एसओएस स्कुलले कक्षा नौका विद्यार्थीलाई शैक्षिक भ्रमण लैजाने परम्परा छ । यस वर्ष आफूलाई निकै चासो बढेको थियो । हाम्रो भ्रमण पोखरा,लुम्बिनी, सौराहा लैजाने निधो भएछ । यो खबर सुन्नासाथ म ज्यादै खुसी भएँ । म मात्र होइन मेरा साथी पनि उत्तिकै उत्साहित थिए । हामीले यात्राका लागि चहिने सामग्री तयार गरेर दिन पर्खेर बस्यौँ ।
दसैँ र तिहारको बिदा लगत्तै कार्तिक २५ गते बिहान ६ बजे शैक्षिक भ्रमणको हाम्रो यात्रा सुरु भयो । यात्रामा हामी ४१ विद्यार्थी थियौँ । हाम्रो साथमा भुवना प्रधानाङ म्याम हुनुहुन्थ्यो । पहिलोपल्ट यति टाढा यात्रामा जान पाउँदा खुसी लागेको थियो । कस्तो होला त नयाँ ठाउँ भन्ने खुलदुली बढेको बढ्यौ थियो । काभ्रेबाट साँगा हुँदै काठमाडौँ पुग्यौँ । त्यहाँबाट सीता श्रेष्ठ म्याम र विष्णु सुवेदी सर यात्रामा सहभागी हुनुभयो । यात्राका क्रममा गाडीमा हामीले गाउँदै, नाच्दै र रमाउँदै अघि बढ्यौँ । जाडो केही मात्रामा भएकाले बाक्ला लुगा लगाएका थियौँ । झोलामा पनि टन्न कपडा र खानेकुरा बोकेका थियौँ ।
कलंकी , थानकोट हुँदै हाम्रो यात्रा तय भयो । गल्सीमा गएर हामीले नास्ता खायौँ । फोटो खिच्यौँ र रमाउँदै हिँड्यौँ । मुग्लीन पुगेर खाना खाएर हामी गोर्खा पुग्यौँ । गोर्खामा हामीले त्यहाँको सङ्ग्राहालयको अवलोकन गर्ने मौका पायौँ । दरबार पुग्न उकालो चढ्नु परेपनि त्यसको कुनै मतलव भएन । ऐतिहासिक चिजबिजको अवलोक गर्ने अवसर प्राप्त भयो । विशेष गरेर पुर्खाले प्रयोग भएका खुकुरी, भालाहरू देख्दा खुसी लाग्यो । त्यसपछि हामी गोर्खा दरबार गयौँ ।

हामी निरन्तर यात्रामा रमाइरहेका थियौँ । गोर्खापछि हाम्रो यात्रा पोखरातिर तय भयो । पोखरामा पुगेर त्यहाँको प्राकृतिक दृश्य हेर्दै त्यहीँ बास बस्यौँ । भोलिपल्ट सबेरै उठेर हामी साराङ्कोट गयौँ । त्यहाँ झमझमी पानी परेका कारण सूर्य देखिएन । तै पनि फोटो खिचेर फर्कन लाग्दा बल्लतल्ल घाम झुल्कियो । सूर्योदयको अवलोक गर्ने मौका पायौँ । माछापुछ«ेको चिसोमा हामी औधी रमायौँ ।
पोखरामा हामीले फेवातालमा गएर ढुङ्गा चढ्यौँ । मन्दिरको दर्शन ग¥यौँ । विशेष गरेर पोखराका चमेरेगुफा, महेन्द्र गुफा, डेबिटफल्स, पताले गुफा र पोखर बजारको अवलोकन गर्ने मौका पायौँ । त्यहाँका नदी, खोच र डाँडाकाडा देखेर हामी दङ्ग भयौँ । साथी साथी भएर पहिलोपल्ट बाहिर घुम्न जाँदा ज्यादै रमाइलो लाग्यो । अधिकांश रात हामीले गफ गरेर बस्यौँ । मन परेको खानेकुरा खाँदै, नाच्दै, हाँस्दै बस्यौँ । अर्कोदिन हामी पाल्पातिर आयौँ । बाटाका अनेक कुरा देखेर निकै रमाएका थियौँ । खाना र बस्नाका साथै अन्य समयमा गुरूहरूले ममीबाबाले जस्तै रेखदेख गर्नुभयो । पाल्पामा ठूलो करुवा ,पाल्पा दरबार भएको ठाउँमा रमाइलो लाग्यो । त्यहाँ हामीले किनमेल गर्ने मौका पायौँ ।

भोलिपल्ट हामी लुम्बिनी गयौँ । त्यहाँ मायादेवीको मन्दिर, अशोेका स्तम्भ, विभिन्न गुम्बाहरू हेर्ने मौका पायौँ । थुप्रै तस्वीर खिच्यौँ । हामीले त्यहाँ पनि थुप्रै नयाँ नयाँ कुरा देख्न र नेपालको इतिहासका बारेमा जान्ने मौका पायौँ । फर्कदा बाटामा हामी शाश्वत धाम गायौँ । मन्दिरको दर्शन गरेर सामूहिक फोटो खिच्यौँ । त्यसपछि हाम्रो शैक्षिक भ्रमण छोटिदै गयो । त्यसदिन हामी सौराहा आयौँ । सौराहामा आएर बास बस्यौँ । त्यहाँ हामीले थारु नित्य र थारु संस्कृतिका बारेमा बुझ्ने मौका पायौँ । भोलिपल्ट बिहान हामी हात्ती चढ्यौँ । त्यहाँका अनेक दृश्यको अवलोकन गर्न थाल्यौँ । त्यहाँ हामीले थुप्रै जङ्गली जनवार देख्यौँ । हाम्रो यात्रा सकियो । हामी फेरि काठमाडौँतिर मोडियौँ । आफ्ना मिल्ने साथीसँग हाँस्दै, रमाउँदै र नाच्दै गाडीमा बस्यौँ । यसरी हाम्रो शैक्षिक भ्रमण निकै विशेष लाग्यो । परिवारसँग गएको भन्दा आनन्ददायी र रोचक लाग्यो ।
श्रेयान्सराज गिरि
कक्षाः ९
एसओएस हर्मन माइनर विद्यालय काभ्रे

