरु कमजोर बनेका छन् । यी पर्वले सिकाए भन्दा फरक संस्कृति विकास भइराखेको हुन सक्छ ।

त्यसो तः मातातीर्थ र पितातीर्थ मात्र सङ्कटमा छैनन् । समय क्रममा हाम्रो समाजले तिहार र तिजको संस्कृति पनि मेटाउने छ । जब दाजुबहिनी वा दिदीभाइ बाबुआमाको सम्पत्ति पाउन दाजुभाइ जसरी नै झगडा र मुद्दा मामिलामा लाग्छन्, तब तिहार तिज आदिमा भेटिने दाजुभाइ दिदीबहिनीको मूल्य स्वात्तै घट्ने छ । त्यसबेला बाबुआमा अझै अलपत्र पर्ने छन् । आज धेरै छोरा हुने बाबुआमा छोराबुहारी चाख्दै घर सरे जस्तो त्यसबेला छोरीज्वाइँ र छोराबुहारी चाख्दै हिँड्ने बाबुआमा दोहोरो मारमा पर्ने छन् । त्यसबेला वृद्धाश्रमको सङ्ख्या निजीतवरले मात्र बनाएर पुग्ने छैन । स्कुल जसरी नै राज्यले नै वृद्धाश्रमका लागि बजेट छुट्याएरै थप्नुपर्ने छ । हामी कामना गरुँ त्यसो नहोस् । आमाबा छोराबुहारीसँगै बस्न पाउन् । छोरीज्वाइँसँगै बस्न पाउन् । आफ्नै घरमा बस्न पाउन् । नातिनातिनासँगै खेलेर हाँसेर जीवन बिताउन् ।

नेपाली समाज संक्रमणशील छ । सानासाना अधिकार, सानासाना सुविधा, सानासाना स्वतन्त्रता र नयाँ कानुनी व्यवस्थाले जडसूत्रवादी समाज परिवर्तन हुन सकेको छैन । परिवर्तन स्वीकारिनसकेको समाजमा आउने यस्ता समस्या हतपत समाधान हुँदैनन् । तर जुन व्यवस्था र कानुन आए पनि बाबुआमा निकम्मा ठानिनु र उनीहरूसँग बस्नुलाई बोझ ठानिनु हुँदैन । उनीहरूका अगाडि ठूला ठूला कुरा गर्नुको पनि अर्थ छैन । उनीहरू त हामी बोल्न नसक्ने हुँदै हाम्रा कुरा बुझ्थे । त्यसमा पनि आमाले कति बुझ्थिन् बुझ्थिन् । उनले जति हाम्राबारे कसले बुझ्यो र ? उनले जति हाम्राबारे कसले चिन्ता लियो र ? उनले जति हामीमाथि कसले समर्पण भाव राख्यो र ? उनले जति हामीलाई कसले खुवायो प्यायो र ? उनले जति तातोचिसो सञ्चो विसञ्चोबारे कसले हेर्यो र ? तर हामीले उनका बारे कति सोच्यौँ ? प्रश्न यो मात्र हो । हामी ताते हिँडेकामा खुसी हुने आमालाई गाडी र जहाज चढेर हामीले कति खुसी दिन सक्यौ ? हाम्रो बोली फुटेकामा गर्व गर्ने आमालाई कति गौरवान्वित बनाउन सक्यौ ? हाम्रा हरेक उन्नतिमा रमाउने आमालाई कति रमाइलो पार्न सक्यौँ ? प्रश्न यी मात्र हुन् । हाम्रा नागरिकता, विद्यालय र विश्वविद्यालयका प्रमाणपत्रमा नाम नरहेर पनि हाम्रो प्रगतिको कामना गर्ने आमालाई मन र मस्तिष्कमा कति राख्न सक्यौँ ? यी प्रश्नको जवाफ खोज्न पनि वर्ष दिनमा एक पटक आउने आमाको मुख हेर्ने पर्वले सघाएकै छ । यस पर्वमा जातीय र क्षेत्रीय रङ पनि छैन । हिन्दू परम्पराको पर्व भए पनि धार्मिक सीमा रेखा पनि देखिँदैन । आमाको मुख हेर्ने पर्व नेपाली मौलिक पर्व र अरुलाई सिकाउने पर्व बन्न सक्छ । हामी यसलाई भव्य बनाउन र अरुलाई सिकाउन सक्छौँ । यसको नाममा आगन्तुक नामको सिको गर्नुचाहिँ आफ्नै खुट्टामा बञ्चरो हुन सक्छ । –सहकार्य मासिक पत्रिकाबाट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.